काठमाडौं: यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह सदस्य निर्वाचनको नतिजा सजिलै आफ्नो वेवसाइटमा प्रकाशन गर्नको लागि Prixa Technologies ले electionnepal.live भन्ने निःशुल्क प्रविधि ल्याएको जानकारी यहाँहरुसँग बाँड्न पाउँदा हामीलाई अत्यन्त खुसी लागिरहेको छ । electionnepal.live ले निर्वाचन आयोगद्वारा प्रकाशित नतिजालाई द्रुत अपडेट गर्छ । Prixa ले सबै सञ्चारमाध्यमलाई निर्वाचनको परिणाम पाठकहरुसँग साझा गर्न सजिलो होस् भन्ने लागेर यो पोर्टलको अवधारणा ल्याएको हो । यो प्रविधिमार्फत कुनै पनि सञ्चारकर्मीहरुले निर्वाचनको परिणाम छिटोभन्दा छिटो आफ्नो वेवसाइटमा प्रकाशन गर्न पाउँछन् । निर्वाचनको नतिजा आफ्नो वेवसाइटमा प्रकाशन गर्न electionnepal.live मा गएर त्यहाँ भएको एम्बेड कोड कापी गरेर आफ्नो वेवसाइटमा राख्न सकिन्छ। Prixa ले यस अघि पनि कोरोना संक्रमितको वास्तविक संख्या अद्यावधिक गर्नको लागि coronanepal.live भन्ने निःशुल्क प्रविधि बनाएको थियो र १००० भन्दा बढी संचारकर्मीहरुले आफ्नो वेवसाइटमा यो प्रविधि आत्मसात गरेका थिए । साथै कोरोनाको समयमा coronanepal.live २ लाख भन्दा बढी जनताले आफ्नो संचार माध्यममा सेयर गरेका थिए । अझै पनि उक्त प्रविधिले नेपाली जनतालाई सुसूचित रहन मद्दत गर्दै आएको छ र electionnepal.live पनि यही उद्देश्य लिएर बनाइएको हो । electionnepal.live को माध्यमबाट सबै जनतामा मत परिणामको जानकारी झट्टै होस् भनेर त्यसको लागि हामीले अहिले सञ्चालनमा आइराखेका सञ्चार माध्यममा निर्वाचन आयोगको तथ्यांकलाई आधार बनाएर सबै ठूला साना सञ्चार माध्यमहरुमा निःशुल्क कोड एम्बेड गर्नेछौँ । यसले गर्दा अत्यधिक संख्यामा रहेका संचार माध्यममा फरक फरक डाटा नआउन् र जनतालाई दुविधा नहोस् भन्नका लागि हामीले निर्वाचन आयोगको आधिकारिक डाटा नै राख्ने व्यवस्था गरेका छौँ।
पोखरा: पोखरा महानगरपालिका ७ स्थित घारीपाटन नजिकै माछा मार्न जाने क्रममा सेती खोचमा अड्किएका विशाल थापामगरलाई सुरक्षा टोलीले जिवितै उद्धार गरिएको छ । प्युठानको गौंमुखी गाउँपालिका ३ का ३२ वर्षिय थापामगरलाई सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्व सँयुक्त टोलीले जिवितै उद्धार गरेको हो । चिप्लेर लड्दा खुट्टामा चोट लागेको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सशत्र प्रहरी निरिक्षक भिम बहादुर थापाले सुनगाभा न्यूजलाई बताए । उनका अनुसार करिब साढे ११ बजे थापामगर चिप्लेर लडेर सेती खोचमा अड्किएका थिए । त्यसपश्चात उनको उद्धारमा सशत्र प्रहरी बलको टोली र नेपाली सेनाको टोली खटिएको थियो । करिब ३ बजे खोचमा अड्किएका थापामगरको उद्धार गरिएको इन्सपेक्टर थापाले बताए । पोखरामा ज्याला मजदुरी गर्दै आएका थापामगर स्थानीय तहको निर्वाचनका कारण आज (शुक्रबार) काम नभएपछि माछा मार्न सेती पुगेको बताइएको छ ।
बागलुङ: बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण गरिएको जनाएका छन् । भोलि हुने स्थानीय तहको निर्वाचनको मतदानपछि पाकिलाले मतगणना गर्न स्थलको तयारी पूरा गरेको बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतगणनास्थल तारबारसहित सुरक्षितसमेत बनाइएको छ । बागलुङको चार नगरपालिका र छ गाउँपालिकामध्ये बागलुङ नगरको मतगणना जिल्ला समन्वय समितिको सभाहल, जैमिनी नगरले १ नं वडास्थित सभाहल, गलकोट नगरको पुरानो गलकोट माध्यामिक विद्यालयको भवन, ढोपाटन नगरले बुर्तिबाङस्थित उत्तरगङ्गा माविको भवनमा तयारी गरिएको हो । यस्तै तमानखोला गाउँपालिकाको आफ्नै सभाहलमा, निसीखोला गाउँपालिकाको सभाहलमै तथा बडिगाड, ताराखोला, काठेखोला र बरेङ गाउँपालिकाले मतगणनास्थल तयारी गरिसकेको जनाएका छन् । मतगणनास्थलमा मतपत्र च्यात्ने, भीडभाड हुने लगायतका घटना नहोस भन्ने उद्देश्इले सिसी क्यामेरा र तारबारसहित सुरक्षित गरएको स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
