इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

काठमाडाैं | असोज २१, २०८०

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ ।


दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको बताएको थियो । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पनि इजरायली सेनाले बताएको छ ।


यसैबीच, गाजाका अधिकारीहरूले तटीय इलाकामा इजरायलले गरेको प्रत्याक्रमणका कारण कम्तीमा २५६ प्यालेष्टिनीको मृत्यु भएको र करिब एक हजार ७८८ जना घाइते भएको बताएका छन् ।


लेबनानको शक्तिशाली इरान समर्थित ‘हिजबुल्लाह मुभमेन्ट’ले हमासले इजरायलविरूद्ध गरेको कारबाहीप्रति ‘ऐक्यबद्धता जनाउन’ विवादित सीमा क्षेत्रमा इजरायली चौकीमा ‘ठूलो सङ्ख्यामा तोपका गोला र निर्देशित क्षेप्यास्त्र’ प्रहार गरेको जनाएको छ ।


इजरायली सेनाले यसअघि दक्षिणी लेबनानमा आक्रमणकारीको पहिचान नै नगरी गोली चलाएको बताएको थियो ।


नेतन्याहूले उक्स -ट्वीटर_ मा लेख्नुभएको छ, “हामी लामो र कठिन युद्धमा लागेका छौं । हमासको अन्धाधुन्ध आक्रमणका कारण हामीमाथि युद्धको भार थोपरिएको छ ।”


“पहिलो चरण यस समयमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाशद्वारा समाप्त हुँदैछ,” उहाँले लेख्नुभएको छ । रातभर इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टाइनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो ।


गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौं लडाकूबीच आइतबार बिहान पनि गोली हानाहान भइरहेको छ ।


प्रहरी र इजरायली सेनाको विशेष फौजले स्टेशनभित्र लुकेर बसेका १० जना सशस्त्र आतङ्ककारीलाई निष्प्रभावी पारेको प्रहरीले जनाएको छ ।


सन् १९७३ को अरब–इजरायल युद्ध सुरु भएको आधा शताब्दीपछि हमासले शनिबार गरेको रक्तपातपूर्ण हवाई, समुद्र र स्थलआक्रमणले इजरायल र विश्वलाई चकित एवं दुःखी तुल्याएको छ ।


संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक आइतबारका लागि बोलाइरहँदा राष्ट्रपति जो बाइडेनले अमेरिकी सहयोगी ९इजरायल०लाई ‘चट्टानी र अटूट’ समर्थन व्यक्त गर्दै ‘यस परिस्थितिमा फाइदा लिन इजरायलविरोधी अन्य कुनै पनि पक्षविरुद्ध’ चेतावनी दिनुभएको छ । 


इजरायली सेनाले रातभर आफ्नो सेना अझै पनि इजरायलका विभिन्न स्थानहरूमा गोली हानाहानमा संलग्न रहेको बताएको छ, ‘फलामको तरवारहरू’ नाम दिइएको एक प्रतिरोधात्मक आक्रमणमा सेनाको सञ्चित बललाई बोलाइएको थियो ।


हमासले यसअघि केही इजरायलीलाई बन्धक बनाइएको तस्बिर सार्वजनिक गरेको थियो भने सेनाका अर्का प्रवक्ता डेनियल हागारीले सैनिक र सर्वसाधारणको अपहरण भएको पुष्टि गर्नुभएको थियो ।


गाजाको पूर्वमा पर्ने बेरी र ओफाकिमका नेगेभ मरुभूमिसमुदायमा पनि ‘गम्भीर बन्धकको अवस्था’ रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म अहिले नै उनीहरूका बारेमा तथ्याङ्क दिन सक्दिनँ ।”


यनेट इजरायली समाचार वेबसाइटका अनुसार ‘धेरै महिला, बालबालिका र वृद्धहरूसहित दर्जनौं इजरायली बन्दीहरूलाई गाजा पट्टीमा लगिएको विश्वास गरिएको छ’।


नेतन्याहूका अनुसार युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ ।


इस्लामिक समूहले स्थानीय समयअनुसार शनिबार बिहान ६ः३० बजे तेल अभिभ र जेरुसेलमसम्म हजारौं रकेट प्रहार गर्दै फलामको गुम्बज प्रतिरक्षा प्रणालीलाई छिचोल्दै इजरायली भवनहरूमा आक्रमण गरेको थियो । रासस/एएफपी

इलाम:     इलाममा जारी इलाम– २ को मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार २८२ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले अहिले सम्ममा ७ हजा...

थप पढ्नुहोस्

पोखरा:    गायन रियालिटी ‘शो’नेपाल आइडलको पाँचौं संस्करणमा पोखराकी सलोमी गुरुङसहित उत्कृष्ट १२ प्रतिस्पर्धीले प्रस्तुति दिएका छन् । शोको शनिबार प्रशारण इपिसोडमा उत्कृष्ट १२ प्रतिस्पर्धीको प्रस्...

थप पढ्नुहोस्

काठमाडौं:    वेष्ट इण्डिज ए ले दोस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी–२० सिरिज १/१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याए...

थप पढ्नुहोस्