विदेश निर्यात हुदै फोहोरबाट बिजुली उत्पादन गर्ने उपकरण

काठमाडाैं | असार ७, २०७९

विदेश निर्यात हुदै फोहोरबाट बिजुली उत्पादन गर्ने उपकरण


काठमाडौँ  :     काठमाडौँ उपत्यकाको फोहोरको समस्या सधैको हो । बढ्दो सहरीकरणका कारण खुला स्थान क्रमशः हराउँदै गएपछि फोहोर व्यवस्थापनका लागि थप समस्या निम्तिदै आएको छ ।

    

काठमाडौँ उपत्यकाभित्र उत्पादन हुने फोहोर व्यवस्थापनको विषय सहरी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौँ र ललितपुर महानगरको बढी चासोमा पर्ने गरेको छ । सामान्य अवरोध आउना साथै उपत्यकाका सहरमा फोहोर थुप्रने र त्यसबाट अनेकन समस्या निम्तने गरेको तथ्य आम मानिसको जानकारीमै रहेको छ ।

    

पछिल्लो पटक सिसडोल ल्याण्डफिल साइट भरिएका कारण सरकारले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ । तीव्र विवाद र चौतर्फी आलोचनाकाबीच सरकार, स्थानीयवासी र महानगरबीच सहमति भएको छ । सहमति पनि अल्पकालीन अवधिका लागि मात्रै छ ।  

  

 फोहोरलाई मोहोर बनाउने विषयमा लामै समयदेखि चर्चा भएपनि त्यसमा खास प्रगति हुन सकेको छैन । कुहिने फोहोर प्रयोग गरेर घरमै कम्पोस्ट मल बनाउन सकिन्छ । नकुहिने फोहोरको व्यवस्थापनको विषय सबैभन्दा गम्भीर रहेको छ ।

    

संसारभर फोहोर व्यवस्थापनका आ–आफ्ना मोडल छन् । नेपालले कस्तो उपाय अवलम्बन गर्ने भन्ने विषयमा बढ्ता चासो राख्नु र त्यसलाई कार्यान्वयनमा लैजानु आवश्यक छ । पछिल्लो पटक काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले पनि फोहोर व्यवस्थापनको दीर्घकालीन उपायको खोजी गर्ने बताइसक्नु भएको छ ।

    

संसारभरका विभिन्न उपायको खोजी भइरहेको बेला नेपालमा नै फोहोर व्यवस्थापनका लागि नागरिकस्तरमा नै प्रभावकारी काम भइरहेको छ भन्ने कुरा आमरुपमा प्रकाशमा आउन सकेको छैन । नेपालमा उत्पादन भएर विदेश समेत निर्यात भइरहेको फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिनका बारेमा पनि आम मानिसलाई थाहा छैन ।

    

सोही क्रममा  वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर उत्पादन हुने मेसिनको निरीक्षण गरी त्यसको विस्तारका बारेमा चासो व्यक्त गर्नुभएको छ । सो मेसिनको निरिक्षण गर्दै मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुङ्गा सावित हुने बताउनुभएको छ ।

   

 हेटौँडा उपमहानगरपालिका–८ का कृष्ण खतिवडाले विगत चार वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर सो मेसिन निर्माण गरेर विदेश निर्यात गर्दै आउनुभएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त मेसिनको निरीक्षण गर्दै यस्ता कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहे पनि आफूलाई जिम्मा दिएमा यस्ता मेसिन जडान गरेर समस्याको निराकरण गर्न सकिने उल्लेख गर्नुभयो ।

    

मेसिन बनाउने उद्योगको निरीक्षणको क्रममा यस्ता कामको प्रोत्साहनको लागि कार्यविधि बनाउने र कार्यान्वयनमा ल्याउने उहाँको भनाइ छ । फोहोरबाट बिजुली र क्लिङ्कर उत्पादन गर्ने यस्ता मेसिन प्रयोगमा ल्याएमा फोहोर व्यवस्थापन मात्र नभएर फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ ।

  

 फोहोर व्यवस्थापन गर्न समस्या रहेको सहरी क्षेत्रलाई उक्त मेसिन उपयोगी हुने उहाँको भनाई छ । फोहोरबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सन्दर्भमा  यो राम्रो माध्यम बन्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । उहाँले आफूले कृषि औजार कारखाना खोल्नको लागि आगामी आवमा समेत बजेट विनियोजन गरेकोले यस्ता उद्योगलाई प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो ।

  

 उक्त मेसिनले फोहोरमा भएका टिन, फलामलगायतका बस्तु छानेर अलग गरिदिन्छ । कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिङ्कर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिनुभयो । नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै व्यवस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको दुखेसो खतिवडाको छ ।

  

 नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उहाँको भनाइ छ । यद्यपि बनेका मेसिन भने जापान पठाएर बिक्री भइरहेको उहाँले बताउनुभयो । मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ । शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ । सो मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०।५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिनुभयो ।

  

 उहाँका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिङ्कर निस्कन्छ जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उहाँको भनाइ छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ ।

 
    

अन्य मुलुकबाट ठूलो परिमाणमा मेसिनको माग भएको तर नेपालबाट पठाउनको लागि नेपाल सरकारबाट प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानमा पार्टपुर्जा लगेर फिट गरेर बेच्नको लागि पार्टपुर्जासहित ५० जना कामदार लिएर आफू जापान जान लागेको उत्पादन कम्पनीका सञ्चालक कृष्ण खतिवडाले जानकारी दिनुभयो ।

     

नेपालभित्र बेच्ने अनुमति भए पनि सरकारले प्रमाणपत्र नदिएको कारण विदेश पठाउन समस्या हुने गरेको खतिवडाले बताउनुभयो । यद्यपि नेपालमा प्रयोग गर्नपर्ने अवस्था भए पनि हालसम्म कुनै पनि निकायले प्रयोग नगरेका कारण आफूलाई दुःख लागेको उहाँको भनाइ छ ।

 

जिम्मा दिए निःशुल्क व्यवस्थापन गर्ने
 
  

 सहरी क्षेत्रका स्थानीय तहले फोहोर व्यबस्थापनको जिम्मा दिएमा मात्र पनि आफ्नो मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाको भनाइ छ । मेसिनबाट निस्कने विद्युत् र क्लिङ्करले खर्च उठाउने भएका कारणले पनि आफूले जिम्मा पाएमा उक्त काम गरेर देखाउने उहाँको दाबी छ ।

 

मलको साथै जैविक पोषणतत्व उत्पादन गर्नसक्ने

    

खतिवडाले फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिनसमेत उत्पादन गर्ने साना किसिमका मेसिन पनि बनिरहेको जानकारी दिनुभयो । फोहोरमा फोहोरमात्रै हुँदैन । त्यसमा अनेकन खालका अन्य जैविकतत्वसमेत हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिन्छ ।

    

काठमाडौँ उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको काठमाडौँ महानगरको भनाइ छ । त्यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि त्यसमा जोडिन्छ । एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगरबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर पनि यसअघि सिसडोल लगिन्थ्यो भने अहिले बञ्चरेडाँडा लान थालिएको छ । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्