कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८:३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो । दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ ।   सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ ।   उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भन्नुभयो, “अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरुप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।   प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरुप दिने जनाएको छ ।   उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जङ्गलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताउनुभएको छ ।   भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पूराना यातायातका साधन र चालकको लापर्बाहीका कारण हुने दुर्घटनाका कारण हरेक बर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।

नेपालगञ्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने, एकजना गम्भीर घाइते भएका छन् ।   नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ नं र ज ३ प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो ।   उहाँका अनुसार उक्त दुर्घटनामा नेपालगञ्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते हुनुभएको छ ।   घाइते शेखको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ प्रेषण गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगञ्ज लगिएकामा चिकित्सकले कसौधनलाई गए राति नै मृत घोषणा गरेका थिए ।   लखनऊ प्रेषण गरिएका गम्भीर घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकाले प्रमुख पन्तले बताउनुभयो ।

 प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् ।   यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाईटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।   आज भाईटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।   दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।   दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।   भाईटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि भने समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो ।   राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यताअनुसार बिहान ११:३७ बजे नै टीका लगाएको जनाइएको छ ।   आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् ।   तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।   टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाईले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहीआएको छ ।   दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो ।   बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो ।   उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।   नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो ।   यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।   प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।   दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।   भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।   यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।   आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।   तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो ।   टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

काठमाडौँ:    कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।   स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।   गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।   नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।   वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ ।   पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।   आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

काठमाडौँ:   यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो ।    “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उहाँले भन्नुभयो, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।”   अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।   कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।   साता दिनपछि चिसो बढ्ने सम्भावना   अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ ।   जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताउनुभएको छ । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उहाँले भन्नुभयो, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।”   शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।   चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।  

बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ । मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलो विनाशकारी क्षति पु¥याएको छ । सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्कालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेको छ । छिमेकी काष्टिला–ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन् ।   ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी गर्दै छन् । सरकारी अधिकारीहरूका अनुसार अझै धेरै व्यक्तिहरू बेपत्ता छन् ।   सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको छ । बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्रहरू खानेपानी, खाद्यान्न र बिजुलीबाट वञ्चित छन् ।   धेरै सडक र रेल मार्गहरू अझै पनि अवरुद्ध हुँदा मृत्यु सङ्ख्या बढ्ने डर छ ।   चिभा शहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भन्नुभयो, “औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ । धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ ।”   राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया शहर पश्चिमतर्फको चिभा शहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिमी वर्षा भयो । यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ ।

भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।   पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा   भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुुभयो ।   त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तीका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुुभयो ।   विजयीलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।   सो अवसरमा नेपाली मौलिक कला सहित्य सङ्गीत र अभिनयका क्षेत्रमा कृयाशिल गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यका क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, पुजा भण्डारीलाई अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा र कलाकार सुरेश मल्ल ठकुुरी (टुुकी) लाई गायन तथा सङ्गीतका क्षेत्रमा योगदान पुुर्‍याएको भन्दै सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको थियो ।