पोखरा विश्वविद्यालयमा १ हजार २ सय ९९ का लागि छात्रवृत्ति

पाेखरा | साउन १०, २०८१

पोखरा विश्वविद्यालयमा १ हजार २ सय ९९ का लागि छात्रवृत्ति

पोखरा:     पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको दरखास्त आह्वान गरेको छ ।

    
अनलाइन विधिबाट दरखास्त दिन सक्नेगरी विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न सङ्कायमा छात्रवृत्ति आव्हान गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुुभयो । 

    
विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत सञ्चालित बिई कम्प्युटर, बिई आर्किटेक्चर, बिई सिभिल, बिई सिभिल (रुरल), बिई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बिई सफ्टवेयर, बिई आइटी र बिई सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भाइरोन्मेन्ट कार्यक्रममा चार सय ९० कोटाका लागि दरखास्त आह्वान गरेको छ ।

    
व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित बिबिए, बिबिए (फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा सात सय ७० कोटा तथा मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित बिडेभ्स, बिइसिएस र बिएएलएलबी कार्यक्रममा ३९ कोटाका लागि दरखास्त आह्वान गरेको ढकालले जानकारी दिनुभयो ।

    
विश्वविद्यालयले हालै विभिन्न महाविद्यालयमा कार्यक्रम र ‘सेक्सन’ थप गरेकाले उल्लिखित छात्रवृत्ति कोटा अझै बढ्न सक्ने जनाएको छ । विश्वविद्यालयले आङ्गिक महाविद्यालयमा कूल विद्यार्थी भर्ना कोटाको २० प्रतिशत र सम्बन्धन प्राप्त महाविद्यालयहरूमा कूल विद्यार्थी भर्ना कोटाको १० प्रतिशतका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । 

    
पोखरा विश्वविद्यालय छात्रवृत्ति नियमावली–२०६५ अनुसार विश्वविद्यालयले स्थानीय छात्रवृत्ति र पोखरा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी सन्तति छात्रवृत्तिको कोटाबाहेक ६० प्रतिशत कोटा खुला र ४० प्रतिशत कोटा अपाङ्ग, सहिद तथा जनआन्दोलन घाइते पीडित, दुर्गम, दलित, जनजाति र मधेसी समुदायलाई सुरक्षित गरेको छ । जसमध्ये खुला र आरक्षित दुवै प्रकारका छात्रवृत्ति कोटामा महिलाहरूका लागि ५०र५० प्रतिशत कोटा सुरक्षित रहने व्यवस्था मिलाइएको छ ।

    
विश्वविद्यालयले उपलब्ध गराउने निःशुल्क छात्रवृत्ति कोटामा नियमानुसार सामुदायिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि १० सम्म अध्ययन गरी एसइई वा एसएलसी उत्तीर्ण गरेका र छात्रवृत्ति छनौट प्रवेश परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूलाई तेस्रो चरणको छात्रवृत्ति वितरण गरिसकेपछि पनि कोटा रिक्त रहन गएमा योग्यताक्रमका आधारमा छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । 

    
छात्रवृत्तिका लागि यही साउन ३० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने व्यवस्था मिलाइएको ढकालले जानकारी दिनुुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्