कुरा कर्णालीकाः प्रदेश सरकारका उपलब्धि सार्वजनिक

काठमाडाैं | बैशाख ८, २०७९

कुरा कर्णालीकाः प्रदेश सरकारका उपलब्धि सार्वजनिक

 

सुर्खेत, वैशाख ८ गते । कर्णाली प्रदेशका  मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो छ महिने प्रगति विवरण बुधबार सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्धको खोपलगायत विभिन्न विकासका कामलाई उपलब्धिका रूपमा सार्वजनिक गरेकोे हो । 

 

कुल जनसङ्ख्याको ५४ प्रतिशतले पहिलो र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोज लगाएको सार्वजनिक गर्दै सरकारले १८ वर्षभन्दा माथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएको जनाएको छ ।

 

मुख्यमन्त्री शाहीले छ महिनाको अवधिमा प्रदेशभरि ११ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको बताउनुभयो । यो अवधिमा प्रदेशभर १७० किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको र ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको उल्लेख गर्नुभयो । 

 

 

यस्तै यस अवधिमा सातवटा सडक पुल बनेको, प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को राजस्व सङ्कलन लक्ष्यबमोजिम ६० दशमलव ७३ प्रतिशत अर्थात् ३६ करोड ४४ लाख रुपियाँ सङ्कलन भएको बताइएको छ । यस अवधिमा चालू खर्च २७ दशमलव ७० र पुँजीगत खर्च १७ दशमलव ९४ प्रतिशत गरी कुल प्रगति २१ दशमलव ८० प्रतिशत छ ।

 

यस्तै जनता आवास कार्यक्रमअन्तर्गत यस अवधिमा कुल ६१३ वटा आवास निर्माण सम्पन्न भएका छन् भने ९७० वटा एकाइ निर्माण कार्यमा सम्झौता भई कार्यान्वयनमा छन् । थप दुई सय घरधुरी जनता आवास कार्यक्रमअन्तर्गत र विपन्न आवास कार्यक्रममार्फत दुई सय गरेर चार सय घरधुरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रिया पूरा भएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । 

 

कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन–२०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रिया अगाडि बढाइएको, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको जानकारी उहाँले दिनुभयो ।

 

रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पतालका भवन निर्माणले गति लिएको, प्रदेशभरका ६६ वटा सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना भएर स्थानीय तहमार्फत कार्य सुचारु भएको उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजनाका रूपमा प्रदेश रङ्गशालाको ट्र्याक र फिल्डको काम ५० प्रतिशत सम्पन्न भएको, अन्तर्राष्ट्रिय भलिबल कबर्ड हलको जग निर्माणको काम भइरहेको साथै कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।

 

सरकारले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनका घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि १५ करोड रुपियाँ स्थानीय तहमा पठाइएको जनाएको छ ।

 

मुख्यमन्त्री शाहीले कर्णालीको कृषि क्षेत्रले समेत फड्को मारेको दाबी गर्नुभएको छ । चालू आर्थिक वर्षमा कर्णालीका एक हजार २३९ हेक्टर जमिनमा सिंँचाइ सुविधा पुग्नुका साथै १० हजार २८६ जना स्वरोजगार बनेका छन् । 

 

दुईवटा बाख्रा स्रोत केन्द्र, दुईवटा माछा स्रोत केन्द्र, एउटा चौँरी स्रोत केन्द्र, एक/एकवटा भेडा/च्याङ्ग्रा/भैँसी/कुखुरा स्रोत केन्द्र स्थापना गरिएका छन् । चक्लाबन्दी कार्यक्रममार्फत एक हजार २०५ रोपनीमा आलु, बदाम, स्याउ, ओखर, किवी उत्पादन सुरु भएको छ । ३१० जना व्यवसायीलाई बैङ्कमार्फत ५७ करोड रुपियाँ ऋण लगानी गरिएको छ । मन्त्रालयबाट दुई करोड पाँच लाख रुपियाँ ब्याज भुक्तानी गरिएको छ । कर्णाली प्रदेशको भू–उपयोग योजना/नीतिको प्रक्रिया अगाडि बढेको छ । 

 

मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रममार्फत ७९ वटा पालिकामा महिला सहकारीलाई जगेडा कोषमार्फत पुँजी परिचालन गरिएको छ । जाजरकोट र दैलेखमा मकै मिसन कार्यक्रम, मार्सी धान प्रवद्र्धन कार्यक्रम, भटमास र रैथाने बाली प्रवर्धन कार्यक्रम तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ ।

स्वास्थ्यतर्फ सरकारले कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसंँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाएको छ । 

प्रदेश सरकारले प्रदेशमा लगानी प्रवर्धन गर्ने उद्देश्यले दैलेखमा रारा हाइड्रोपावर कम्पनीबाट उत्पादन हुन केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिएपछि बढीमा पाँच करोड रुपियाँ प्रदेश सरकारबाट सेयरका रूपमा लगानीका साथै जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले कर्णाली प्रदेश सरकारलाई छुट्याएको ११ लाख ७१ हजार ५०० कित्ता सेयर स्वीकार गरी लगानी सुनिश्चित गरेको बताइएको छ ।

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्