कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ कैलारी गाउँपालिका–७ बर्का बसन्तास्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। सो दुर्घटनामा परेर बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय राजेश डगौराको उपचार भइरहेको छ। यस्तै घाइते भएका भजनी नगरपालिका–५ का २६ वर्षीय वीरबहादुर चौधरी पनि उपचाररत छन्। घटनापछि दुबै मोटरसाइकल नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए। पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए। प्रहरीका अनुसार अभियुक्तले गत मंसिर र २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए।
बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को उत्पादन बेटरले साथ दिने भएको छ । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौँँ संस्करणको पोखरा महोत्सवलाई पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को बेटरले मुख्य प्रायोजकमा रही साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचनका सामग्रीहरु बिक्री गर्दै आइरहेको र ग्राहकको रोजाइमा पर्दै आइरहेको छ । पोखरा महोत्सवसंग दोश्रो पटक सहकार्य गर्न पाउदा आफुहरुको ब्यापारसंगै महोत्सव आयोजक युनाईटेड क्लबले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि बढ्न आफु तत्पर रहेको रौनियारको भनाइ रहेको थियो । युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बाह्रौँ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीजसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताउदै महोत्सवको माध्यामबाट उत्पादित सामग्रीहरुको प्रवर्द्धन गर्न आफुहरुले कुनै कसर बाँकी नराख्ने समेत बताए । महोत्सवबाटै सामाजिक काममा आफुहरु लागि परेको बताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीजको पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको बताए । महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ। युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ । हालसम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लबले ५८ लाख ८५ हजार रुपैयाँ प्रदान गरिसकेको छ । युनाइटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सामाजिक काम अन्तर्गत सेती खोंच एक साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागि पहलकदमी गर्दै रकम छुट्याउदै आएको छभने बाह्रौँ पोखरा महोत्सवदेखी युनाइटेड क्लबको आफ्नै जग्गा रहेको लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि छात्राबास निर्माणका लागी समेत रकम छुट्याइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ । आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।
कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका(२ की ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् । चालकलाई बससहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।
स्कुल बसले चेपेर रुपन्देहीको गैंडहवामा एक बालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कंचन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले बालिकालाई चेपेको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं १ का राम हरिजनकी २ वर्षकी छोरी नारिया रहेकी छन्। विद्यार्थी लिएर झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गईरहेको बसको मुनी छिरेकी नारियालाई सोही बसको टायरले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले बालिकाकी आमाले ठूली छोरीलाई विद्यालय पठाउन सोही बस चढाउने क्रममा नारिया बसको मुनी छिरेको समयमा बस गुडाउँदा दुर्घटना भएको बताए। दुर्घटनामा परी बालिकाको घटनास्थलमै मृत्यु भएको र प्रहरीले स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ। यसअघि गत मंसिर १६ गते शनिबार गैंडहवा गाउँपालिका सुर्यपुरामा रहेको सिद्धार्थ बोर्डिङ स्कुलको बसले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको थियो।
मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाण्डौमा पक्राउ परेका छन् । महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ति शनिवार विमानस्थलबाट पक्राउ गरेको हो । साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो । मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाण्डौ प्रहरीले जनाएको छ ।
नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। नवलपरासी ९बर्दघाट(सुस्तापश्चिम०को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए। अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए। उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए।
पोखराका रोटरी क्लबहरु कार्निभल तयारीमा जुटेका छन् । फेवाताल किनार खहरेमा आगामी पुस ७ मा ‘रोटरी कार्निभल–२०२३’ हुन लागेको हो । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि त्यसलाई बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरु जुटेका हुन् । रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन लागेको बताए । उनी कार्निभल खासमा रमाइलो गर्ने, खाने रमाउनेमात्र नभई कार्यक्रमबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको सुनाउँछन् । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको उनले स्मरण गरे । रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष उनी हाल रोटरी डिष्ट्रिक्ट ३२९२ का मेम्बरसिप कमिटी चेयरपर्सन छन् । सिग्देलले भने, ‘यसपालि सबै रोटरी क्लबहरु सामाजिक कार्यका लागि हातेमालो गरेका हौं । आगामी दिनमा पनि सामाजिक कार्य केन्द्रित गरी कार्निभललाई निरन्तरता दिनेछौं ।’ यसपालि करिब ४ लाख रुपैयाँ बचाउने आयोजकको लक्ष्य छ । उक्त रकममा हरेक क्लबले रकम थपेर जाजरकोट भूकम्पपीडितको लागि नयाँ प्रोजेक्ट गर्ने योजना रहेको सिग्देलले स्पष्ट पारे । कार्यक्रममा यस क्षेत्रमा बाहुल्य गुरुङ, नेवार लगायत समुदायको नाच तथा विविध संस्कृतिसमेत प्रस्तुत हुनेछ । त्यहाँका करिब १० रेष्टुरेन्टले विभिन्न प्रकारका खानाका परिकार पस्किनेछन् । प्रवेशका लागि प्रतिव्यक्ति १ हजार लाग्नेछ । तर, उक्त रकम बराबरको खानाको परिकार रोजेको रेष्टुरेन्टबाट खान पाइने व्यवस्था मिलाइएको छ । मार्किङ गरिएका रेष्टुरेन्टलाई दिइने छुटवापतको रकम नै बचत हुने कार्यक्रम संयोजक एवं रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले बताए । कार्निभलले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने उनको विश्वास छ । उनका अनुसार यो एकप्रकारको सडक महोत्सव हो । क्याथोलिकमा यसलाई आनन्द उत्सवको रुपमा लिइन्छ । खासगरि ब्राजिलमा यो बढी प्रचलनमा छ । कानिर्भलमा करिब ८ सयदेखि ९ सय मानिसको सहभागिता हुने अनुमान छ । उक्त दिनको कार्यक्रम दिउँसोदेखि सुरु भइ राति साढे १० बजेसम्म चल्नेछ । पोखरामा हाल रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् ।

