काठमाडौं: प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आज यहाँ पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । ती महिलाले छवटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य रु २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ । उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११ः२५ बजे काठमाडौँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ । “ती महिला पाँचरछपटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भन्नुभयो, “काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उहाँको भनाइ छ । ती महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताउनुभयो ।
चितवन: त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमाण्डमा ११ गोताखोरसहित ७९ जना, नं. १७ गणबाट डिएसपीको कमाण्डमा ११ जना ९चनौली इलाका० र इन्स्पेक्टरको कमाण्डमा २५ जना (सिमलताल इलाका) बेपत्ताको खोजी कार्य गर्नेछन् । यसैगरी, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना र्याफ्टिङ बोटसहित (देवघाट–गोलाघाट) इलाका, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना (देवघाट इलाका) र सप्रसनिको कमाण्डमा नौ जना (पुलचोक नारायणी नदी किनार) इलाकासहित जम्मा एक सय ४९ जना खोजी कार्यको लागि परिचालन भएको छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । यसैगरी, गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुई जनाको परिचय खुल्न बाँकी छ ।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार रु ३० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको हो । लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ । मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आयोजनामा कार्यरत थिए । पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमा बापतको २० लाख रुपैयाँ परिवारको मुद्दति खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । प्रतिपरिवार नगद सात लाख रुपैयाँ र डेढ लाख काजकिरिया खर्चबापत उपलब्ध गराउने छ । मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ । आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्को परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले गर्भवतीलाई पोष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आयोजनाको ‘डिसेन्डर बेसिनको कभर स्ल्याब’ ढलान भत्किँदा उनीहरु यही असार २१ गते थिचिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतले अविरल वर्षाकैबीच उनीहरूको खोजी सुरु गरेको थियो । शनिबार बिहान मात्र उनीहरु मृत अवस्थामा फेला परेका थिए । उक्त दुर्घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको आयोजनाले जनाएको छ ।
काठमाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्। गृह मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए। आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको उनले बताए। आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको दाबी उनको छ। ‘सरुवा, बढुवाका कुराहरु छन्। सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन। विधि मिच्ने काम गरेका छैनौँ, बाँकी रह्यो मेरो कुरा। विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन्। उठ्छ, हिजो पनि उठेका हुन्,’ उनले भने, ‘मैले आजसम्म यहाँहरु सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन। तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस्। गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन।’ उनले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए। दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको उनले बताए।
चितवन: गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुई जनाको परिचय खुल्न बाँकी छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
पोखरा: लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षारोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा सहिद पार्क, पोखरा १८ जामुनवोटमा सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ एम, जि.एस.टी. को अर्डिनेटर एम जे एफ लायन जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा, ट्री प्लान्टेसन डिपार्टमेन्टको सेक्रेटरी लायन नवराज अधिकारीको अध्यक्षातामा ३६ क्लबहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम डिस्ट्रिक्ट ३२५ एम का डिस्ट्रिक गभर्नर लायन चण्डी प्रसाद अर्यालको प्रमुख आतित्थतामा सम्पन्न भएको हो । कार्यक्रममा २ ट्रक प्राङ्गारिक मल, २० बोरा जुतो र कुखुराको मल बिरुवामा राखी वृक्षारोपण तथा गोडमेल गर्नुको साथै राष्ट्रिय बिभुति तथा शहिद पार्कमा सरसफाई प्रयोजनार्थ झारपात काट्ने कृषि औजार राष्ट्रिय बिभुति तथा सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष श्री भरत बहादुर थापालाइ हस्तान्तरण गरीएको ट्री प्लान्टेसन डिपार्टमेन्टको अफिसर लायन राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । लायन्स क्लबले एभोकार्ड़ो ३० वटा, बेलाउती ३० वटा, धुपी ४० वटा, फूलहरुका विरुवा ३० र अन्य विरुवा २० गरी १५० विरुवा आज सारेको हो भने पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य थप बिरुवा उपलब्ध गराउने भएको हो । कार्यक्रममा फर्स्ट भि. डी. जी.