पोखराः एघारौं पोखरा महोत्सव स्थलमा महिला दिदीबहिनीहरुलाई लक्षित गरी स्वरोजगार तालिम शुरु भएको छ । सीप सिकि उद्यमशील बनौ, आय आर्जनका क्रियाकलापमा संलग्न भई आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा स्वरोजगार तालिमको आयोजना गरिएको हो । विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको स्वरोजगार तालिमको पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष राजेश गुरुङले तालिममा सहभागी महिला दिदीबहिनीहरुले तालिममा सहभागी भएका दिदी बहिनीहरुले तालिममा सिकेका कुरालाई आफ्नो टोल छिमेक, समाजमा गई त्यहां आवद्ध दिदीबहिनीहरुलाई समेत सिकाएर स्वरोजगार बनाउनतर्फ लाग्नुुपर्नेमा जोड दिए । त्यसैगरी युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन संगै सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माण तर्फ लागि रहदा सेती नदीको खोंचमा निर्माण हुने साहसिक पर्यटकीय गन्तब्य निर्माण गर्ने काममा वडाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै प्राविधीक शिक्षा तथा ब्यवशायीक तालिम परिषद गण्डकी प्रदेशका निमित्त निर्देशक तिल बहादुर रानाभाटले आफुहरुले विभिन्न संघ संस्था तथा वडाहरु संग सहकार्य गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार तालिमहरु प्रदान गर्दै आइरहेको र पोखरा महोत्सवमा जारी स्वरोजगार तालिममा पर्याप्त समय नभएपनि स्वरोजगार बन्न चाहनेहरुलाई लक्षित गरी तालिमलाई निरन्तरता दिने बताए । युनाईटेड क्लबका अध्यक्ष तथा एघारौं पोखरा महोत्सव मुलआयोजक समारोहका संयोजक राजु श्रेष्ठले महोत्सवको माध्यमबाट महिला दिदीबहिनीहरुलाई हस्तकला तालिम प्रदान गरी स्वरोजगार बनाउन तर्फ आफुहरु लागिपरेको बताए । महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रन्जितले स्वागत मन्तब्य राखेकी थिइन । आजबाट शुरु भएको तालिममा २० जना दिदीबहिनीहरु सहभागी रहेका छन । तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका हस्तकलाका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिनेछ ।
दमौली: तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उहाँले बताउनुभयो । यो सेवाअन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका–१ सालबिस्नेमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुआत गरिएको छ । वडाध्यक्ष कान्छीमाया तामाङले भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्याउनका लागि निःशुल्करुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुआत भएको र हरेक महिना सञ्चालन हुने जानकारी दिनुभयो । हालसम्म २३ जना गर्भवतीले उक्त सेवा लिएका छन् ।
पोखराः पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोगमा पोखरा १ मा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा १ को आयोजनामा कार्यक्रममा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको एक्यबद्धता जनाउनका लागि उक्त कार्यक्रमको आयोजना पोखरा १ का वडा सदस्य शोभा गुरुङले जानकारी दिए । ‘समाजमा महिला र पुरुष समान रहेको भन्दै एकले अर्काको भावना बुझेर अघि बढेमा हिंसा रोक्न सकिन्छ ,गुरुङले भनिन्, ‘लैंगिक हिंसाको अन्त्यका लागि महिला र पुरुषको एक्यवद्धता हुन अत्यावश्यक छ ।’ जुक माया परियारको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष साहारा प्रधान, निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा अधिवक्ता जुना गुरूङ र प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए । हरिचोक आमा समुहकी निर्मला सुवेदी, मोहोेरिया सिंहनाथ टोल विकास संस्थाका गणेश श्रेष्ठ , नेपाल रेडक्रस उपशाखा बगर सभापति जीवन अधिकारी,निवर्तमान वडासदस्य रुद्रप्रसाद सुवेदी लगायतले आफ्नो भनाइ राखेको थिए ।
