भाग्यमानी अल्लो: जसले बोक्यो स्थानीयदेखि केन्द्रसम्मको बजेट

अल्लोको प्रशोधन कसरी गरिन्छ ?

पाेखरा | असार १३, २०८१

भाग्यमानी अल्लो: जसले बोक्यो स्थानीयदेखि केन्द्रसम्मको बजेट

पोखरा:   स्वदेशी उत्पादनलाई बढावा दिन नेपाल सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याउला ? धेरै कृषकको मनमा उब्जेको प्रश्न थियो ।

 

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि केन्द्र सरकारले कृषिलाई पनि प्राथमकितामा राखेर बजेट नै ल्यायो ।  

 

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले गत जेठ १ गते अल्लोको झोलामा बजेट ल्याए । विदेशबाट भित्राइएको ‘ब्रिफकेस’ छाडेर अर्थमन्त्री पुनले स्थानीय स्तरमै पाइने अल्लो र ढाकाको झोलामा बजेट बोकेर संसद भवनमा झुल्किए । 

 

त्यसपछि कृषकका प्रश्नको केही जवाफ त्यही भाग्यमानी अल्लोको झोलाले दियो, जसले सिंगो देशको बजेट बोकेको थियो । 

 

तिनै अर्थमन्त्री पुनले गरेको कामको सिको गर्दै कोशी प्रदेश मात्रै अल्लोको झोलामा गत १ गते बजेट ल्यायो । तर अन्य ६ वटा प्रदेशले भने उही पुरानै ढर्राबाट ‘ब्रिफकेस’मा बजेट ल्याएर सार्वजनिक गरे ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको ( राजस्व र व्यय बजेट) अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । 

 

असार १० गते नीति तथा कार्यक्रमसँगै बजेट ल्याउने समयमा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ गाउँपालिकाकामध्ये बागलुङ, म्याग्दी र कास्कीका केही गाउँपालिकाले स्थानीय स्रोतबाट नै उत्पादन भएको अल्लो र ढाकाको झोलाबाट नै बजेट ल्याए । यद्यपी अधिकांश पालिकाले उही पुरानै ‘ब्रिफकेस’मा बजेट ल्याए । 

 

स्थानीय उत्पादनको प्रवर्द्धन् गर्न अल्लोको झोलामा बजेट: उपाध्यक्ष रोका 

 

बागलुङको ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले स्थानीय उत्पादनको प्रचारसँगै प्रवर्द्धन् गर्न अल्लो र ढाकाको झोलामा बजेट ल्याएको बताए । 

 

‘हामीले अल्लोको झोलामा बजेट ल्याउँदै केन्द्र सरकारकोे सिको गरेजस्तो देखिएको होला, उपाध्यक्ष रोकाले भने, ‘स्थानीय तहले गाउँपालिका भित्र उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रचार–प्रसारसँगै बजारीकरणमा प्रवर्द्धन् गर्न अल्लोको झोलामा बजेट ल्याएको हो ।’

 

गाउँपालिकाले बजेट ल्याउने बेलामा अल्लाको झोला देखाउन मात्र नभएर यसको प्रचार र बजारीकरणको लागि अवसर पनि हो भन्ने उद्धेश्य लिएको उपाध्यक्ष रोकाले बताए । 

 

उनले गाउँपालिका भित्र रहेका अल्लोको सदुपयोग गर्दै झोला मात्र नभएर अब अल्लोबाट बन्ने सामग्रीको तालिम गाउँपालिकाले सञ्चालन गर्ने लक्ष्य रहेको सुनाए । 

 

‘स्थानीय स्रोत र साधनको सदुयोग गर्दै स्थानीयहरुलाई लघुउद्यमसँग जोडेर आय आर्जनमा जोड्ने प्रयास हो, उनले भने, ‘गाउँपालिका भित्र रहेका अल्लोको प्रशोधन गरेर उद्यमीसँग जोड्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्छ ।’

 

तालिमपछि जन्मियो उद्यमी समूह

 

प्रदेश र स्थानीय तहको सहयोगमा हस्तकलासम्बन्धि तालिम लिएका बागलुङको ताराखोला गाउँपालिकाका ९ जना महिला अहिले घरेलु उद्यमसँग जोडिएका छन् ।

 

दुइवर्ष अगाडि ताराखोला गाउँपालिका र गण्डकी प्रदेशसँग विभिन्न हाते झोलासँगै स्कुल झोला बनाउने तालिम लिएकी ताराखोलाकी उद्यमी एवम् ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूहका अध्यक्ष गौमती घर्तीमगरले बताइन् । 

 

‘दुइवर्षअगाडि हामीलाई ताराखोला गाउँपालिकाले हस्तकलासम्बन्धि विभिन्न किसिमका झोला बनाउने १५ दिनको तालिमको दिएको थियो, मगरले भनिन्, ‘गाउँपालिकाको तालिमपछि हाम्रो ९ जनाको समूह पुन: १५ दिनको तालिमका लागि पोखरा गएर अझ सिकेको सीपलाई थप निखार्ने अवसर पायौं अहिले आफ्नै गाउँतिर उद्यमसँग जोडिन पाउँदा खुशी छौं ।’

