चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

काठमाडाैं | असोज १०, २०८०

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

चितवन:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उहाँले चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गर्नुभयो ।

 

उहाँले थप्नुभयो, “हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।” शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उहाँको भनाइ थियो ।

 

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्‍याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।”

 

यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

 

फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राख्नुभयो । यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैंले यसलाई हेरिरहेको उहाँको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

 

‘आँखा उपचारमा सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताउनुभएको हो ।

 

मन्त्री बस्नेतले राजधानी बाहिर आँखाको उपचारमा देशले हेर्नलायक र बिरामीले सुविधा पाउने खालको अस्पताल भरतपुरमा स्थापना गरेको भन्दै यसलाई अझै विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “७७ जिल्लामा आँखाको क्षेत्रमा राजधानी बाहिरको देशले हेर्नलायक, बिरामीले सुविधा पाउने खालको अस्पतालका रूपमा यो अस्पताल स्थापित गर्नुभएको छ ।”

 

 उहाँले थप्नुभयो “आफ्नै मेहनत र परिश्रमले भएको यो प्रगतिमा सरकारको ध्यान जान्छ ।” आँखा उपचार सेवालाई विस्तार गर्न आग्रह गर्दै उहाँले सरकारको तर्फबाट प्रक्रियागतरूपमा सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

 

अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा समस्या भएको भन्ने गुनासोप्रति सम्बोधन गर्दै उहाँले मन्त्रिपरिषदबाट निर्णय भइसकेको र लालपुर्जा धनीका तर्फबाट कुनै अवरोध नभएकाले यो समस्याको समाधान हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “लालपुर्जाको विषय मन्त्रालयमा छलफल चलाउँछु, प्रधानमन्त्रीसमक्ष पनि राख्छु ।”

 

सो अवसरमा सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्के, जिल्ला सभापति जयराम श्रेष्ठ, सचिव केशव अधिकारी र अस्पताल प्रशासक दयाशङ्कर चौधरीले अस्पतालका गतिविधि र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । रासस

पोखरा:      पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ ।  मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यट...

थप पढ्नुहोस्

काठमाडौं:  मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बाराको सि...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा...

थप पढ्नुहोस्