पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।   बुधबा...

कैलाली:    घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ  । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ । उत्तरी ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून भई तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने गरेको चराविद् डा हेमसागर बराल बताउनुहुन्छ ।  अत्यधिक चिसोमा अनुकूलन हुन नसक्दा र आहारा कमीका कारण चिसो छल्न नेपाललगायत दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उहाँले बताउनुभयो । “अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारामा नोक्सान हुन्छ । त्यसैले चराहरू नेपाललगायत दक्षिण क्षेत्रमा आउँछन्”, चराविद् बरालले भन्नुभयो, “यस बेला यहाँको मौसम अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले हरेक वर्ष चराहरू आउँछन् ।”  सेप्टेम्बरको अन्तिम सातादेखि आगन्तुक चराहरू आउने गरेको नेपाल पक्षीविद् सङ्घका अध्यक्ष हठन चौधरीले बताउनुभयो । उहाँका अनुसार नेपालमा एक सय ५३ प्रजातिका आगन्तुक चराहरू आउने गर्छन्, यो क्रम डिसेम्बरसम्म चल्छ ।  जसमध्ये धेरैजसो हाँस प्रजातिका हुन्छन् । यहाँ आइपुगेका चरा फेरि अप्रिलमा  आएकै ठाउँतिर फर्किन्छन् ।पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले यो बेला विभिन्न देशबाट हजारौँ किलोमिटर यात्रा पार गरेर ठूलो सङ्ख्यामा आगन्तुक चराहरू आउने गरेको जानकारी दिनुभयो ।  “दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेहटा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन्”, उहाँले भन्नुभयो ।   चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार संसारमा चराका नौवटा उडानमार्ग रहेका छन् । तीमध्ये नेपालमा दुई उडानमार्ग पर्छन् । अधिकांश चराहरू मध्य एसिया उडानमार्ग हुँदै घोडाघोडी पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरी बताउनुहुन्छ । रामसारको प्रावधानअनुसार विश्वका आठमध्ये दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिम कुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको उहाँले बताउनुभयो ।  “विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्वपूर्ण छ”, पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत डगौराले भन्नुभयो ।  यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिका रूपमा छन् । चौधरीका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, राज लाहाचे, राज धनेसलगायत प्रजातिका चराहरू पनि यहाँ बसोबास गर्छन् ।  चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो ।

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् ।  सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उनले भने । मन्त्री थापाले काम गरेर कोहि पनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिएका छन् । सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन मन्त्री थापाको अनुरोध छ । “सीप सिकेर युवाहरु विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनु भएन । सरकारले विदेश पठाउनका लागि सीप सिकाएको होइन । स्वदेशमा नै उद्यमशिल र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्यो।”, उनले भने । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले समाजमा भएको निराशाजनक विषयको अन्त्य सीप सिकेर नै हुने उल्लेख गरे । तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उनको अनुरोध छ । मन्त्रालयले आवश्यकताअनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी उनले गराएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख लक्ष्मी भद्र वाग्लेले प्लम्बिङ्ग, आधारभूत केश श्रृङ्गार, विद्युत जडान, आधारभूत कटाई सिलाई, कपाल काट्ने९सैलुन०, फेसन डिजाइनर, मन्टेश्वरी, मोबाइल मर्मत र आधारभूत कम्युटर गरी ९ वटा विषयवस्तुमा तालिम दिइने जानकारी गराए ।  उनका अनुसार तालिमका लागि प्रदेशभरबाट ४ सय जनाको आवेदन परेको र १ सय ९९ जना छनोट गरिएको छ । स्वरोजगार स्थापना र उद्यमशिलताको विकासका लागि आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा उनी आशावादी छन् । आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक विकास बमोजिम तीन महिने र छोटो अवधिको गरि कुल ३७ वटा कार्यक्रम तय भएको जानकारी उनले गराए । कार्यक्रममा प्रशिक्षकको तर्फबाट कृष्ण प्रसाद थापा र सिता वाग्लेले आफ्नो धारणा राखेका थिए । 