काठमाडौँ: निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो । यस अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सदस्य गङ्गा दाहाललाई आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिताविपरीत दल र उम्मेदवार तथा अन्य पक्षले गर्न सक्ने क्रियाकलापको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाएको छ । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगममन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । सहायक निर्वाचन अधिकृतलाई अनुगमन अधिकृत तोकेको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्योजनसहित १७ वटा विशेष अनुगमन टोली खटाइएको छ । सो टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउनेछ । आयोगले आचारसंहिता कार्यान्वयन भएयता विभिन्न पार्टीका शीर्ष नेता, मुख्यमन्त्री, उम्मेदवार, सरकारी ओहोदामा रहेका व्यक्ति, पत्रकारका सङ्गठन र सञ्चारमाध्यमलाई गरी करिब एक सय स्पष्टीकरण सोधको छ । त्यसमध्ये केहीलाई ध्यानाकर्षण र सचेत गराइएको छ भने अनुगमन र छानविनको क्रम जारी राखेको छ । आयोगमा अनुगमन हेर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । आयुक्त भण्डारीले रासससँगको कुराकानीमा हालसम्मको जानकारीमा उम्मेदवारले दिएका द्वेशपूर्ण अभिव्यक्ति दिएको, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचरण पालना नगरेको, निर्वाचन प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको, आर्थिक प्रलोभन देखाइएको, कतिपय सरकारी कर्मचारीले कुनै दलको पक्षधरता देखाएको जस्ता प्रकृतिका उजुरी प्राप्त भएको भएको बताउनुभयो । आचारसंहिता उलङ्घन गर्नेलाई आयोगले स्पष्टीकरण मात्र सोध्ने हो कि अन्य कारबाही पनि गर्ने हो ? भन्ने प्रश्नमा आयुक्त भण्डारीले भन्नुभयो, “प्राकृतिक न्यायका आधारमा उलङ्घनकर्ता वा त्यसको आरोप लागेका व्यक्तिलाई सफाइको मौका दिनका लागि पनि स्पष्टीकरण सोध्नुपर्ने हुन्छ । प्राप्त जवाफ र तथ्य, प्रमाणका आधारमा सामान्य घटना भएमा तामेलीमा राख्ने, गल्ती गरेको अवस्थामा जवाफकर्ताले आत्मालोचना गरेमा वा गल्ती नगर्ने प्रतिबद्धता जनाएमा सचेत गराउने कारबाही हुन्छ । गम्भीर प्रकृतिको उलङ्घन भएको पाइएमा जरिवाना र अन्य कारबाहीबारे निर्णय गरिन्छ । भण्डारीका अनुसार आचारसंहिता सबैका लागि उत्तिकै लागू हुने र आयोगको स्रोत साधनले सबैतिर अनुगमन गर्न पहुँच नपुगेको हुन सक्ने भएकाले यसमा सचेत नागरिक, जिम्मेवार सबै पक्षले सघाउनुपर्छ । उहाँले राजनीतिक दलहरुले पालना गर्ने हो भने धेरै हदसम्म उलङ्घनका घटना नहुने जनाउँदै भन्नुभयो, “आचारसंहिता एक नैतिक र कानुनी बन्धन हो । कतिपय सन्दर्भमा पालनामा असहयोग गर्ने प्रवृत्ति रहेको हुनसक्छ । तर सबैले इमानदारिताका साथ लागू गर्ने हो भने समस्या आउँदैन । मूलत आचारसंहिता प्रभावकारीरुपमा कार्यान्वयन गर्नकै लागि जारी भएको हो ।” मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने बातावरण निर्माण गर्न आयोगले आह्वान गरेको छ । सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन हुँदैन ।
