मणिपाल काण्ड: तोडफोड गर्ने समूहलाई खोज्दै कास्की प्रहरी

२०/२५ जनाकाे समूहविरुद्ध जाहेरी, अहिलेसम्म विनयसहित ८ जना प्रहरी नियन्त्रणमा

पाेखरा | असोज १३, २०८०

मणिपाल काण्ड: तोडफोड गर्ने समूहलाई खोज्दै कास्की प्रहरी

पोखरा: मणिपाल अस्पताल प्रकरणमा चिकित्सक र मृतक परिवारबीच सहमति भएपनि घटनालाई उग्र बनाउन संलग्न भएका युवाहरुलाई कास्की प्रहरीले खोजतलास गरेको छ ।  

 

चिकित्सक र मृतक परिवार दुवै पक्षलाई वार्तामार्फत ६ बुँदें सहमतिसँगै विवाद साम्य पार्न खोजिएपनि मृतक पक्षका युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ विरुद्ध भएकाले कानूनी उपचारका लागि प्रहरीले खोजी गरेको हो । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले मणिपाल अस्पताल तोडफोडमा संलग्न युवाहरुलाई तिब्रताकासाथ खोजी गरिरहेको बताए । उनका अनुसार ति युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ ।

 


 

यो पनि पढ्नुहोस

 

घटना भएको (गत ८ गते) बेलुकी नै मणिपाल शिक्षण अस्पतालले विनय गुरुङसहित करिब (२०/२५ जना) समूहविरुद्ध जाहेरी दिएको थियो ।

 

सोही जाहेरीका आधारमा हिजो (शुक्रबार) सम्साँझै न्यूरोडबाट ७ जनालाई पक्राउ गरिएको एसपी थापाले बताए । पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का २ युवा रहेका छन् ।

 

‘हिजो राती ७ जनालाई नियन्त्रणमा लिएका छौं । बाँकी अरुको खोजी तिब्र पारेका छौं, एसपी थापाले भने, ‘संवेदनशील क्षेत्र मानिने अस्पतालमा तोडफोड गरेको कसुरमा उनीहरुलाई पक्राउ गरेका हौं । उनीहरु विरुद्ध घटना भएको बेलुकी नै विनय गुरुङ लगायत २०/२५ जनाको समूह विरुद्ध जाहेरी परेको थियो ।’ 

 

एसपी थापाले जाहेरी परेपनि घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न समय लागेकाले ति युवाहरुलाई पक्राउ गर्न केही दिन समय लागेको सुनाए ।

 

‘जाहेरी परेपनि त्यो क्रियाकलापमा संलग्नहरुलाई आइडेन्टिफाई गर्न समय लाग्यो । अस्पतालले दिएको सिसिटिभी फुटेजको आधारमा उनीहरुको खोजी गरिरहेका छौं । कसैलेपनि स्वास्थ्य संस्थामा तोडफोड, बाधा ब्यबधान गर्न पाइदैन । त्यसैले उनीहरुको कसुर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ । केही समय लागेपनि संलग्न सबैलाई पक्राउ गर्छौं,’ एसपी थापाले भने । 

 

७ जनालाई गएराती पक्राउ गरिएपनि घटना भएकै दिन पक्राउ परेका मालेपाटनका विनय गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ । उनी घटना भएकै दिन चिकित्सकलाई हातपात गरेको आरोपमा पक्राउ परेका थिए । 

 

लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि विवाद सुरु भएको थियो । 
 

त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित अनिश्चितकालिन आन्दोलनमा थिए ।

 

तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाएको थियो । 

 

जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक परिवार पक्षलाई वार्तामार्फत ६ बुँदें सहमति गराएपनि मृतक सुकमाया दुराको शव अझै नउठेको बताइएको छ ।


 

यो पनि पढ्नुहोस

 

 
 
 
 

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्