काठमाडौं:   नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु)आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।” उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।   (((

चितवन:    भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् । मत्स्य व्यवसायी सङ्घ चितवनका सचिव लुलाराज तामाङ्का अनुसार अहिले माछापालन गर्ने किसान माछा बिक्री नहुँदा निराश बनेका छन् । उहाँले भन्नुभयो, “अहिले मात्रै चितवनमा ३०० टन माछा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ ।” बिक्रीका लागि तयारी अवस्थामा रहेका माछाले बजार नपाउँदा किसान आफै भन्सार छलेर आएका माछाको निगरानीमा लागेका छन् । भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको तामाङले बताउनुभयो ।  काठमाडौँको बजारमा मात्रै दैनिक १५ टन माछा बिक्री हुने गरेको भए पनि अहिले नेपाली माछा नगन्य रुपमा मात्रै काठमाडौँ भित्रिने गरेको उहाँले बताउनुभयो ।  यहाँको माछाको बजार काठमाडौँ, पोखरालगायतका ठाउँ हुने गरेको भए पनि अहिले माछा खपत कम भएको सङ्घका सदस्य नीरञ्जन थापाले बताउनुभयो ।  थापाका अनुसार अहिले भन्सार छलेर आएका माछाको निगरानीका लागि काठमाडौँ, पोखरा प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरी बलको सहयोगमा निगरानी बढाइएको उहाँले बताउनुभयो ।  मङ्सिर र पुस महिनाभित्र नेपाली उत्पादनलाई बजारमा लगिसक्नुपर्ने भन्दै उहाँले यस्तै अवस्था रहे नेपालको उत्पादनले बजार पाउन कठिन हुने गुनासो गर्नुभयो । अहिले किसानकोमा जलकपुर र पाङ्गास माछा तयारी अवस्थामा रहेका छन् । जिल्लामा हाल ८०० भन्दाबढी हेक्टर क्षेत्रफल जलाशयमा माछा पालिँदै आएको छ । पशुसेवा कार्यालय तथा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत गङ्गा भण्डारीका अनुसार जिल्लामा हाल १ हजार १०५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालिँदै आएको छ ।  त्यसबाट ४६ लाख ५५ हजार किलो माछा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा माछा आउन थालेको छ, भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउने समस्या बढ्दो छ ।” भारतीय माछाको चोरी पैठारी रोक्न सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।माडी, रत्ननगर, भरतपुरलगाय ठाउँ माछाका लागि पकेट क्षेत्रका रुपमा रहेका छन् । यस्तै खैरहनी र राप्तीमा पनि माछापालन हुँदै आएको उहाँले बताउनुभयो ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ ।  आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।          त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । “नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।   आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुग्नुभएको छ ।  कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

काठमाडौं:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो ।   त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेल्नुभएको स्मरण गर्नुहुँदै उहाँको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताउनुभयो । “उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भन्नुभयो ।   दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।           कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।  सानो गौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

काठमाडौं:    आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।       पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।       मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत  कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।      उहाँले भन्नुभयो, “१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउँछ ।”      स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् ।           उहाँले भन्नुभयो, “यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।” प्रत्येक दिन चार जनाको मृत्यु       पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र मृत्यु हुने सङ्ख्या नेपालमा बर्सेनी बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।       विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिला यसैका कारण मृत्यु हुने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।       नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।      पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।  राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२/७३ र २०७३/७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी) को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ ।  आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’ को रुपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ ।       खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१/८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा गौतमले खोप यही पुसको मध्य सम्ममा आइपुग्ने बताउनुभयो ।  उहाँका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । “अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ”, उहाँले भन्नुभयो । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै  आइपुग्ने उहाँको भनाइ छ ।  के हो एचपीभी खोप ?         चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।       नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।      सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । 

