पोखरा:    सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।  फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोह...

  काठमाडौं । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।  शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।

  महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना (कोभिड–१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।   श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ । मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै  बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन् ।

  गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो ।  नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत हुनुभएको थियो ।    वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत हुनुहुन्थ्यो ।

  ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

  कैलाली । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताउनुभयो । उहाँले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताउनुभयो ।  “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।” मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधाभोगी बन्न थालेका उहाँको भनाइ छ ।  टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनी मात्र आर्थिक विकास सम्भव भएको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताउनुभयो ।  “यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्”, उहाँ भन्नुहुन्छ, “वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।” वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारीले विकास एकीकृत पाटोबाट सँगसँगै जानुपर्ने तर यहाँ फरक–फरक तरिकाले पटक–पटक संरचना बन्दा पनि स्थानीय सरकार हेरेर बस्ने गरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिका बलियो हुनुका साथै विकासका कार्यमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो ।  “एउटै सडक पटक–पटक खनिन्छ, कहिले खानेपानी, कहिले टेलिकम, कहिले विद्युत्, कहिले कसैले, यसरी पटक–पटक किन बनाउनु ?”, भण्डारी भन्नुहुन्छ, “स्थानीय सरकारले एक खालको मापदण्ड बनाएर सबै संरचना एकैसाथ बनाएको भए विकास दिगो हुन्थ्यो । नागरिकलाई पनि कम सास्ती हुन्थ्यो ।” उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका संयोजक एकिन्द्र तिमिल्सिनाले टीकापुरमा भएको विकासजति यहाँकै स्रोतबाट बनेकाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले यहाँ तीन थरिका मानिस रहेका उल्लेख गर्दै गर्न चाहनेलाई सहयोग नभएको बताउनुभयो । “यहाँ बनेका क्याम्पस, विद्यालय, अस्पतालजस्ता संरचना यहाँकै जमिन बेचेर बनेका हुन् । अन्य सहयोग र लगानी भित्रिएको छैन, त्यो हिसाबले सन्तोषजनक छ”, उहाँ भन्नुहुन्छ, “यहाँ गर्न चाहनेसँग आर्थिक श्रोत छैन, भएकाहरूलाई पुगेकाले गर्ने इच्छाशक्ति छैन, यसले समस्या भइरहेको छ ।” महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोभा शर्मा ज्ञवालीले आफूहरूले सहकारीमार्फत शुद्ध तोरीको तेल पेल्ने मेसिनसमेत सञ्चालनमा ल्याएको बताउनुभयो । “हामीले आफ्नै लगानीबाट उद्योग स्थापना गरेका छौँ, यसरी काम गरिरहेका हामीलाई सरकारले अनुदान, सहयोगजस्ता कार्यमा सघाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानी गरिए हामी रोजगारीको वातावरण सिर्जना गर्न तयार छौँ ।”

  तनहुँ । चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला ।  चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । “जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,” श्रेष्ठले भन्नुभयो ।  मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । व्यास नगरपालिका–३ शान्तिनगरका सौगातराज खनियाँले बिहान मानुङकोटबाट देखिने दृश्य अत्यन्तै लोभलाग्दो रहेको बताउनुभयो । “डाँडामा बसेर दमौली बजार ढाकेको कुहिरो हेर्दा आनन्द आउँछ, यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो छ”, उहाँले भन्नुभयो । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेकापनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा विसं २०५२ सालमा मानुङकोट छाड्नुभएकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उहाँले बताउनुभयो ।  मानुङकोट जाने सडक कालोपत्र भएको छ । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ ।