भरतपुर: शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो । सो ब्लकमा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको जनाइएको छ । सात समुहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिनुभयो । “आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौ”, उहाँले भन्नुभयो । तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ । वि सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस भनेर सबै खालको तयारी गरिएको पौडेलले बताउनुभयो । भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ । विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरीन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।
काठमाडाैं: आसन्न निर्वाचनका लागि आजदेखि छ दिनसम्म विद्यालय बन्द हुने भएका छन् । निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाएको र शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मतदानका लागि गाउँ फर्किने भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले छ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले यसलाई कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाइ सानोठिमीलाई परिपत्र गरेको छ । शिक्षा मन्त्रालयले बुधबार सरकारी तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । शुक्रबार ४ बजेसम्म नै पठनपाठन गर्ने तथा बर्खे र हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने व्यवस्था मिलाउन शिक्षामन्त्रीस्तरीय निर्णय गरी बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीलाई निर्देशन गरेपछि केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको हो । केन्द्रले देशका ७७ वटा जिल्ला समन्वय एकाइ तथा देशभरका स्थानीय तह एवं विद्यालयलाई पनि हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्न परिपत्र गरेको केन्द्रका निर्देशक रामचन्द्र शर्माले जानकारी दिनुभयो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेअनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी पठनपाठनका कार्य सञ्चालन गर्न आइतबार बिदा दिँदा अपुग भएका समय हिउँदे, वर्षे र अन्य बिदामा कटाइ पूर्ति गर्ने व्यवस्था गर्ने गरी वार्षिक क्यालेण्डर तयार पार्न स्थानीय सरकारलाई निर्देशन गरेको छ । यस अवधिमा हिउँदे तथा वर्षे बिदा ५० दिनलाई घटाएर ३० दिन बिदा एकैट पटक दिने वा पटक पटक गरी दिने भन्नेबारेमा स्थानीयले तहले क्यालेन्डर बनाउन सक्ने व्यवस्था गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘ हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’ स्थानीय तह जनताको समीपमा रहेर जनताको हेरक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भए बमोजिमको ३ तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘यस सुखद घडीमा सम्पूर्ण प्रदेशवासीमा वधाई ज्ञापन गर्न चाहन्छु । यसै क्षणमा हामीलाई उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्नुहुने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली प्रदान गर्दै अग्रजहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’ लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाई राख्नका लागि आवधिक निर्वाचन अनिवार्य शर्त रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । आह्वानपत्रमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो ’ राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संघसंस्था एवं सरोकारवाला सबै निश्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि उनले आह्वान गरेका छन् । धेरैभन्दा धेरै प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अनपाउन उनले अनुरोध गरेका छन् ।
