म्याग्दीकाे धवलागिरीका झन्डै चार सय परिवार डेढ महिनादेखि अन्धकारमा
म्याग्दी | भदौ ७, २०८०
फाइल तस्बिर
म्याग्दी: धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।
मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता बगाएको थियो । धौलागिरि–२ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार परियोजना बगाउँदा चार बस्तीका तीन सय ७० परिवारको जनजीवन प्रभावित भएको छ ।
“नहरको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको छ”, उहाँले भन्नुभयो, “पेनस्टक पाइप, विद्युत्गृह र उपकरण पहिरोले खोलामा मिसाएको छ ।”
विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।
केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघुजलविद्युत् परियोजनामाथि निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताउनुभयो । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चाँर्ज गर्न, ल्याबटप, कम्प्युटर चलाउन समस्या भएको छ ।
विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न समस्या भएको छ । पछिल्लोपटक परियोजना मर्मत गर्न गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्याक्रममार्फत रु दश लाख खर्च भएको थियो । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।
“नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु २० करोड बजेटको ठेक्का सम्झौताको तयारी छ”, उहाँले भन्नुभयो, “लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौ ।” रासस
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