गलकोट: जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यमिक विद्यालयको जग्गामा छ । परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आउनुभएका गम्भीरसहित नौ जनाको पेसा सङ्कटमा परेको हो । पहिला १५ देखि २० मजदुरले काम गर्ने ढुङ्गाखानीमा कोरोना महामारीपछि घटेर नौ जनामा सीमित भएका छन् । “पन्ध्र वर्षको उमेरदेखि ढुङ्गाखानीमा काम गर्न थालेको हुँ, त्यसबेला रु ११ मा एक हात बिक्री हुने ढुङ्गा अहिले रु एक सय ३५ मा बिक्री भइरहेको छ, परिवारको लालनपालन र छोराछोरीको शिक्षादीक्षा यही ढुङ्गाखानीबाट गरियो”, विश्वकर्माले भन्नुभयो, “अहिले ढुङ्गासमेत त्यति राम्रो निस्किँदैन, निस्केका ढुङ्गा पनि बिक्री गर्न समस्या छ, अहिले जताततै जस्ताले छाएका र आरसिसी घर निर्माण हुन थालेपछि ढुङ्गाखानी सङ्कटमा परेको छ ।” हाते औजारको सहायताले ढुङ्गा निकाल्दै आएका मजदुरले पछिल्लो समय दिनभरि काम गर्दासमेत हात–मुख जोर्न समस्या हुन थालेको बताएका छन् । “सुरुबाटै यही काम गरियो, अरू काम गर्न सिकिएन, अहिले ढुङ्गा निस्कन मुस्किल छ, खानीभित्रभित्रै पसेको छ भने व्यापार घटेर गएको छ, निकालेको ढुङ्गा कहिले बिक्री हुन्छ थाहै हुन्न”, अर्का ढुङ्गाखानीमा काम गर्दै आएका मजदुर हिमबहादुर श्रीसले भन्नुभयो । “अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुङ्गा निकाल्दा छाप्ने, आधुनिक घरमा टास्ने गर्दा राम्रै बजार पाएका सुनेका छौँ, यहाँ त्यस्तो छैन, हातले मिलाएको ढुङ्गा घर छाउनबाहेक अन्त काम लाग्दैन, घर अहिले जस्ताले छाउन थाले, आरसिसी भवन बनाउन थाले, अब ढुङ्गाखानीमा काम गरेर पेट पाल्न सकस छ”, उहाँले भन्नुभयो । पहिला यही ढुङ्गाखानीबाट परिवार लालनपालन र शिक्षादीक्षा गर्दै आएका मजदुर ढुङ्गाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी छ । ढुङ्गाखानीमा काम गर्ने बुढापाका बितेर गए भने युवा विदेश पलायन हुँदा ढुङ्गाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुङ्गा व्यापारी मनिकर्ण क्षेत्रीले दुःखेसो गर्नुभयो । क्षेत्रीले ४५ वर्षदेखि मजदुरले निकालेको ढुङ्गा विभिन्न स्थानमा पु¥याएर बिक्री गर्ने काम गर्नुहुन्थ्यो । तर अहिले घर छाउने ढुङ्गाको महत्त्व घट्दै गएपछि यहाँको ढुङ्गाखानी समस्या परेको उहाँको भनाइ छ । उहाँले आधुनिक ढुङ्गाको चलन कायमै रहे पनि हाते औजारको प्रयोगबाट निस्किएका ढुङ्गा घर छाउनमात्रै काम लाग्ने भएकाले समस्या भएको बताउनुभयो । “पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो, यहाँको घर छाउने ढुङ्गा जैमिनी, बरेङ, गुल्मीलगायतका स्थानसम्म पुग्दथ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थाले, जस्तापाता र ढलान गरेर घर बनाउँदा ढुङ्गा बिक्री हुनै छाड्यो”, क्षेत्रीले भन्नुभयो, “ढुङ्गाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टाँस्ने ढुङ्गा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुङ्गाखानी भिरालो जग्गामा छ, विद्युत् पु¥याउन समस्या छ ।” परम्परागत तरिकाले सञ्चालनमा आएको ढुङ्गाखानी दर्ता भएर सञ्चालनमा आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको ढुङ्गाखानीमा काम गर्ने मजदुरले बताएका छन् । उनीहरूले ढुङ्गा निकालेवापतको केही रकम ढुङ्गाखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन् । अहिले ताराखोलाको ढुङ्गा प्राङ्गण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कार्यका लागि होटल, मन्दिर तथा घरधनीबाट अत्यधिक माग आउने गरेको छ ।
