पोखरा:    सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।  फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोह...

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् ।   कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन ।   सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए ।   घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ ।

सुर्खेत। ‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्...’   चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दसैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशैँ ।   अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दसैँ घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो । अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दसैँ घर फर्किने चाडका रुपमा स्थापित भयो । दसैँ नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् ।   मुगलानबाट लाहुरे दसैँमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ ।   दसैँ गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दसैलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दसैँमा घर फर्किन्छन् । रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दसैँमा गाउँघर भरिभराउ हुन्छन् ।   यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दसैँ स्थापित भएको छ । यस वर्षको दसैँ सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दसैँको रौनकता पनि सुरु भइसकेको छ । हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दसैँमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर, श्रमिक दसैँमा घर फर्किन्छन् नै ।   असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दसँैलाई नेपालीको प्रमुख चाड पनि हो । नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दसैँराष्ट्रिय चाडकैरुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ ।   यसैले पनि दसैमा गाउँ फर्किने सङ्ख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दसैँमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन । जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भन्नुभयो, “मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दसैँको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दसैको बेला रौनक छाउँछ ।”   मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफू दसैँ मान्नकै लागि भारतबाट फर्किएको बताउनुभयो । उहाँलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उहाँको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उहाँ मात्रै गाउँ फर्किनुभएको छ ।   बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दसैँ मान्न एक्लै घर फर्किएको बताउँदै उहाँले बताउनुभयो, “वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।”   कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउनुहुन्छ । उहाँले दसैलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भन्नुभयो, “अर्को वर्ष दशैमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दसैमा घर फर्किनैपर्छ ।”   रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेसिएकाहरू एकैपटक दसैमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् ।   उनीहरू दशैँ, तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दसैँ मान्न छर फर्किरहेका छन् ।   परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । दसैँमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दसैँमनाएर भारत फर्किहाल्ने बताउनुहुन्छ । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किनुभयो ।   उहाँले गाउँकै चार जना साथीहरू दसैँ मनाउन भारतबाट आएको बताउनुभयो । “दसैँ मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।” दशैँ तिहार नजिकिएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ ।   परदेशिएका गाउँका युवासँगै पढाइ तथा रोजगारीको लागि घर बाहिर रहेका पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताउनुभयो । घर बाहिर रहेका गाउँघरमा फर्किएसँगै स्थानीय बजारमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताउनुभयो ।   दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत जानुभएको थियो ।   उहाँ पनि अहिले गाउँ फर्किनुभएको छ । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उहाँ भारत जानुभएको थियो । “यसपाली खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए”, खत्रीले भन्नुभयो । रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दसैँ मान्न घर फर्किनुभएको छ । परदेश गएका मात्रै होइन दसैका लागि तराईबाट पहाड आउने उक्लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ ।   अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् । रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उहाँले बताउनुभयो । दसैका लागि घर फर्कनेहरु लर्को लागेको बताउनुहुन्छ, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा । “अहिले अग्रिम टिकट काट्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।    

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।   डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका–४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् ।   जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।   सो घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको धुलिखेल अस्पताल धुलिखेलमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।   घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँको लागि खसीबोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताउनुभयो ।

पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् ।   कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ ।   ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको छ । सो समूहले रु तीन करोड लगानीबाट सुरु गरेको फार्ममा हाल रु सात करोड बढी लगानी पुगेको छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर कृषि कर्मबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने लक्ष्य लिएको फार्मका सञ्चालक झलक सुवेदीले बताउनुभयो ।   फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज राजधानीसम्म ढुवानी हुने गरेको छ ।   करिब सात वर्ष विदेशमा कृषि क्षेत्रमा गरेको कामको अनुभवलाई थोरै लगानीमै स्वदेशमै केही गरेर जीविकोपार्जन र आम्दानी गर्ने उद्देश्यले सामूहिक रुपमा कृषि कर्ममा अग्रसर भएको अर्का सञ्चालक रमा श्रेष्ठको भनाइ छ । बहुउद्देश्यीय रुपमा सञ्चालित फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा छ ।   अहिले ३५ जनाले फार्म भित्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा स्थानीय शुक्रराज र विमला विश्वकर्माको दम्पत्ति पनि खुसी हुनुहुन्छ । उहाँहरुले आफ्नै ठाउँमा काम गर्न पाउँदा सन्तुष्ट रहेको बताउनुभयो ।

