लामो समयपछि मनसुन सुरु भएसँगै  किसान हर्षीत

कैलाली | असार १३, २०७९

लामो समयपछि मनसुन सुरु भएसँगै  किसान  हर्षीत


कैलाली :      कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी हुनुहुन्छ ।  लामो समयपछि  वर्षा हुन थालेपछि रामफल मात्रै नभई  धान रोप्न नपाएका किसान खुसी भएका छन् । 

 

शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् ।  लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो । 

 

चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन ।” उहाँले भन्नुभयो, “अब खेती लगाउन सकिन्छ कि भन्ने आशा जागेको छ । किसान खेतमा व्यस्त हुन थालेका छन् । निरन्तर पानी पर्यो भने धान रोप्न सहज हुनेछ ।”
  
    

गत वर्ष यस समयमा धान रोपाइँ सक्नुभएका टीकापुरका दिनेश विश्वकर्माले यस वर्ष भने धान रोपाइँ सुरु गर्नुभएको छैन । गत वर्ष जेठबाट मनसुन सुरु भएपछि जेठबाटै खेतको काममा व्यस्त हुनुभएका उहाँ बल्ल खेतको काममा निस्कनुभएको छ । “पानी नपरेपछि रोपाइँ समयमै गर्न सकिएन । अब पानी पर्न थाल्यो अब रोपाइँको काम हुन्छ होला ।” उहाँले भन्नुभयो, “सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर भने पाउन निकै कठिन भएको छ ।”
 

 

टीकापुर–४ का हरि चौधरीले खेत जोतेर छोडेको महिना पुग्यो । धानको बीउले महिना दिनभन्दा बढी काट्यो तर, चौधरीले वर्षा नहुँदा धान रोपाइँ गर्न अझै सक्नुभएको छैन । बोरिङको पानीले खेत रोप्ने तयारी गर्नुभएका उहाँले खडेरीका कारण बोरिङको पानीले पार नलागेपछि अलि कति रोपेको धानबीचमै छोड्नुपरेको थियो । “गत वर्षजस्तै चाँडै रोपाइँ सक्ने गरी धानको बीउ राखेको थिए । पानी नआउँदा करिब एक महिना नै ढिलो भयो ।” उहाँले भन्नुभयो, “कामदार पायो भने एक हप्तामा खेत रोपेर सक्ने लक्ष्य छ । कामदार पाइएन भने दुई हप्ताभन्दा बढी लाग्छ ।”
  
  

 कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थिए । यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो । त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको टीकापुर –८ का धनसिंह साउँदले जानकारी दिनुभयो ।  उहाँले यस वर्ष भने किसान पानीको पर्खाइमा बस्नुपरेको बताउँदै आकाशे पानी पनि नआउनु र सिँचाइ कुलामा पनि पानी समयमै नआउनुले धान रोपाइँमा ढिलाइ भएको बताउनुभएको छ ।
  


    “मैले गत वर्ष यो समयमा १५ बिगाहाभन्दा बढी रोपाइँ गरिसकेको थिए । यो वर्ष एक बिगाहा पनि रोपाइँ भएको छैन ।” उहाँले भन्नुभयो, “अहिलेको वर्षा किसानका लागि अमृत बनेको छ । कम्तीमा जमिन भिजेपछि बोरिङको पानीले भए पनि रोपाइँ गर्ने वातावरण बनेको छ ।” किसान साउँदले २८ बिगाहा क्षेत्रफलमा धान रोपाइँको तयारी गर्नुभएको छ । जग्गा भाडामा लिएर व्यावसायिक खेतीमा लाग्नुभएका साउँदले १० बिगाहाभन्दा बढी क्षेत्रफलमा बिज वृद्धिका लागि धान रोपाइँ गर्नुहुन्छ ।
    
  

 वर्षा नहुँदा बीउ बचाउनसमेत किसानलाई निकै समस्या भएको थियो । केही किसानले बोरिङको पानीले रोपाइँ गरे पनि रोपेको धान सिँचाइ नपाउँदा सुकेर जाने अवस्थामा पुगेको  किसान अमर कठरिया बताउनुहुन्छ । उहाँले बोरिङमार्फत दुई बिगाहा क्षेत्रफलमा धान रोपाइँ गर्नुभएको थियो । पर्याप्त सिँचाइ हुन नसक्दा रोपेको धान सुक्ने अवस्थामा पुगेको बताउँदै कठरियाले थोरै भए पनि वर्षा हुन थालेपछि राहत पुगेको बताउनुभयो । “सिँचाइ कुलामा पानी छैन । बोरिङको पानीले सिँचाइ गरेर साध्य छैन । आकाशे पानी आउँदैन ।” उहाँले भन्नुभयो, “किसान निकै आत्तिएको अवस्था थियो । अब केही हदसम्म किसानले राहत महसुस गर्न थालेका छन् ।”
  
    

सरकारले रासायनिक मलको व्यवस्था गर्ला भन्ने आशामा पनि कतिपय किसानको धान रोपाइँमा ढिलाइ भएको छ । मल नभएर उत्पादन नहुने भएपछि रासायनिक मलको पर्खाइमा बसेका किसानलाई मनसुनले पनि पछाडि पारेको किसान महेश चौधरी बताउनुहुन्छ । “सरकारले मल ल्याउन सकेन । केही समय मलको पर्खालमा बित्यो भने केही समय सिँचाइको अभावले ।” उहाँले भन्नुभयो, “अहिले भारतबाट भए पनि मलको व्यवस्थापन भएको छ । किसानले आफ्नो प्रयोगको लागि भारतीय बजारबाट मल ल्याए । अनि वर्षा पनि सुरु भयो । अब किसानको व्यस्तता खेतमा देखिन थालेको छ ।”

काठमाडौँ:    कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...

थप पढ्नुहोस्

नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...

थप पढ्नुहोस्

नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...

थप पढ्नुहोस्