उतर राई, पोखरा: युुवा बौद्ध संघ नदिपुुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ युुनिट रगत संकलन भएको छ । २५६६ औ बुद्ध जयन्तीको अवसरमा युुवा बौद्ध संघद्धारा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन आज (सोमबार) ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित बुुद्ध विहार अगाडि आयोजना गरिएको कार्यक्रम संयोजक शरण शाक्यले जानकारी दिए । विहार प्रमुख भिक्षु धज्जवन्तोले स्थानिय बासिन्दा (रक्तदाता) भुुपेन्द्र श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अक्षयकोष दाता एवम् ईच्छाशक्ति मोवाई प्रालिका सञ्चालक इच्छामान बुद्धाचार्यले सङ्घको विभिन्न उल्लेखनीय कामहरुको प्रशंसा गर्दै शुुभकामना व्यक्त गरे । यसैगरि ज्ञानमाला सङ्घका अध्यक्ष श्याम शाक्य,रक्त सञ्चार प्रमुुख महेन्द्र केसी लगायतले बोलेका थिए । सामाजिक व्यक्तित्व, स्थानीय बासिन्दाहरु सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल रोडक्रस सोसाइटी कास्की तथा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा रहेको थियो ।
काठमाडौँ, सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु-याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश हुनेसम्मको समस्या पर्ने गरेको बताइएको छ । हाल नेपालमा गधा, खच्चर र घोडा एक लाख ५० हजारभन्दा बढीको सङ्ख्यामा ढुवानी व्यवसायका लागि प्रयोगमा रहेको सो संस्थाले जनाएको छ । सो संस्थाले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछापमा समस्यामा परेका, घाइते, बूढा भइसकेका खच्चर, गधा तथा घोडाको स्याहार केन्द्र स्थापना गरेको छ । विशेषगरी काठमाडौँ उपत्यकाका इँटा उद्योगमा काम गराउन भित्रिएका गधा, खच्चर तथा घोडा अशक्त, वृद्ध तथा घाइते भएपछि सडकमा छाड्ने गरिएको छ । समस्यामा परेका त्यस्ता जनावरलाई स्याहार केन्द्रमा लगेर पालन गर्ने गरिएका संस्थाका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा पौष्टिक आहार प्रदान गर्ने तथा उपचार गर्ने गरिएको छ । हाल केन्द्रमा ५० भन्दा बढी समस्यामा परेका गधा, खच्चर र घोडा संरक्षण गरिँदै आएको छ । घोडा, खच्चर, गधा विशेषज्ञ डा. सजना थापाका अनुसार यी जनावरले काम गर्न सकुन्जेल काममा लगाउने र अशक्त, रोगी भएपछि जथाभावी छाड्ने प्रवृत्तिले ती जनावरको बाँच्न पाउने अधिकारको हनन हुने गरेको बताउनुभयो । उहाँले गधा दिवसका अवसरमा यी जनावरले पु-याएको योगदानबारे सचेतना जगाउने, यी जनावरबारे अध्ययन अनुसन्धान गर्न चाहने विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । अर्का विशेषज्ञ डा. अतिश यादवका अनुसार इँटा व्यवसाय र उच्च हिमाली क्षेत्रको सम्पूर्ण जनजीवनका लागि यातायातको सेवा प्रवाह गर्दै आएका यी जनावरको योगदानलाई सरकारले अध्ययन अनुसन्धान गरी यिनको बाँच्न पाउने अधिकारको सुरक्षा गर्नुपर्ने बताउनुभयो । नेपालबाहेक बेलायत, इजिप्ट, भारत, पाकिस्तानलगायतका अफ्रिकी मुलुकमा ढुवानीको साधनमा प्रयोग हुने यी जनावरको हक–अधिकारका लागि काम हुँदै आएको छ । बेलायतले त अन्य मुलुकमा समस्यामा परेका गधा, खच्चर तथा घोडालाई ल्याएर संरक्षण, हेरचाह गर्ने गरेको सो संस्थाले जनाएको छ । गाेरखापत्रबाट साभार