मलेखु ।   नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैँ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन ।   यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै सामान महँगो भएको छ, अर्काेतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा दुई कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले पाँच किलो मात्रै किन्छन् । यो सबै सबै सामान महँगिएको र पैसा नभएकै कारण हो।'   बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दसैँ आर्थिक सङ्कटले झेलिएको छ ।   कोरोना भाइरस महामारीपछिको पहिलो दसैँ उपभोक्तालाई निकै महँगो पर्नेभएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा परेका छन् । चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्ग्राको मूल्य बढेकाले दसैँ महङ्गिएको छ ।   अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको सदरमुकाम धादिङवेसीका पुराना व्यवसायी अशोककुमार श्रेष्ठले बताउनुभयो । सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्‍याउन  सकिरहेका छैनन् ।   उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ । “अधिकांश खाद्यान्नको मूल्य वृद्धि कायमै छ । दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, मैदालगायत खाद्यान्नको मूल्य बढेको छ”, श्रेष्ठले भन्नुभयो, “खाद्यान्नको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको चपेटामा परेका छन् । दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ । आलु, गोलभेडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ ।   “बच्चालाई नयाँ कपडा किनिदिनै पर्‍यो, पहिलाका दसैँमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन”, बालबच्चालाई कपडा किन्न लाग्नुभएकी सीता तामाङले भन्नुभयो ।   चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला भइसकेको धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले बताउनुभयो । 

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्रको शुभारम्भ भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा शुक्रबारदेखि लाइबे्ररीको शुभारम्भ भएको हो ।    इ–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले शुभारम्भ गरे ।   थापाले इ–लाइब्रेरीबाट पत्रकारलाई अध्ययन गरेर समाचार लेख्न सहज हुने बताए । ‘पत्रकारलाई अध्ययन गरेर लेख्ने बानीको विकास र रिखापन ल्याउनेछ,’ उनले भने, ‘डिजिटल प्रविधिको विकास गराउनको लागि लाइब्रेरी लगायत अन्य काममा प्रदेश सरकार सधै साथमा रहनेछ ।’ उहाँका अनुसार ई–लाइबे्ररीको लागि २५ लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन भएको छ ।    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारलाई लाइब्रेरीको महत्व अति नै हुने गरेको बताए । ‘पत्रकार पुस्तक पढ्नै पर्छ । पुस्तक पढ्ने बानीको विकास ग¥यौ भने लेख्न सहज हुन्छ,’ उनले भने, ‘सबैको मेहनतले आज पुस्तकालय राख्न सफल भयौं । अब यसलाई सदुपयोग गरौं ।’ नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले लामो समयदेखिको सपना बल्ल पूरा भएको बताए । ‘म अध्यक्ष हुँदा खेरी सुरु भएको पहल यो कार्यसमितिले मूर्त रुप दिएको छ । यसको सदुपयोग गरौं, ’ उनले भने ।   पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुराना तथ्यांकहरु पाइने हुँदा समाचारको मुख्य स्रोत पुस्तकालय रहेको बताए ।   महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाइ बजारमा बिकेका र रुचाइएका पुस्तकहरु समावेश गर्नुपर्ने सुझाव दिए ।   महासंघका सल्लाहकार केशवशरण लामिछानेले पत्रकारलाई चाहिने पुस्तक सबै समावेश गर्न नसकिएको बताए ।   उनका अनुसार इ–लाइब्रेरीमा ७ सय थरीका पुस्तकहरु छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

