बाढीग्रस्त कागबेनी ४ दिनदेखि अन्धकारमा
मुस्ताङ | साउन ३२, २०८०
मुस्ताङको बाढीग्रस्त क्षेत्र कागबेनीमा आइतबार साँझदेखि नै विद्युत आपूर्ति हुन सकेको छैन।
धार्मिक स्थल मुक्तिनाथको निकाससमेत रहेको कागखोलामा आइतबार साँझ आएको बाढीले बिजुलीका खम्बाहरू ढलाउँदा विद्युत् आपूर्ति ठप्प हुन पुगेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। अहिले कागखोला पारी केही ठाउँमा विद्युत आपूर्ति भए पनि बाढीग्रस्त ठाउँका मानिसले अन्धकारमै रात बिताउन बाध्य भएको उनले बताए।
‘कम्तीमा २५ वटा पोलहरू बाढीले बगाएको छ। तारहरू लत्रिएको छ। त्यसलाई पन्छाएर विद्युत आपूर्ति गर्न सकिएको छैन, हामी लागिपरेका छौं,’ उनले भने। शनिबारसम्म विद्युत आपूर्ति गर्ने गरी काम भइरहेको पनि उनले जानकारी दिए। बाढीग्रस्त क्षेत्रमा खानेपानीको समेत हाहाकार थियो। तर, बुधबारबाटै सञ्चालनमा ल्याइएको उनले बताए।
‘खानेपानी हामीले नियमित गरिसकेका छौं। पक्की पुल बगाएको ठाउँमा गेग्रान सम्याएर खोलैबाट बाटो बनाएकाले माथिल्लो मुस्ताङ जान पनि समस्या छैन। यद्यपि, माथि पनि एउटा पुलमा समस्या निम्तिएको छ भन्ने छ, त्यसलाई पनि आजबाट व्यवस्थित गर्छौं,’ उनले भने।
खोलामा गेग्रानसहितको बाढी आउँदा लेदो–थेग्रेनीले बजार पूरै ढाकेको थियो। लेदोले कतिपय घरहरूको भुइँतला पूरै पुरेको प्रजिअ केसीले बताए। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले त्यसलाई पन्छाइरहेका छन्। साथै खोलाले अहिले पनि किनारका घरहरू कटान गरिरहेकाले प्राकृतिक बहावममा फर्काउन च्यानलिङको काम भइरहेको केसीको भनाइ छ।
‘खोलाले अहिले पनि छेऊछाउका घर कटान गरिरहेको छ। त्यसैले खोलालाई बीचमा ल्याउन दुईवटा डोजर परिचालन गरेका छौैं। त्यस्तै, विस्थापितहरूको व्यवस्थापन पनि भइरहेको छ,’ उनले भने।कागखोलाको बाढीबाट ६० जनाजति विस्थापित भएका थिए। त्यस्तै अन्यत्र जिल्लाबाट काम गर्न गएका सय हाराहारी मजदुर पनि अलपत्र परेका थिए। तीमध्ये कति घर फर्किइसकेका छन् भने त्यहीँ रहेकालाई ठेकेदार कम्पनी, गाउँपालिकाले पनि व्यवस्थापन गरिरहेको छ।
स्थानीय अधिकांशले आफन्तकहाँ शरण लिइरहेका छन्। उनीहरूलाई खानपानको प्रबन्ध भने गाउँपालिकाले नै गरेको प्रजि केसीले बताए। ‘हिजो पनि प्रदेश सरकारका तर्फबाट केही त्रिपाल र ब्ल्यांकेटहरू आएको छ। राहतको काम भइरहेको छ। अहिलेको मुख्य चुनौती भनेको खोलालाई प्राकृतिक बहावमा फर्काउने हो,’ उनले भने, ‘हिजो पनि सिमसिम पानी पर्यो। मौसमले प्रतिकूल नरहने हो भने हामी खोलाको च्यानलिङ सक्छौं।’
रेन स्याडो जोनुमा पर्ने मुस्ताङको मौसम चक्रमा फेरबदल देखा पर्न थालेको छ। पानी नै कम पर्ने कागबेनी आसपासका क्षेत्रमा शनिबार साँझदेखि नै एकनास झरी परेको थियो। बाढी आएको दिन जोमसोम स्टेसनमा २५।२ मिलिमिटर वर्षा मापन भएको थियो।
त्यसका अलावा कागखोलाभन्दा माथिको खोला पहिराले थुनिएको आशंका पनि जल तथा मौसम विज्ञान विभागले गरेको थियो। त्यहाँ रहेको स्टेसनमा केहीबेर खोला सुकेर एक्कासि बढेको देखाएको सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुनील पोखरेलले बताएका थिए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

