पोखरा:    सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।  फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोह...

पोखरा:   तमु धिं नेपालले बोन म्यारोको उपचारत २५ वर्षिय इसाक तामाङलाई १ लाख रुपैया सहयोग गरेको छ । धादिङबाट पोखरा आई पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा बस्दै आउनुभएका तामाङ एक वर्ष अघिदेखि बोन म्यारोको उपचारको क्रममा आर्थिक अभावले उपचारमा समस्याका कारण तमु धिं नेपालका स्थापित “मे.जयबहादुर गुरुङ, उदय चन्द्र, रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोष”को व्याजबाट उपचारका लागि सहयोग गरिएको हो । पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा आयोजित कार्यक्रममा कोषका संस्थापक समाजसेवी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विरामी इसाक तामाङलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि १ लाख रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो । कोष संस्थापक समाजसेवी मेजरनी रुपकुमारी गुरुङले उपचार रकम हस्तान्तरण गर्नुहुदै शिघ्र स्वास्थ्यलाभको शुभआशिष व्यक्त गर्नुभएको थियो । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले अक्षयकोष स्थापना, अक्षयकोषको उद्धेश्यका बारेमा जानकारीका साथै सहयोगका लागि अवगत गराउनुहुदै युवा अवस्थाका विरामी इसाक तामाङलाई उच्च भावना बनाउन आग्रह गर्नुभयो। उहाँले उपचार सहयोगका लागि संयोजन गर्नुभएकोमा जनप्रतिनिधी वडा नं.१ का वडा सदस्य शोभा गुरुङलाई धन्यवाद व्यक्त गर्नुभयो । कसेरी टोल विकासका अध्यक्ष तोरन लामाले आफ्नो बस्तीमा आएर विरामीको उपचारका लागि सहयोग गर्ने तमु धिं नेपाल र कोषदातालाई धन्यवाद व्यक्त गर्नुभयो । वडा सदस्य शोभा गुरुङले उपचारका लागि सहयोगको हात फैलाईरहका इसाक तामाङलाई तमु धिं नेपालको सहयोग अत्यन्तै सह्रानीय भएको भन्दै तमु धिं नेपाललाई धन्यवाद र तामाङ शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ, सहकोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नं.१ का वडा सदस्य शोभा गुरुङ, सिमपानी तमु समाजका कार्यवाहक अध्यक्ष चेकबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ इकाई समिति कसेरीका अध्यक्ष बीरबहादुर तामाङ, युवा क्लव, टोल विकास लगायत संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । आर्थिक अवस्था कमजोरीका कारण उपचारमा समस्यामा परेका बिरामीहरुको उपचार सहयोगार्थ समाजसेवी मेजरनी रुपकुमारी गुरुङले तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्वास्थ्योपचार कोष स्थापना गरिदिनुभएको छ, उक्त कोषको व्याजबाट स्वास्थ्योपचारका लागि तमु धिं नेपालले सहयोग गर्दै आइरहेको छ ।

पोखरा:   १२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुष २६ देखी माघ ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ । जसमा कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमितिमा सुक बहादुर गुरुङ, सचिवालय ब्यवस्थापन उपसमितिमा लोक बहादुर थापा, सांस्कृतिक ब्यवस्थापन उपसमितिमा गणेश तिमिल्सिना, अनुगमन ब्यवस्थापन उपसमितिमा शान्त बहादुर थापा चयन भएका छन ।  त्यसैगरी प्रचार प्रसार उपसमितिमा दिनेश सुनार, अर्थ ब्यवस्थापन उपसमितिमा सूर्य बहादुर बानियाँ, प्रायोजक व्यवस्थापन उपसमितिमा पूर्णकला पोख्रेल, स्टल व्यवस्थापन उपसमितिमा सीमा गुरुङ, मायाको चिनो ब्यवस्थापन उपसमितिमा सन्तोष कार्की, झांकी ¥याली व्यवस्थापन उपसमितिमा विष्णु कुमार गुरुङ, टिकट ब्यवस्थापन उपसमितिमा जयराम आचार्य, स्वयंसेवक ब्यवस्थापन उपसमितिमा पूर्ण कुमार श्रेष्ठ, प्रकाशन तथा मुद्रण ब्यवस्थापन उपसमितिमा दिवानी सुवेदी, ब्यानर ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली, सुरक्षा ब्यवस्थापन उपसमितिमा शिव थापा, फोहोर तथा खानेपानी ब्यवस्थापन उपसमितिमा पदम कार्की, खाना खाजा ब्यवस्थापन उपसमितिमा शान्ति सुवेदी, मुल्यांकन उपसमितिमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमितिमा लिलाधर अधिकारी, यातायाता ब्यवस्थापन उपसमितिमा रमेश बहादुर कार्कीलाई चयन गरेको छ ।  त्यसैगरी पर्यटन प्रवद्र्धन उपसमितिमा श्यामकृष्ण श्रेष्ठ, ट्राफिक व्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, विद्युत ब्यवस्थापन उपसमितिमा हरि श्रेष्ठ, स्वास्थ्य व्यवस्थापनमा नरहरी पनेरु, पार्किङ ब्यवस्थापन उपसमितिमा राम थापा, पृष्ठपोषण व्यवस्थापन उपसमितिमा रिम बहादुर क्षेत्री, मुलद्धार व्यवस्थापन उपसमितिमा चन्द्र थापा, विद्युतिय सुरक्षा उपसमितिमा राजेन्द्र तिवारी, बीमा व्यवस्थापन उपसमितमा गणेश बहादुर खड्का, मिडिया कोअडिनेटर गिता राना र कार्यालय सचिवमा रेजिना खत्रीलाई संयोजकमा चयन गरेको छ ।  त्यसैगरी १२ औं पोखरा महोत्सवको सल्लाहकारहरुमा राजेन्द्र थापा, सेती थापा, सम्मर बहादुर श्रेष्ठ, क्याप्टेन फत्ते बहादुर गुरुङ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, लिला बहादुर जिसी, पो. म.न.पा. वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पो.म.न.पा. वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पो.म.न.पा. वडा नं १३ का अध्यक्ष किरण बराल, पो.म.न.पा. वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँ, पो.म.न.पा. वडा नम्बर १४ का अध्यक्ष वोधराज कार्की, पो.म.न.पा. वडा नम्बर ११ का अध्यक्ष प्रेम कर्माचार्य, टिका बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ, कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मिन गुरुङ, सुनिल गुरुङ, भरत केसी, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, दया बराल, यम बहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिव बहादुर वराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, ओम सुवेदी र निलकण्ठ पोख्रेल चयन भएका छन ।   

