नवलपुर: बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताउनुभयो । आव २०७९/८० मा भन्दा २०८०/८१ मा बाख्रापालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ । “आव २०८०/८१ मा नयाँ १८ बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन् । अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ पुगेको छ”, उहाँले भन्नुभयो, “आव २०७९/८० मा दर्ता भएका बाख्रा फार्म दुई सय ५६ थियो ।” फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने सङ्ख्या अझ उल्लेख्य रहेको पाइएको छ । जिल्लामा आव २०७९/८० मा एक लाख ४३ हजार नौ सय ९० वटा बाख्रा रहेकामा गत आवमा सो सङ्ख्या २३ हजार सात सय ८९ ले थप भई एक लाख ६७ हजार सात सय ७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ । “पछिल्लो तीन वर्षमा जिल्लामा ४५ हजार दुई सय २२ बाख्रा थप भएका छन्”, प्रमुख गुरागाईँले भन्नुभयो, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।” बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९/८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताउनुभयो । जिल्लामा उत्पादन भएको खसीबोका किसान आफैँले बिक्री गर्ने गरेका छन् भने केही सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ । “गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन्”, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट गत आवमा एक सय ५० मेट्रिक टन खसीबोका काठमाडौँ, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रापाल्नेको सङ्ख्या भने बढ्दै गएको छ । पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाईँले बताउनुभयो ।
मोरङ: आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादको क्रममा लक्ष्मणले एक्कासी खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वीरगञ्ज: वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिनुभयो । “विशेष गरेर कोभिड महामारीको समयमा कार्गाे रेलले मालवाहक कन्टेनर छाडेर खाली र्याक रित्तै फर्किँदै गए । त्यही बेलादेखि थुप्रिएको खाली कन्टेनर अहिलेसम्म पनि यथावत रुपमा नै रहेका छन्”, उहाँले भन्नुभयो, “अहिले मालवाहक कन्टेनर सामान बोकेर आउने गर्छन् । जति सामान बोकेर आउँछन् । त्यत्ति नै खाली कन्टेनर बोकेर जाँदा पहिलाको खाली कन्टेनर यथास्थितिमा रहिरहने प्रवृत्ति देखिएको हो ।” कार्यालयका अनुसार दुई सय कन्टेनरमा भने लिलामी गर्नुपर्ने विभिन्न सामान तथा उपकरण रहेका छन् । प्रमुख भन्सार अधिकृत बरुवालले खाली रहेका कन्टेनर लैजानका लागि र्याक खाली भएको कार्गाे रेल आउनुपर्ने बताउनुभयो । “कार्गाे रेलले एकपटकमा कम्तीमा पनि ६० कन्टेनर ओसार्न सक्ने क्षमता रहन्छ”, उहाँले भन्नुभयो, “यहाँ रहेका खाली कन्टेनर हटाउनका लागि कम्तीमा पनि २० देखि ३० पटक खाली र्याक भएको कन्टेनर ल्याउनुपर्ने हुन्छ । खाली र्याकमात्र ल्याउँदा लागत खर्च धेरै लाग्ने भएकाले पनि व्यवसायी आनाकानी गर्दै आइरहेको देखिन्छ ।” प्रमुख भन्सार अधिकृत बरुवालले नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टलाई खाली भएका कन्टेनर हटाउनका लागि छलफल गर्दै आइरहेको जानकारी दिनुभयो । सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनर भरिभराउ देखिए पनि अधिकांश खाली रहेको उहाँको भनाइ छ । “बाहिरबाट हेर्दा भन्सार यार्ड भरिभराउजस्तै देखिन्छ । तर, रित्तो कन्टेनरका कारण यार्ड व्यवस्थापनमा पनि समस्या थपिरहेको छ”, उहाँले भन्नुभयो । यहाँ विशेषगरी विशाखापट्टानम र कोलकाताबाट धेरै मालवाहक कन्टेनर आउने गर्छन् । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यो यस्तो खालको बन्दरगाह हो, जहाँ कार्गाे रेलबाट मात्र मालसामान ल्याउने गरिन्छ । यो सन् २००० विश्व बैंकको ऋण सहयोगमा रु ८२ करोड लागतमा निर्माण गरिएको हो । भारत सरकारको २० करोड लागतमा रक्सौलबाट बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको हो । अहिले सुक्खा बन्दरगाह व्यवस्थापनको काम भने इन्टरमोडल यातायात विकास समितिमार्फत हुँदै आइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षका लागि रु तीन अर्ब ३३ करोडमा ठेक्का सम्झौता भएको छ । प्रिष्टिनले सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापन गरेबापत औसतमा वार्षिक रु ६६ करोड समितिलाई उपलब्ध गराउने गर्छ ।
भरतपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् । घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
