पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात
राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिकौं: उपसभापति गुरुङ
पाेखरा | जेठ २, २०८१
पोखरा: पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे ।
पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ ।
जनकल्याण पोखरा–११ ले माछापुच्छ्रे गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्याे ।

जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो । तेस्रो तथा निर्णायक सेटमा सुरुवाती अङ्कमा पछाडी परेको जनकल्याणले उत्कृष्ट पूनरागमन गर्दै माछापुच्छ्रेलाई २६–२४ ले पराजित गर्याे र २ अंक जोड्यो । यता पराजित बनेको माछापुच्छ्रे १ अङ्क प्राप्त गर्याे ।
कुल ९ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।
उनका अनुसार ९ टिमलाई २ समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’तर्फ माछापुच्छ्रे गाउँपालिका भलिबल संघ, जन कल्याण पोखरा–११, फ्रेन्स युथ क्लब, मादी–११ रहेका छन् । यस्तै समूह‘बी’तर्फ जिभिपि युके लण्डन, अन्नपूर्ण गाउँपालिका भलिबल संघ, माछापुच्छ्रे गुराँसे भूमि घाचोक,शान्तिदेवि युथ क्लब शिशाघाट र माछापुच्छ्रे गाउँपालिका–२ रहेको छ ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।
राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिकौं: उपसभापति गुरुङ
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नपर्ने बताए ।

‘हामी राजनीतिककर्मीहरु पछिल्लो समय अनुशासनविहिन बन्न थालेका छौं । खेलाडीबाट अनुशासन सिक्न जरुरी छ, उपसभापति गुरुङले भने, ‘खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन् । बेलगाम भएका हामीहरुले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ ।’
उनले वर्तमान राजनीति अनुशासनविहिन भएकै कारण फरक शिराबाट अगाडि बढिरहेको दोहोर्याए । ‘अहिलेको नेपाली राजनीति अनुशासनमा रहेको छैन । खेलाडीबाट अनुशासन सिक्न पर्छ, उनले भने, ‘वर्तमान राजनीति विडम्बना ढङ्गबाट अगाडि बढेको छ । प्रजातन्त्र भनेको लुटतन्त्र, मनपरीतन्त्र जस्तो देखिएको छ, त्यसैले राजनीतिकर्मीहरुले अनुशासन सिक्न जरुरी छ ।’

नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले संघको दशौं स्थापना दिवसको अवसरमा देशको विभिन्न जिल्लाहरुमा प्रतियोगिता आयोजना गरेर स्थापना दिवस मनाइरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवशमान प्रधानाङ्ग र नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ यस प्रतियोगिताले भलिबल र खेलाडीहरुलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनको अध्यक्षता, कोषाध्यक्ष एवम् प्रतियोगिता संयोजक लामा अमृत गुरुङको स्वागत र सचिव प्रितम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