स्याङ्जा:  स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय स्तरमा उत्पादन गरिने मदिरालाई ब्राण्डिङ गर्ने तयारी थालेको छ ।   स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले बताए ।   ‘नगरको आर्थिक वृद्धिका लागि घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्य सुरु गर्न लागेका हौं,’ उनले भने ।   लोकल रक्सीलाई ब्राण्डिङ गरेसँगै नगरपालिकाको करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिक आत्मनिर्भर हुने उनको भनाई छ ।   राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने उपप्रमुख कविता तिवारी गैह्रेको भनाइ छ । यसबाट पालिका भित्रका १ हजार ५ सय घरधुरी लाभान्वित हुने भन्दै उपप्रमुख तिवारीले पुरानो सिपको प्रयोगले आर्थिक उन्नति सहज हुने बताइन् ।   मङ्गलबार बसेको छलफलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र विज्ञहरुको सहभागिता थियो ।   पालिकाले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ । यो खबर आजको गोरखापत्रमा लेखिएको छ ।  

चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।   चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गएको साउनमा नियन्त्रणमा लिइएको थियो ।   कसराको खोरमा चारव टा र सौराहामा दुई वटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै गएको वर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको १० वर्षको भाले बाघ पनि सौराहामै छ ।   तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गएको भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुई वर्षअघि ल्याइएको नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । माडीको वनकट्टाबाट ल्याइएको १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिई ल्याइएको १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन ।    निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ । त्यही ठाउँमा बाघ राख्नका लागि दुई वटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ ।   हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

आफूले भनेको काम नगरिदिएको झोंकमा स्थानीय एक युवाले धनकुटाको  पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ।    सोमबार बिहान १२ः४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो। धनकुटा प्रहरीले  सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो।   ‘हामीले शंका लागेर नियन्त्रणमा लिएका तिनै युवाले आगजनी गरेको स्वीकार गरेका छन्, धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भने। आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको उनको भनाइ छ।    कोइरालाले परिवारलाई घरभित्रै थुनेर ज्यानै लिने नियतले आगजनी गरेको भने नदेखिएको पनि बताए। परिवारका सदस्य माथिल्लो तलामा थिए, ताला तलको तलामा थियोु, एसपी कोइरालाले भने, रिस फेर्न आगो लागाएको देखिन्छ।   अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने उनले जानकारी दिए। पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ  उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला  परेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ।   फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए। आफन्तले उनीलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन्। मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन। घटनाको थप विवरण बुझ्न र  मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ।’     मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले बताए।

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ  उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला पर्नुभएको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर ज्यान गएको हुनसक्ने आफन्तको भनाइ छ ।   फडेरा गएको शुक्रवारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । खोज्ने क्रममा आफन्तले सोमवार दिउँसो मृतावस्थामा फेला पारेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भन्नुभयो, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन ।   घटनाको थप विवरण बुझ्न र  मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।’  मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

