काठमाण्डौँ ः नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ । धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति आज धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ । बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाण्डौँ : मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले रु ३० हजार पाउनेछ भने दोस्रो हुने टोलीले रु २० हजार हात पार्नेछ । त्यसैगरी खुला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडौँमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ । बुटवल र काठमाडौँमा असार ११ देखि १६ गतेसम्म विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ । असार १७ र १८ गते राष्ट्रियस्तरको फूल कन्ट्याक्ट कराते काठमाडौँमा हुनेछ भने असार २० र २१ गते उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
काठमाण्डौँ : सत्तारुढ नेकपा(माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन हुनुभएको छ । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन हुनुभएको छ । महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासङ्घको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासङ्घले जनाएको छ । आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले सङ्घीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न आग्रह गर्नुभएको थियो । महासङ्घका फ्याक्सन इञ्चार्जसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । देशभरका कर्मचारीको ट्रेड युनियनमध्ये महासङ्घ पनि एक हो ।
भरतपुर : चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०र१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन सवस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । अब ती उपकरणको जडान मात्र बाँकी छ । सवस्टेसनमा १६०र१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेसन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सवस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । कोभिड–१९ को महामारीका कारण सवस्टेसन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सवस्टेसनमा नै जोडिनेछ । मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेशन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सवस्टेसन निर्माण भइरहेको छ । यस प्याकेजअन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
हुम्ला : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठूलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो । स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले एक विद्यार्थीमा देखिएकोे ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताउनुभयो । विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको हो, उहाँले भन्नुभयो । ती विद्यार्थीका अनुुहार, शरीर र पाखुुराभरि ठेउला जस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुनसक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमूना सङ्कलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ लागेको छ । चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताइएको छ । विद्यालयमा पुुगेपछि बिरामी विद्यार्थीको उपचार र नमूना सङ्कलनसँगै गरिने भएको छ। यसको जानकारी विश्व स्वास्थ्य सङ्गठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई गराइसकिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ ।
पोखरा: पोखरा महानगरपालिका १४ स्थित सेती दोभानमा एक युवकको शव फेला परेको छ । सेती नदी किनारमा आज बिहान करिब ११ बजे सडेगलेको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५/२६ वर्षको उक्त शवको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक किरण रावत नेतृत्व टोलीले मुचुल्का गरि उक्त शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।
काठमाण्डौँ : अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभयो । “नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उहाँले भन्नुभयो । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिनुभएको थियो । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ । सन् १९६९ मा १६।९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व बैंकसँग हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो । “विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ”, मन्त्री शर्माले भन्नुभयो । सो अवसरमा आर्थिक वर्ष २०७९र८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उहाँले जानकारी गराउनुभएको थियो । “मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुका रुपमा उल्लेख गरेको छु”, उहाँले भन्नुभयो । सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुसी लागेको बताउनुभयो । उहाँले नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराउनुभएको थियो ।
चितवन : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन । निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो । कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भन्नुभयो, “तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।” यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । उहाँका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।
म्याग्दी : म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाडीमा परिणत हुँदै गएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा ग्रामीण विपन्न वर्ग समस्यामा पर्दै गएका छन् । उनीहरूलाई साँझ, बिहान हातमुख जोड्न पनि मुस्किल हुँदै गएको छ । सुविधा भोगी प्रवृत्ति, बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझिएको हो । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएको भए पनि जिल्लाका युवा भने पाए युरोप–अमेरिका नपाए खाडी मुलुक भए पनि जान बाध्य छन् । चुनावका समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले भू–उपयोग नीतिलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य हुनु परेको छ । युवा विदेशिने र सहर पलाएन हुनेक्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा, जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ । स्थानीय तहको निर्वाचनका लागि सहरबाट गाउँ आएका युवा केही दिनका पाहुना जस्तै मात्र भएका छन् । दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवा विहीन हुने गरेको बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय टेकबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गा, जमिन बाँझै छाड्न बाँध्य छौँ ।” यहाँका बासिन्दाले आफ्नै जग्गा, जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन् । सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका–५ का हेमबहादुर किसानले बताउनुभयो । अहिले यहाँ भएका युवा पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाझिँदै जान थालेपछि अन्न उत्पादन पनि घट्दै गएको छ । शिक्षित वर्ग र पुँजी भएका सहर झरेका छन् भने रोजगारका लागि विदेशिएका परिवार पनि सुविधा खोज्दै सहरमा बसाईं गर्न थालेपछि गाउँका घरमा बुढाबूढी मात्रै देखिन्छन् । वर्षांैदेखि भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिएको र घरहरु जीर्ण हुँदै गएका छन् । भूकम्पले भत्काएको घरको पुनःनिर्माण नगरी सहर बजारमा डेरामा बस्न थालेका छन् । एकातिर कामदारको अभाव छ भने अर्कोतर्फ खेतीयोग्य जमिनलाई पल्टिङ गर्नेक्रम उत्तकै बढेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको मारमा परेका छन् । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्यवृद्धि हुने गरेको व्यापारीको भनाइ छ । “खेतबारीमा वनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चालम र खाद्यान्न किनेर खाने गरेका छन्”, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिनेक्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायत ठाउँमा पनि जमिन बाँझै छ । धान उत्पादन हुने सिंगा, बगरफाँट, डाँडाखेतलगायत ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् । यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहले किसानलाई प्रोत्साहनका लागि खाद्यान्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बीमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन । भूकम्पपछि गाउँबाट सहर झर्नेक्रम बढेसँगै खेतीयोग्य जमिनलाई घडेरीका रुपमा बेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुनेक्रम उत्तिकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