एम जे एफ लायन धनीराम बराल, डिस्ट्रिक क्याविनेट सेक्रेटरी एम जे एफ लायन शिवराज आचार्य, डिस्ट्रिक क्याविनेट ट्रेजरर एम जे एफ लायन शम्भुराज वास्तोला, पि.आर ओ इन चिफ लायन डोलराज पोखरेल, न्यु भ्याईस इनएटिएभिव चिफ लायन पुस्पा आचार्य, को चिफ एडभाइजर लायन दामु अधिकारी, रामचन्द्र पोखरेल, उमानाथ बराल, तारा गिरि, चिफ अफ काउन्सिलर गण्डकी दिनबन्धु पोखरेल, जि।एस।टि। डिस्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, पढाउ अभियान चिफ बिष्णु बराल, रास्ट्रीय बिभुति तथा सहिद पार्क समितिका अध्यक्ष भरत बहादुर थापा, भृकुटी आमा समुह ग्यारजती को अध्यक्ष मनु भण्डारी लगाएत विभागीय प्रमुख, रिजन र जोन चियर पर्सन, क्लवका पदाधिकारीहरुको उलेख्य संख्यामा उपस्थिति रहेको थियो, कार्यक्रममा विभिन्न क्लबहरुको तर्फबाट २७० भन्दा बढी लायन तथा लियो लिडरहरुको उपस्थिति रहेको थियो ्र कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले गरेको थियो, भने कार्यक्रमको संचालन ट्री प्लान्टेसन डिपार्टमेन्ट अफिसर लायन सन्तोष शर्मा तिमिल्सिनाले गर्नु भएको थियो ।
पोखरा: गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका सचिब प्रकाश पौडेल, सदस्य सचिब श्रीधर शर्मालगायतले पुरस्कृत तथा प्रशसापत्रले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले खेलाडीहरुलाई बधाई संगै शुभकामना व्यक्त गर्दै प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको जनाएका छन् । आफ्नो सिमित स्रोतहरुको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले भने–“गण्डकी प्रदेश सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीहरुको जिवन शुनिश्चित गर्न प्रयासरत छ”, उनले थपे–“सरकारले युवावस्थाबाटै उत्प्रेरणा जगाउन धेरै कार्यक्रमहरु अघि सारेको छं, जसको अधिकतम सदुपयोग गर्दै खेलक्षेत्रको विकासमा अघि बढनु छ ।” मुख्यमन्त्री पाण्डेले खेलकुद क्षेत्र बाट अझै पनि जिविकोपार्जन विषयमा प्रश्नहरु यथावत रहेको धारणा अघि सार्दै त्यसतर्फ वातावरण बनाउन समेत प्रदेश सरकार प्रयासरत रहेको बताउँदै गाँउ–गाँउबाट नै यूवा खेलाडी उत्पादन हुने मुल थलो भएकोले त्यसतर्फ पनि आफ्ना योजनाहरु अघि बढाउने उनले बताए । प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाएको जनाउँदै विभिन्न कल्याणकारी योजनामार्फत सरकार सदैव खेलाडीहरु संगै रहेको सन्देश पनि दिन चाहेको उल्लेख गरे । कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले खेलकुदबाट नै भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै तीनतह बीचको सरकार खेलकुद विकासमा अघि बढेको बताए । खेलकुद अनुशासित क्षेत्र समेत भएकोले यसले सौहर्दता बढाउने संगै राष्ट्रको गरिमा समेत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । सरकार खेलाडीहरुको मनोबल बढाउने संगै खेलक्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाको भनाई थियो । सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब प्रकाश पौडेल, परिषदका सदस्य सचिव श्रीधर शर्मालगायतले आफ्ना भनाई राखेका थिए । पुरस्कृत हुने खेलाडीहरु मध्ये व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र काश्य पदक बिजेतालाई क्रमश नगद रु ७, ५ र ३ हजार तथा टिम गेम्सतर्फका लाई क्रमश नगद रु ५, ३ र २ हजारका दरले पुरस्कृत गरिएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.१३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई उपलब्ध गराउनु भएको छ । जनसाङ्ख्यिक विवरण, भौगोलिक अवस्थिति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, मानव संसाधन, भौतिक विकास तथा पूर्वाधार, आर्थिक विकास, वन वातावरण तथा भू संरक्षण, सामाजिक सङ्घसंस्था, धार्मिक अवस्थिति, सांस्कृतिक पहिचान, पर्यटन तथा खेलकुद लगायत समग्र वडाको चिनारीका रूपमा प्रोफाइल तयार गरिएको वडा अध्यक्ष किरण बरालले बताउनुभयो । वडा प्रोफाइलको आधारमा विकास निर्माणका योजनाहरू तय गर्न र वडाको समृद्धिमा थप कदमहरू चाल्न सहयोग पुग्ने उहाँको विश्वास छ । योजनाहरू बनाउन त्यसका लागि तथ्यगत विवरण आवश्यक पर्ने भएकाले वडा प्रोफाइल त्यसको प्रमुख स्रोतका रूपमा रहने उहाँले बताउनुभयो । नगरप्रमुख धनराज आचार्यले वडा नं.१३ ले जस्तै अन्य वडाहरूले पनि यस प्रकारका प्रकाशनहरू गर्न जरुरी रहेको बताउनुभयो । यसले स्वयम वडाको वास्तविकताको उजागर गर्ने भएकाले विकास कार्यक्रमहरूको प्राथामिकीकरणमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाको श्वेत पत्र प्रकाशनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । “अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं ।”, उनले भने । मन्त्री थापाले अपाङगता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उनको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तालिम दिलाई उनीहरुबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उनले उल्लेख गरे । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताए । राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठूलो राहत मिल्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए । पोखरा महानगरपालिका अन्तर्गत नगर संजालका अध्यक्ष गंगा बहादुर खड्काले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्दै यसमा निर्मम भएर लाग्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुलाई व्हीलचियर, मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