पोखरा: गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्ष पछी राज्यले पृथ्वी नारायण शाहमाथी न्याए गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्म जयन्ती मनाएर राम्रो काम गरेको उनले सुनाए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको ३ सय १ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पोखरा १८ को जामुनबोटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गर्दै गुरुङ पृथ्वीको भानाई अहिले पनि अनुशरण गर्नुपर्ने रहेको बताए । “नेपाल दुई ढुङ्गाबिचको तरुल हो’’ “घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । आज भन्दा ३ सय वर्ष अघिको पृथ्वीको दिब्य उपदेश अहिले लागू गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । स्वाभिमान नेपाली र स्वतन्त्र नेपालीको लागि पुष २७ हर्सको दिन हो‘गुरुङले भने,‘ राजा मात्र थिएनन दुर्दशाी मात्र थिएनन देश र जनताको लागि इमान्दार भएर देश र जनताको लागि राष्ट्र निर्माता पनि थिए ।’ ईतिहास भुल्न हुदैन भन्दै पृथ्वीले राष्ट्र निर्माणमा दिएको योगदान संबिधानमा नै समावेश गर्नुपर्ने बताए । विशाल नेपाल बनाउन अभियान गर्नु भयो । यो अभियान कुनैपनि हालतमा बिर्सन हुदैन । डाक्टर दिल बहादुर क्षेत्रीले राष्ट्रिय प्रजान्त्र पार्टीले मात्र नभइ सम्पुर्ण नेपाली जनताले पृथ्वीलाई सम्झनुपर्ने बताए । पृथ्वीलाइ जाती र संस्कार र समुदाय भन्दा माथी राखेर सबैको साझा बनाएर सम्मान गर्नुपर्ने हुन्छ । आजभन्दा लगभग ३०० वर्षअघि २२ से अनि २४ से राज्यहरूका रूपमा नेपाल एउटा विभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, स्वीकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान् राजालाई मानिन्छ । विक्रम संवत् १७७९ पौष २७ मा पिता राजा नर भूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पन्जाबदेखि सिक्किम सम्मका नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उति बेला रहेको थियो । यी राजालाई नेपाल मात्र नभई दक्षिण एसियासम्म एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रूपमा हेरिन्छ । हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झकझक्याउने दिनका रूपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ ।
पोखराको महेन्द्रपुलस्थित ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई प्रकाउ गरेर चोरी मुद्धा चलाइएको भन्दै सुनचाँदी व्यवसायी संघ कास्कीले आपत्ति जनाएको छ । संघका महासचिव तारा गौतमले विज्ञप्ती जारी गर्दै निर्दोष व्यवसायी सुनारलाई फसाउन खोजिएको उल्लेख गरेका छन् । सञ्चालक पसलमा नभएको मौका पारेर बिल नभएको सुन आफूले उपहारमा प्राप्त गरेको भन्दै टिका श्रेष्ठले साटफेर गरिएको विज्ञप्तीमा उल्लेख छ । ‘सञ्चालक नभएको मौका पारेर पसलमा भएका कर्मचारीलाई प्रलोभनमा पारेर चोरी गरेका सुनका गहना पर्वत घर भई पोखरास्थित गणेशटोलमा बस्दै आएकी टिका श्रेष्ठले उपहारमा पाएको भन्दै सुन साटफेर गरिएको छ, निर्दोष व्यवसायीलाई फसाउन खोजिएको छ ।’ महासचिव गौतमले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ । पोखरामा अपराधिक क्रियाकलाप तथा चोरीजनय अपराध न्यूनिकरण गर्न सिसी क्यामरा जडान गर्न भूमिका निर्वाह गर्ने व्यक्ति कसरी चोरीजन्यमा समावेश हुन सक्न विज्ञप्तीम भनिएको छ । सुन चोरीको आरोपमा प्रहरीले टिका श्रेष्ट प्रकाउ परेपछि चोरीको सुन किनेको आरोपमा ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई कास्की प्रहरीले पुस १४ गते प्रकाउ गरेको थियो । सुनार सोमबार तारिखमा रिहा भएको विज्ञप्तीमा उल्लेख छ ।
पोखराः पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । कपडा व्यवसायी एसोसिएसन कास्कीले शनिबार आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पत्रकार थापाले आइतबार आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार ११ हजार एक सय १० रुपियाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका हुन्। मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताए । ‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भन्नुभयो, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवर्द्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’ मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताए । सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताए । कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताए । पत्रकारिताको क्षेत्रमा प्राप्त गरेको कुनै पनि पुरस्कार यसरी सेवामा समर्पित गरेको आफूले अहिलेसम्म थाहा नपाएको बताउँदै उहाँले असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गरे । पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार पनि अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गरेका थिए ।