पोखरा:   मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।   कोशिश राष्ट्रिय मानिसक स्वास्थ्य स्वाबलम्वन संगठनको आयोजना, सिबिएमको सहयोग र पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।   पोखरामा भएको एक दिने कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले संस्थाको परिचय दिँदै संस्थाले गरेका गतिबिधिका बारेमा जानकारी गराए । उनले बहुपक्षीय सहयोग र सहकार्यमा मात्र आत्महत्याको जोखिम घटाउन सकिने उल्लेख गरे ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सेनलाले आत्महत्याको बर्तमान अवस्था, चुनौती र रोकथामका उपायहरुका बारेमा प्रस्तुतिकरण राखे । उनले आत्महत्या पूर्व देखिने संकेत र रोकथामको बारेमा जानकारी गराए । गण्डकी मेडिकल कलेजका मनोचिकित्सक रबिराज तिमिल्सेनाले मानसिक स्वास्थ्य, सरकारी निति सम्बन्धी प्रस्तुुतिकरण प्रस्तुत गरे ।   पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र सुनारले महानगरले  आत्महत्या रोकथाममा गरेका गतिबिधिहरुको बारेमा जनाकारी दिए । उनले मानसिक स्वास्थयको क्षेत्रमा बजेट कम भएको गुनासो गरे ।     कार्यक्रममा वडा नं. २२ का वडा अध्यक्ष हिमलाल पराजुली, मानोविद् बिनय पाण्डे, पैरवी अधिकृत बसन्ती खत्री, मनोबिर्मश कर्ता नबिना शर्मा लगाएतले मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामको बिषयमा बोलेका थिए ।  कार्यक्रममा पोखरा महानगरपालिकाका ४० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।      

सल्यान: सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।   उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।   ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी जिपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।   रा १ ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङतर्फ जाँदै गर्दा मङ्गलबार बिहान २ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियो ।   सो दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन् । उनीहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँ नजिकै पुग्दा दुर्घटनामा परेका हुन् ।   दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन् ।   कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काकाका छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन् । त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।   चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच दसैँको सबैतिर रौनक सुरु भएको बेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ । एकै गाउँका नौ जनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ ।

पोखरा:   स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो तलव भत्ता वापतको आंशिक रकम एक विद्यालयललाई सहयोग गरेका छन् ।    क्षेत्रीले एक कार्यक्रमकाविच स्याङ्जाको फेदीखोला १ स्थित पर्सेभाटीमा अवस्थित शिवालय आधारभुत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली, निमित्त प्रध्यानाध्यापक शान्तदेवी न्यौपानेलाई रकम हस्तान्त्रण गरे ।    स्थानिय निर्वाचन ताका आफू निर्वाचित भएपछि प्राप्त हुने सेवा सुविधाको रकमबाट विद्यालयमा निजी स्रोतका एक जना शिक्षकको तलव भत्ता बराबरको एक लाख ४ हजार विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका थिए । उनले विद्यालयलाई बाँकी रकम क्रमश उपलब्ध गराउँदै जानेपनि सो क्रममा प्रतिवद्धता व्यक्त गरे ।    कक्षा ८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा शिक्षक कर्मचारी १४ जना रहेका छन् ।   जसमा ४ जना शिक्षक, बाल शिक्षिका  र  एक जना कार्यालय सहयोगी सरकारी दरबन्दीका हुन भने बाँकी ९ जना निजी स्रोतबाट तलबभक्ताको व्यवस्थापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनले भने, ‘हामीले निकैनै कठिन हिसावले विद्यालय सञ्चालन गरिरहेका छौैं । निजी स्रोतबाट शिक्षक र बस ड्राइभर गरि ९ जनालाई चन्दा उठाएर तलब खुवाएका छौं । जसमा केही सहयोग गाउँपालिका र वडा कार्यालयले गरेका छन् ।’    १९४ जना अध्ययनरत विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा ९ र १० सम्म कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।