देउखुरी: घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताउनुभयो । उहाँले भन्नुभयो, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।” प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।
काठमाडौँ: नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना घटनास्थल पुगेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कैलाली: कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् । भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए। हसुलिया गौरीगंगा सुखडमा डुबान भएको छ। कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन्। कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीया लोकमाया चौधरीलाई बाढीले बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अहिले पनि कैलालीमा वर्षा भइरहेको छ भने साना ठुला नदीमा पानीको वहाब बढिरहेको छ। स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सकिएका छन् । आजदेखि प्रिक्वाटरफाइनलका खेल जारी रहेको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए । उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा एट टु नाइन टिम ‘बि’ र कमलपोखरीबीच भएको आजको पहिलो खेलमा ४–१ गोलअन्तरले एट टु नाइन टिम ‘बि’ विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेल एट टु नाइन टिम ‘ए’ र भण्डारढिकबीच खेल्नेछ । तेस्रो खेलमा सनराइज र गेमशाला भिड्नेछन् । चौथो खेलमा क्रस एफसी र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । पाँचौ खेलमा मालेपाटन र केआइइसी बुनबीच हुनेछ । छैटौं खेलमा आरटी एफसी र युनाइटेड बगर भिड्नेछन् । सातौ खेल मार्सल र मिलनटोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
मकवानपुर: मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । “मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ”, उहाँले भन्नुभयो । शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
काठमाडौं: फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो । फर्मुला वान र मोटोजिपी जस्र्ता भेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने मोटोभर्स स्पोर्ट्सका अध्यक्ष आशिष रौनियारले जानकारी दिए । तालिम अन्तर्गत मार्सेलिङ टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल्स, ईभेन्ट म्यानेजमेन्ट, र्याली र टुरिङ लगायतका विषयमा प्रशिक्षण दिईनेछ । नेपाल अटोमोबाईल्स एसोसियसन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्ट्ससँग सम्बन्धित ईच्छुक व्यक्तिले मार्सल तालिकमा भाग लिन सक्नेछन् । सहभागिताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ सम्म खुल्ला रहने क्लबले जनाएको छ । नेपाली मोटरसाईक्लिङको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम आयोजना हुन लागेको क्लबले जनाएको छ ।
कैलाली: चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।” गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताउनुभयो । चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।
म्याग्दी: मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उहाँले भन्नुभयो “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौं ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो । विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु आठ लाख विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ ।
बागलुङ (ढोरपाटन): नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्याङ्कन गरी नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो । “अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, जिसस प्रमुख थापाले भन्नुभयो । जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा सङ्कलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना सङ्कलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।” बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार१३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ । आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकरवापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि करवापत रु एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवानावापत रु १२ लाख ५५ हजार आठ सय छ गरी रु १४ लाख ३४ हजार दुई सय ७४ र विष्णु चोखालमार्फत रु एक लाख ८७ हजार नौ सय ४४ दण्ड जरिवाना तिरेको छ । जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुङ्गा सङ्कलनकर्तालाई जरिवाना तिराउन मूल्याङ्कन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।

