धनुषामा किसानलाई मल अभाव

धनुषा | असार ९, २०७९

धनुषामा किसानलाई मल अभाव


धनुषा :     धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किनुभयो । 

 

“धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु ।” धानको याममा मल नपाएपछि कसरी खेती गर्ने भन्ने चिन्तामा डुबेको पण्डितको दुःखेसो छ ।

  

धान छर्ने तयारीमा रहेका धनुषाधाम नगरपालिका–४ का श्याम यादव पनि मल नपाएपछि निरास बन्नुभएको छ । “गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ, तर मल पाउन सकिन”, उहाँले  भन्नुभयो, “कृषि सामग्री कार्यालयमा जाँदा गाउँको डिलरमा जानुभन्छ, डिलरमा जाँदा मल छैन भन्छन् ।” मल नपाएपछि बाली लगाउनै समस्या भएको उहाँको भनाइ छ । 

    

धनुषा र महोत्तरीका किसानलाई मल अभाव भएको छ । धानबाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त डिएपी मल नपाउँदा निरास बनेका छन् । धानबाली लगाउने बेला मल नपाउँदा किसान बर्सेनि मार खेप्दै आएका छन् । कूल ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी राजेन्द्रप्रसाद यादवले बताउनुभयो । 

    

जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी र युरिया मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएपछि किसान मार खेप्दै आएका छन् । धनुषामा बर्सेनि रासायनिक मलको माग बढ्दै जाँदा आपूर्ति भने घट्दै गएपछि यस्तो अवस्था आएको प्रमुख बेचन साहले बताउनुभयो । चालु आर्थिक वर्ष २०७८÷७९ मा केन्द्रले धनुषा र महोत्तरीका लागि युरिया पाँच हजार मेट्रिक टन र डिएपी चार हजार ५०० मेट्रिक टन माग गरेपनि हालसम्म डिएपी दुई हजार ४९५ मेट्रिक टन र युरिया चार हजार ११४ मेट्रिक टन मात्र प्राप्त भएको प्रमुख साहले बताउनुभयो ।

  

 “डिएपी सबै बिक्री भइसकेको छ, युरिया ५५ मेट्रिक टन गोदाममा मौज्दात छ”, उहाँले भन्नुभयो । गत आवमा ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल माग गरेकामा युरिया तीन हजार २०० मेट्रिक टन र डिएपी चार हजार ५०० मात्र आपूर्ति भएको थियो । यस वर्ष ६०० मेट्रिक टन मल ढुवानी समस्याका कारण आउन नसकेको प्रमुख साह बताउनुहुन्छ । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्