लेकसाइडमा रोटरी कार्निभल तयारी

पाेखरा | पुस १, २०८०

लेकसाइडमा रोटरी कार्निभल तयारी

पोखराका रोटरी क्लबहरु कार्निभल तयारीमा जुटेका छन् । फेवाताल किनार खहरेमा आगामी पुस ७ मा ‘रोटरी कार्निभल–२०२३’ हुन लागेको हो ।

 

गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि त्यसलाई बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरु जुटेका हुन् ।

 

रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन लागेको बताए । उनी कार्निभल खासमा रमाइलो गर्ने, खाने रमाउनेमात्र नभई कार्यक्रमबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको सुनाउँछन् । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको उनले स्मरण गरे ।

 

रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष उनी हाल रोटरी डिष्ट्रिक्ट ३२९२ का मेम्बरसिप कमिटी चेयरपर्सन छन् । सिग्देलले भने, ‘यसपालि सबै रोटरी क्लबहरु सामाजिक कार्यका लागि हातेमालो गरेका हौं । आगामी दिनमा पनि सामाजिक कार्य केन्द्रित गरी कार्निभललाई निरन्तरता दिनेछौं ।’ यसपालि करिब ४ लाख रुपैयाँ बचाउने आयोजकको लक्ष्य छ । उक्त रकममा हरेक क्लबले रकम थपेर जाजरकोट भूकम्पपीडितको लागि नयाँ प्रोजेक्ट गर्ने योजना रहेको सिग्देलले स्पष्ट पारे ।

 

कार्यक्रममा यस क्षेत्रमा बाहुल्य गुरुङ, नेवार लगायत समुदायको नाच तथा विविध संस्कृतिसमेत प्रस्तुत हुनेछ । त्यहाँका करिब १० रेष्टुरेन्टले विभिन्न प्रकारका खानाका परिकार पस्किनेछन् । प्रवेशका लागि प्रतिव्यक्ति १ हजार लाग्नेछ । तर, उक्त रकम बराबरको खानाको परिकार रोजेको रेष्टुरेन्टबाट खान पाइने व्यवस्था मिलाइएको छ । मार्किङ गरिएका रेष्टुरेन्टलाई दिइने छुटवापतको रकम नै बचत हुने कार्यक्रम संयोजक एवं रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले बताए । कार्निभलले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने उनको विश्वास छ । उनका अनुसार यो एकप्रकारको सडक महोत्सव हो । क्याथोलिकमा यसलाई आनन्द उत्सवको रुपमा लिइन्छ । खासगरि ब्राजिलमा यो बढी प्रचलनमा छ ।

 

कानिर्भलमा करिब ८ सयदेखि ९ सय मानिसको सहभागिता हुने अनुमान छ । उक्त दिनको कार्यक्रम दिउँसोदेखि सुरु भइ राति साढे १० बजेसम्म चल्नेछ ।

 

पोखरामा हाल रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् ।

पोखरा:  होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...

थप पढ्नुहोस्

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्