ढोरपाटन:    एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ ।  गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् । युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ । मगर खाम भाषा आठार मगरातअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोलिन्छ । खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पशुपालन र खेती किसानी यहाँका स्थानीयको मुख्य पेसा हो । पहिले–पहिले लेकबेँसी र घाँसदाउरा गर्दा खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । खाम भाषालाई आफ्नो पहिचान मान्ने यहाँका बूढापाका पछिल्लो समय भाषाको प्रयोग कम हुन थालेपछि चिन्तित बनेका छन् । कहिले र कसको पालादेखि यो भाषा बोल्न थालिएको भन्ने यकिन नभए पनि संरक्षण गर्नुपर्नेमा पाकापुस्ताको चासो छ । निसीखोला गाउँपालिकाले पाठ्यपुस्तक नै मगर खाम भाषामा बनाएर लागू गरे पनि यत्तिले मात्रै भाषा संरक्षण नहुने स्थानीय थमबहादुर घर्तीले बताउनुभयो । दिनदिनै गाउँ छाडेर बजार झर्नेको सङ्ख्या ठूलो भएको जनाउँदै उनीहरूलाई गाउँ नरोकेसम्म भाषा संरक्षण गर्न चुनौती हुने उहाँको भनाइ छ । आफ्नै गाउँठाउँमा सेवा सुविधा र रोजगार सिर्जना गर्न सकेमात्रै खाम भाषा र परम्परा जोगाउन सकिने घर्तीमगरले बताउनुभयो । गाउँमा हुने सार्वजनिक कार्यक्रममा पहिले सबै खाम भाषा बोल्ने गरेकामा हिजोआज बोल्न छाडेको उहाँले गुनासो पोख्नुभयो । स–साना बालबालिकालाई हरेक परिवारले आफ्नो भाषा सिकाउन नसके, अबको एक दशकमा यस क्षेत्रमा कोही पनि खाम भाषा नबोल्ने स्थिति आउन सक्ने घर्तीमगरको भनाइ छ । “मैले ठूलै हुँदासम्म अहिले बोल्ने खस भाषा बोल्न जान्दैनथे, गाउँघर सबैतिर खाम भाषा बोल्थे, मैले पनि सानैदेखि त्यही बोलेको हुँदा ठूलै भएर जान्ने बुझ्ने हुँदासम्म अरु भाषा बोल्न आउँदैनथ्यो, तर अहिलेका केटाकेटीलाई खाम भाषा सिकाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब सरकारले गाउँ छाडेर बजार जानेलाई यहीँ रोक्नुपर्छ नत्र हाम्रो भाषा, पहिचान गुम्छ, मलाई साह्रै चिन्ता लागेको छ, मैले गाउँमा हिँड्दा साना बालबालिकालाई भेट्दा पनि खाम भाषामै बोल्छु र बोल्न लगाउँछु, हरेक घर–घरमा खाम भाषा नै बोल्नुपर्ने व्यवस्था गर्नुपर्छ ।” निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषासँगै निसीखोलामा रहेका कला, संस्कृति र परम्परालाई संरक्षण गर्न पालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको बताउनुभयो । यस वर्षदेखि विद्यालयस्तरबाटै भाषा संरक्षणका लागि मगर खाम भाषामै पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर लागू गरेको उहाँको भनाइ छ । यहाँका हरेक घरमा हरेक व्यक्ति खाम भाषा बोल्ने गरेको भन्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने र गाउँघरमा बोल्दा यो भाषालाई अनिर्वाय बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । आधुनिकताले भाषासँगै अन्य पक्षमा पनि असर पुगेको अध्यक्ष घर्तीमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “मगर खाम भाषा संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ, बूढापाकाले त पहिलेदेखि नै बोल्दै आउनुभएको छ, नयाँ पुस्तालाई बढी जोड दिएका छौँ, गाउँमा बस्नेले त जसरी पनि भाषा बोल्ने गर्छन्, बजार झरेर पढ्ने, व्यवसाय तथा रोजगारी गर्नेलाई पनि भाषा संरक्षण गर्नतर्फ लाग्न आग्रह गरेका छौँ ।”  

म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ। गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो।   संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नको घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सङ्घको समपूरक कोषमार्फत ५० लाख र गाउँपालिकाको रु ५० लाख गरी रु एक करोड लगानीमा २५ वटा घर निर्माण गरिनेछ।   उनले भने, ‘गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत घर बनाउन लागिएको हो।’ गाउँपालिका–१ देखि ७ मा रहेका लक्षित वर्ग, म्याग्दे गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम कार्यविधि २०८० को दफा ९३० अनुरुप मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको छ।   त्यसका लागि जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिससहित आवश्यक कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्नेछ।   कार्यविधिबमोजिम विगतदेखि गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र स्थायीरुपमा बसोबास गर्दै आएको तर सरकारबाट सञ्चालित यस्तै कार्यक्रमबाट लाभ प्राप्त गरेका व्यक्ति लाभग्राही हुन नसक्ने मापदण्ड छ । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।