  काठमाडौं । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।  जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८÷७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक लागत अनुमान परिवर्तन गरी दुई कोठे भवन निर्माण थालियो । गत आवको बजेटबाट दुई कोठे भवन निर्माणका लागि जग निर्माण र छत ढलानको कार्य पनि सम्पन्न भयो । तर भवनमा पर्खाल लगाउने, झ्यालढोका राख्ने, रङरोगन गर्न बजेट पर्याप्त थिएन । “विद्यालयको कोषमा रहेको रु ६० हजार रकमसमेत निकासा गरी हालसम्मको निर्माण कार्य गरियो”, विद्यालयका प्रधानाध्यापक चित्रकला घिमिरेले भन्नुभयो, “तर यस वर्ष बजेट नछुट्टिँदा हामी समस्यामा परेका छौँ ।” प्राविधिक लागत अनुमानअनुसार जग निर्माण र छत ढलानको कार्य उक्त बजेटले सम्पन्न हुनुपर्ने थियो । तर विद्यालयसम्म मोटर बाटो आई नपुगेकाले निर्माण सामग्री मानिसले बोकेर ढुवानी गर्नुपर्ने भएपछि लागत बढ्यो ।  “रड, सिमेन्ट र बालुवाको करिब रु तीन लाख ऋण छ”, प्रअ घिमिरेले भन्नुभयो, “एकातिर भवन निर्माण अलपत्र छ, अर्कातिर ऋण लागेको छ ।” यस विषयमा फिदिम नगरपालिकामा निवेदन दिइनुका साथै जनप्रतिनिधिलाई पटकपटक आग्रह गरेको र प्रधानाध्यापकको बैठकमा आफूले कुरा राख्दै आएको भए पनि बजेटको प्रबन्ध नहुँदा समस्या भएको घिमिरेले बताउनुभयो ।  नगरपालिकाबाट सुरुआत भएको योजना भएकाले नगरबाटै सम्पन्न हुनुपर्ने आफूहरुले बुझे पनि भवन निर्माणलाई पूर्णता दिन बजेट नछुट्टिँदा समस्या भएको फिदिम–११ का वडाध्यक्ष राजेन्द्रकुमार थापाले वताउनुभयो । “नगरप्रमुख, उपप्रमुखलाई यहाँ आएर समस्या हेरिदिनुस् भनेर आग्रह गरे पनि उहाँहरु आउनुभएको छैन”, थापाले भन्नुभयो, “वडासँग भवन निर्माण पूरा गर्ने बजेट छैन् ।” भवन निर्माणको योजना अलपत्र हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको उहाँको भनाइ छ ।  कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा अहिले ३५ जना विद्यार्थी छन् । एक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र दुई शिक्षक रहेको विद्यालयसँग अहिले तीन कोठे भवन छ । उक्त भवनमा कार्यालयसहित पाँच वटा कक्षा सञ्चालन गर्नुपर्दा शिक्षण सिकाइ प्रभावित भएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।  विद्यालयले एउटा कोठामा कार्यालय, पूर्वप्राथमिक कक्षा र कक्षा १, दोस्रो कोठामा कक्षा २ र ३ तथा तेस्रो कोठामा कक्षा ४ र ५ सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । “एकातिर पर्याप्त शिक्षक छैनौँ, अर्कातिर भौतिक संरचनाको अभाव छ”, प्रअ घिमिरेले भन्नुभयो, “नयाँ भवन पूरा गर्न पाए केही सहज हुने थियो ।”

भोजपुर । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आर्कषित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ ।    एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुङ्गिन, वडा  नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यवसायिक खेती गरिरहेका छन् । केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । नागीका नविन राईले एक सय ५० भन्दाबढी बिरुवा लगाएर यसको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताउनुभयो ।  आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमै खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको राईले जानकारी दिनुभयो । किवी प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा स्थानीय बजारमा बिक्री गर्दै आएको राईको भनाइ छ । नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हँुदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ । ‘‘मैले खेती गर्न थालेपछि अन्य साथीको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहुँच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरणसमेतमा थप सहजता हुने आशा बढेको छ’’, कृषक राईले भन्नुभयो । त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीयबासी एकराज विष्टले पनि किवीको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षबाट किवी खेतीको विस्तार थालेको बताउनुभयो । विष्टले भन्नुभयो, ‘‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनको लागि तीनदेखी चार वर्षसम्म लाग्छ । तर अन्यबालीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किवीको खेतीमा लागेको हुँ ।’’ किवी खेतीबाट सोचेजस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विषेश ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पहिलो पटक खेती विस्तार गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उहाँले बताउनुभयो । कृषक विष्टले भन्नुभयो, ‘‘खास गरेर किवीको विरुवा हिउँद महिना अर्थात पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । विरुवा विस्तार गर्नुपूर्व तीनदेखी चार फिट गहिराई र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुवाएर लगाएमा राम्रो फस्टाउँछ ।’’ उत्पादित किवीको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानको भनाइ छ । ‘‘किवी किसानको आर्थिक अवस्था  सुधारमा टेवा पु¥याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरुपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने  बिक्री वितरण गर्न खासै समस्या छैन,’’ किसान विष्टले भन्नुभयो । स्थानीय कृषक रत्न बहादुर विष्टले भन्नुभयो, ‘‘किवीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि एक सय ५० किलोसम्म फलाउन सकिन्छ । यसबाट वर्षमा चारदेखि पाँच लाख रुपैँयासम्म कमाउन सकिने युवा बताउँछन् । किवी एक हजार पाँचसय मिटरदेखी दुई हजार चारसय मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । 

  म्याग्दी । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताउनुभयो ।  “अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्”, उहाँले भन्नुभयो, “यसपालीको दसैँ तिहारमा हाम्रो समूहले रु सात लाख बराबरको झिनीया बिक्री गरेका छौँ ।” गौरासहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिकरुपमा झिनीया उत्पादन गर्नुहुन्छ । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताउनुभयो ।  “झिनीया आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।” बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौँ र बागलुङमा झिनीया बिक्री हुने गरेको छ । पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरुपमा झिनीया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताउनुभयो ।  उहाँले हाल रु ७० हजारमा झिनिया बनाउने विद्युत्बाट चल्ने आधुनिक मेसिन खरिद गर्नुभएको छ । तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको रु एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले बताउनुभयो । चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन ९प्रति १२ गोटा० झिनियाँलाई आकारअनुसार रु १३० देखि २०० सम्ममा बिक्री हुन्छ ।  बेनी नगरपालिका–७ मङ्गलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताउनुभयो । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या पचास जनाभन्दा धेरै छ । घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताउनुभयो ।  हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ ।