राष्ट्रपति पौडेलद्वारा तनहुँको ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन

तनहुँ | बैशाख ३, २०८१

राष्ट्रपति पौडेलद्वारा तनहुँको ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन

तनहुँः  राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज तनहुँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो ।

 

पुरातत्व विभागको आर्थिक सहयोगमा वि. सं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृह जिल्ला आइपुग्नुभएको थियो । कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशसभाका सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो ।

 

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सुरु गरिएको थियो ।

 

तनहुँसुरमा रहेको दरबारको वि. सं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरमा तत्कालीन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ ।

 

खड्गकालिकाको शेषका रुपमा तनहुँको व्यास–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ ।

 

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

 

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्यायनिसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिंढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवती पानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्