एकीकृत समाजवादीले २५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयाेग गर्ने
काठमाडाैं | कात्तिक २१, २०८०

नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आज सोमवार बसेको पार्टीको सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनुभयो ।
यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाका अनुसार त्यो कार्यदलको संयोजक पार्टीका उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का, पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी तथा रुकुम पश्चिम र जाजरकोटका पार्टी अध्यक्षहरू रहने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनुभयो । उहाँले त्यो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनुभयो ।
बैठकले पार्टीको महाधिवेशन आउँदो माघमा काठमाण्डौमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि मङ्गलवार पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...