काठमाडौं: डान्सबारमा केटि मिलाइदिने वाहानामा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ठमेल क्षेत्रमा केटी मिलाउने भन्दै सामाजिक अपराधमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेका हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय नारायण कार्की, नुवाकोट घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोटकै ३१ वर्षीय दिपेश तामाङ, ललितपुर घर भएका २२ वर्षीय कृष्ण तामाङ, सिन्धुली घर भएका २८ वर्षीय अर्जुन कटुवाल र बैतडी घर भएका २५ वर्षीय यज्ञराज जोशी रहेका छन् । पक्राउ परेका उनीहरुले साँझको समयमा डान्सबारमा छिराइदिने, यौनजन्य कार्यको लागि केटि मिलाइदिने भन्दै सर्वसाधरणलाई दुःख दिदै आएका थिए । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहार सम्बन्धि कसुरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त, लैनचोर पठाइएको छ ।
पोखरा: वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा शनिवार लाहाचोकका आमाहरूलाई संयुक्त रूपमा सम्मान गरिएको छ । विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक योगदान दिएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडी, वडाध्यक्ष मधुसूदन अधिकारी, पूर्व वडाध्यक्ष पूर्णबहादुर शाही, लगायतले सम्मान अर्पण गरेका थिए । प्रमुख अतिथि कोइरालाले लाहाचोकका आमा र दिदीबहिनीहरूलाई एकै ठाउँमा सम्मानित गर्न पाउँदा आफूलाई एउटा यज्ञको अनुभूति भएको बताइन् । उनले आमाहरू ज्ञानका सागर भएकाले मञ्चले हरका मूर्तिको पूजा गरेर स्तुत्य कार्य गरेको धारणा राखिन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम नेका वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडाध्यक्ष टेकबहादुर श्रेष्ठ, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसी, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का नेपाल संयोजक विश्वबन्धु थापा, समाजसेवी भगवान शाही, राजेश परियारलगायतले बोल्नु भएको थियो । वक्ताहरूले समाजमा आमा सभ्यता र संस्कृति हराउँदै गएकाले त्यसको संरक्षणमा जोड दिनुपर्ने धारणा राखेका थिए । सम्मानित आमाहरूमध्येबाट बोल्दै हरिप्रभा पौडेलले विदेशमा रहेका छोराछोरीहरूले कहिले लाहाचोकका आमाहरूलाई, कहिले बाबा र कहिले विशिष्ट प्रतिभाहरूलाई सम्मान गरेर आमाबुबाहरूमा थप जागर बढाउन सफल भएको बताइन् । समारोहमा समाजसेवी ज्योति शाही, लाहाचोकमा संगठित रहेका सम्पूर्ण आमा समूहलाई पनि सम्मान गरिएको थियो । साथै समारोहमा अनुशासित समूहका रूपमा उपस्थित हुने आमा समूह, ज्येष्ठ सदस्य र कार्यक्रमलाई सफल पार्न विशेष प्रायोजन गर्ने दातालाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो । मञ्चका सहकोषाध्यक्ष सुशील श्रेष्ठले मञ्चले हालसम्म ३५ लाख बढी रकम संकलन गरी विभिन्न समस्यामा परेका लाहाचोकवासी दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई सहयोग हस्तान्तरण गरेको जानकारी गराए । सोही समारोहबीच क्यान्सर पीडित सञ्जय विकको उपचारका लागि मञ्चद्वारा संकलित एक लाख ४२ हजार र स्थानीय आमा समूह तथा समाजसेवीबाट गरी दुई लाख ५० हजार रकम पीडितका बुबालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष राजु क्षत्री अपुरोको संयोजकत्वमा क्लबका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