बागलुङ (गलकोट): गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ । यसका लागि नगरपालिकाले माछाले अण्डा पार्ने समय अर्थात् भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको हो । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ । नगरपालिकाले कानुन बनाएर गत वर्षदेखि असला माछा संरक्षण सुरु गरेको थियो । जुनसुकै समयमा जथाभावी माछा मार्ने प्रवृत्तिले माछा लोप हुने अवस्था आएपछि तीन महिनाका लागि सो कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० बनाइ दुवै खोलामा माछा मार्न रोक लगाएको प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । “गत वर्ष पनि अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछाको पर्याप्त पाउन थालेको पाइएको थियो । यस वर्ष पनि तीन महिनाका लागि माछा मार्न रोक लगाइएको हो”, उहाँले भन्नुभयो । रोक लगाएको अवधिमा माछा मारेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले असला माछालाई यहाँको ब्राण्ड बनाउनका लागि संरक्षण गरिएको बताउनुभयो । उहाँले माछा मार्न पनि निश्चित व्यक्तिलाई मात्रै अनुमति दिने तयारी भइरहेको जानकारी दिनुभयो । अनुमतिप्राप्त व्यक्तिले मात्र माछा मार्दा रोजगारी सृजना हुने र नगरपालिकालाई राजस्व प्राप्त हुने उहाँले बताउनुभयो । यहाँ आउन अधिकांक पर्यटकले असला माछा खोज्ने गरेको होटल व्यवसायी कौशिला घर्तीले बताउनुभयो । यहाँ आउनेहरू अधिकांशका पहिलो रोजाइको परिकार नै असला माछाको हुने गरेको उहाँको अनुभव छ । “यहाँका असला माछा कोसेलीका रुपमा विदेशसम्म लैजाने गरिएको छ”, घर्तीले भन्नुभयो “माछा प्रतिकेजी रु एक हजार छ सयसम्म बिक्री हुन्छ ।”
रामपुर (पाल्पा): गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् । घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताउनुभयो । चालु आर्थिक वर्षदेखि यस्तो व्यवस्था भएको हो । सुत्केरीलाई तीसवटा अण्डा पनि दिइने स्वास्थ्यचौकीले जनाएको छ । यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।
काठमाडौं: स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताउनुभयो । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिनुभयो । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ । गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
काठमाडौं: प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् । नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पु¥याइ जलाएर पर्व मनाइएको हो । किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामङ्गल नाम गरेको एउटा दानव थियो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गथ्र्यो । त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो । त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गथ्र्यो । उसको गतिविधिबाट मानिस आतङ्कित थिए । एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाएसँगै यो पर्व मनाउने प्रचलन सुरू भएको जानकारहरू बताउँछन् । भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथकशैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षर रूपी गठामङ्गल बनाइ बाहिर कपडाले मोडेर विभिन्न रङ्ग लगाइ टोलटोलमा घुमाएर जगातीमा बिसर्जन गरिन्छ । यो पृथक शैली भक्तपुरका भेलुखेल र दत्तात्रयमा मात्रै रहेको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिनुभयो । इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौं शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । महादेवलाई मन पराउने राक्षसको रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उहाँको भनाइ छ । “आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने गरिन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ”, संस्कृतविद् डा श्रेष्ठले भन्नुभयो । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवको प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउनुहुन्छ । भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाइ दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ । यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याउछन् । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्द प्रयोग गर्ने छुट रहेको संस्कृतकर्मी वैद्यको भनाइ छ । घण्टाकर्णको दाहसंस्कार गरी फर्किदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने र घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू हुन्छ । शक्तिपीठमा घुइँचो यसैगरी भक्तपुरका विभिन्न शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशीका दिन मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो । नेवार समुदायले आज बिहानै स्नान गरी शुद्ध भएर घरघरमा लिपपोत गर्ने, विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वको रूपमा पनि गठमङ्गललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि मनाउने प्रचलन छ । आज फलामको औँठी लगाउने प्रचलन पनि छ ।
                    