 

उनले कुहिएर जाने स्थानीय वस्तुहरु प्रयोग गरेर घरेलु उद्यमसँग जोडिन पाउँदा खुशी लागेको उद्यमी घर्तीमगरले सुनगाभा न्यूजसँग बताइन् । 

 

‘अल्लो हाम्रो गाउँमा प्रशस्त पाइन्छ । बाउ बाजेले धागो बनाएको देखेको थिए । पहिले पनि गाउँमा केही उद्यमीले धागो बनाउने गर्थे, उनले भनिन्, ‘पालिका र प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउन तालिम दिएको थियो । तालिमपछि उद्यमीमा जोडिन पाउँदा हामी खुशी छौं ।’

 

तालिमपछि उनीहरुले ताराखोला गाउँपालिका–५ मा ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूह गठन गरेका हुन् । समूहकी उनै गौमती अध्यक्ष छिन् । तालिम दिएपछि जनप्रतिनिधि तथा कर्मचारीले समय समयमा तालिमको सही सदुपयोग भएको छ छैन भन्ने अनुगमन गर्न आवश्यक रहेको उनले बताइन् ।

 

‘स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले दिएको तालिमको समय–समयमा अनुगमन हुन आवश्यक छ, उनी भन्छिन्, ‘उद्यमको तालिम लिएपछि तालिमको सदुपयोग भएको छ । छैन भनेर अनुगमन गर्दा मात्र तालिमले सार्थकता पाउँछ ।’

 

घरको काम सकेर मात्र उद्यमका लागि समय मिलाउने पर्ने बाध्यताका कारण उद्यमीमा केही असर परेको उनले सुनाइन् । 

 

‘घरायसी काम गरेर सिध्याएर मात्र उद्यममा जोडिन पाउछौं । धेरै नै अर्डर आए त घरको काम नै छोडेर झोला तयार गर्न लाग्छौं नत्र घरधन्दा सकेर मात्र झोला बनाउन जान्छौं । दिनमा एकजनाले बिहानदेखि नै काम गरे २ वटासम्म झोला बनाउन सकिन्छ,’ उनले भनिन् । 
 

ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूहले तयार गरेको उद्यमीको सामग्री प्रवद्र्धन गर्न गाउँपालिकाले सहयोग गर्दै आएको छ । पालिकाले हस्तकलाका सामग्री मात्र नभएर गाउँका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धन्गर्न व्यवसायिक रुपमा गाउँपालिकाले विभिन्न मेला महोत्सवमा सामग्रीको प्रवर्द्धन् गर्न सहयोग गरेको छ । 

 

गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउन अल्लो र ढाकाको झोलाको अर्डर गरेपछि यही समूहले झोला तयार गरेर गाउँपालिकालाई विक्री गरेको हो । अल्लोको झोलाको माग भने पर्याप्त नभएको उनले बताइन् ।

 

अल्लोको प्रशोधन कसरी गरिन्छ ? 

 

अल्लोलाई स्थानीय भाषामा ‘चाल्ने सिस्नो’ भनेर चिनिन्छ । नेपालको पहाडी भू–भागका जङ्गलहरुका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने एक वनस्पती हो ।

 

समुद्री सतहदेखि करिब १ हजार २ सय मिटरभन्दा माथि मात्रै अल्लो पाइन्छ । यसको काण्डको बोक्राबाट प्राप्त हुने रेसाबाट नै धागो निकाल्ने गरिन्छ । 

 

अल्लो प्रशोधन साधारणतया कात्तिकदेखि पुस महिलासम्म अल्लोको बोक्रा संकलन गरेर स्थानीय विभिन्न प्रविधिको प्रयोग गरेर यसको बोक्राबाट रेसा उत्पादन गरेर धागो बनाउने गरिन्छ ।

 

रेसा उत्पादनका लागि अल्लोको बोक्रालाई पानी डुबाएर केही दिन डुबाएर राख्नुपर्छ । त्यसपछि खरानी हालेर उमालेपछि पानीले सफा गर्ने क्रममा रेसाहरु छुट्टिने गर्छ । 

 

रेसाहरु छुट्याउन बिस्तारै काठको मुङ्गोले ठोक्दै पखाल्ने गरिन्छ  । यसरी निस्केको रेसालाई मकैको पिठो तथा कमेरोसँग मिसाएर घाममा सुकाएर उत्पादन गरिएको रेसा नै धागो हो । 

 

अल्लोको धागोबाट झोला, रुमाल, खास्टो, गलैँचा, कुसन लगायतका सामग्रीहरु बनाउन सकिने उद्यमीहरु बताउँछन् । 
 
 

ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...

थप पढ्नुहोस्

काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...

थप पढ्नुहोस्