र्यान्डममा ‘गोधूलि गीत’को चर्चा
काठमाडाैं | पुस १, २०८०
साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो, रोल्पाको कथा हो, ईश्वरीको कथा हो । माडीको कथा हो र कथा हो मानबहादुरहरूको ।”
विषय प्रस्तुतिमा लेखक कहीँ नचुकेको बताउँदै उनले खास माओवादी के हो र तत्कालीन समयमा रोल्पालीहरू कसरी माओवादी बने, कसरी रणमैदानमा होमिए भन्ने कुरा उपन्यासमा प्रस्ट उल्लेख गरिएको बताए । विषयवस्तुको प्रस्तुति र शैलीका दृष्टिले आधा डुबेको र आधा उत्रेको किताबका रूपमा मगरले उपन्यासको विश्लेषण गरे ।
उपन्यासकार बोखिमले माओवादी युद्ध हुँदैनथ्यो भने आफू अहिले नेपालबाहिर कतै रहेको हुने जिकिर गरे । “युद्धबाट युद्धमै सहभागी भएकाहरूले वा नेपाली जनताले कत्तिको फाइदा पाए कुन्नि १ तर मैले भने निकै फाइदा लिएँ” युद्धसम्बन्धी कथा प्रतियोगिताबाट छानिएर जागिर खाएको प्रसङ्ग सम्झँदै उनले भने, “युद्धकै विषयमा रिपोर्टिङ र साहित्य लेखन गरेर मैले जीविकोपार्जन गर्न पाएँ ।” उपन्यास लेखनका क्रममा पटक पटक रोल्पा पुगेको अनुभव उनले सुनाए । कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमा पढाइमा अब्बल भई नर्स बन्ने सपना देखेकी रोल्पाकी एक किशोरी ईश्वरीको जीवन सङ्घर्षलाई उतारिएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गीता लामिछाने, दीपेन्द्र श्रेष्ठ, स्ट्रगल राना, खिम लामिछाने, सुदिप घिमिरे, विष्णु बाँस्तोला, के। आर। ढकाल, विजय भण्डारी, मोती भुजेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलले गरेका थिए ।
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...

