अमरसिंहचोकमा मोटरसाइकलको ठक्करबाट सविताको मृत्यु

क्षतिपुर्ति नपाएसम्म शव नउठाउने पीडित परिवारको अडान

पाेखरा | भदौ १४, २०८०

अमरसिंहचोकमा मोटरसाइकलको ठक्करबाट सविताको मृत्यु

पोखरा:   ट्रकको ठक्करबाट तनहुँकी वर्षा कुमालको मृत्यु भएको दुई दिनपछि फेरि मोटरसाइकलको ठक्करबाट अर्का युवतीले ज्यान गुमाएकी छिन् ।

 

जिल्ला ट्राफिक प्रहरी कास्की प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरिक्षक शिव पाठकका अनुसार पोखरा १० अमरसिंहचोकमा हिजो (बुधबार) बिहानै मोटरसाइकलले ठक्कर दिँदा महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता कुमारी सिंह दनुवारको मृत्यु भएको हो ।
 

मर्निङ वाक हिडेकी उनलाई हिजो (बुधबार) बिहान करिब ५ बजे पृथ्वीचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले पैदल यात्री दनुवारलाई ठक्कर दिएको थियो ।

 

घाइते भएकी दनुवारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो । 

 

दुर्घटनापछि मोटरसाइकल चालक रिठेपानीका २१ वर्षीय सुजन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।  

 

यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँ म्याग्देकी २० वर्षीय वर्षा कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।

 

क्षतिपुर्ति नपाएसम्म शव नउठाउने पीडित परिवारको अडान 

 

मृतक सविताको श्रीमान् दीपेन्द्र दनुवारले क्षतिपुर्ती नपाएसम्म शव नउठाने बताए । उनका अनुसार अहिले सविताको शव मणिपाल अस्पतालमा छ ।

 

उनले मोटरसाइकल चालकको लापरबाहीको कारण आफ्नो श्रीमतीले ज्यान गुमाउनुपरेको बताए ।

 

‘मोटरसाइकल चलाउनेको चरम लापरबाही देखिएको छ । त्यसैले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएको छु । घरमा दुइटा सानो बच्चा छ । हामी ज्याला मजदुरी गरेर छाक टार्ने परिवार हो, उनले सुनगाभा न्यूजसँग भने, ‘कानून बमोजिम चालकलाई कारवाही र उचित क्षतिपुर्ति नपाएसम्म बुढीको शव उठाउदिन ।’

 

उनले क्षतिपुर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय कास्की अगाडी शुक्रबार धर्ना दिनेसमेत बताए ।

 

‘गाउँबाट आफन्तहरुलाई बोलाइसकेछु । भोलि धर्ना दिने तयारी छ । मोटरसाइकल चलाउने नेपाली कांग्रेसको नेताको मान्छे भन्ने सुनेको छु । हामीलाई उचित क्षतिपुर्ति चाहिन्छ, नत्र राँको बाल्छौ,’ दनुवारले भने । 

 

पोखरा १० बुद्धचोकमा बस्दै आएको दनुवार परिवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् ।


 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्