सुर्खेत:   कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुयाउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ ।  सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुयाउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।  चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । कर्णालीका जिल्लाहरुमा प्रति पोका रु ९ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ ।  ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो ९ रुपैयाँ परेको उहाँले बताउनुभयो । डोल्पाको सदरमुकाम दुनैमा २ हजार ५  क्वीन्टल कोटामध्ये हालसम्म १ हजार १ सय क्वीन्टल नुन ढुवानी भइसकेको छ । जुफाल डिपोमा ५ सयमध्ये ३ सय क्वीन्टल, काइगाउँमा ३ सय कोटामध्ये हालसम्म नुन पु(याइएको छैन । ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ ।  त्रिपरासुन्दरीको लिकुमा ३ सय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख चौधरीले जानकारी दिनुभयो। मुडकेचुलाको सर्मीमा ३ सय क्वीन्टलमा सबै नुन पुगेको उहाँको भनाइ  छ । तिन्जेमा १ हजार ८ क्वीन्टल कोटा निर्धारण गरेकामा हाल सम्म पु(याउन सकेको छैन । हुम्ला सदरमुकाम सिमीबोटमा एक हजार छ सय क्वीन्टल कोटा  निर्धारण गरिएकामा हालसम्म १ हजार १ सय ५० क्वीन्टल ढुवानी भइसकेको छ ।  याल्वाङ डिपोमा पाँच सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म ढुवानी हुन सकेको छैन । सार्केगाडमा नौ सय क्वीन्टलमध्ये ढुवानीको क्रममा बाटोमा रहेको प्रदेश प्रमुख चौधरीले जानकारी दिनुभयो । श्रीकोट डिपोमा नौ सय क्वीन्टल कोटा भएकोमा ढुवानीको क्रममा छ । सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना रहेको छ । श्रीकोट र सार्केगाड साल्ट ट्रेडिङ् कर्पोरेशनका बिक्री केन्द्र हुन् ।  मुगु सदरमुकामका डिपोमा दुई हजार पाँच सय क्वीन्टलको कोटा रहेकामा हालसम्म एक हजार एक सय क्वीन्टल ढुवानी भइसकेको छ । बाँकी ढुवानीको क्रममा छ । सोरुकोटमा ९ सय क्वीन्टलमध्ये पाँच सय क्वीन्टल ढुवानी भएको छ ।  श्रीकोटमा ९ सय क्वीन्टल ढुवानी भएको छ । मुगुमकार्मरोङ गाउँपालिकामा १ हजार क्वीन्टल कोटा रहेकामा हालसम्म ढुवानी भएको छैन । सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको साल्ट ट्रेडिङले जनाएको छ ।  जुम्लाका सबै स्थानीय तहमा नुन पु(याउन स्थानीय तहहरुसँग सहकार्य भइ सोही अनुसार ढुवानी भइरहेको चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाममा ४ हजार क्वीन्टलमध्ये २ हजार १ सय ५० क्वीन्टल ढुवानी भएको छ । नराकोटमा १ हजारमा हालसम्म ४ सय ५० क्वीन्टल पठाएको छ । गोरुचौरमा १ हजारमध्ये ५ सय क्वीन्टल नुन पु(याएको छ । जाजरकोटका ७ पालिकामध्ये सदरमुकामसहित ४ ठाउँमा नुन बिक्री हुँदै आएको छ । सदरमुकाममा २ हजार ५ सयमा १ हजार २ सय मात्र ढुवानी भएको छ । नलगाडको दल्लीमा १ हजार ५ मा ६ सय क्वीन्टल ढुवानी भएको छ । पश्चिम जाजरकोटको थलहमा १ हजार २ सय क्वीन्टलमध्ये चार४ सय ५० क्वीन्टल ढुवानी भएको छ ।  तागामा ३ सय क्वीन्टल कोटामध्ये सबै पुगेको छ । रुकुम पश्चिमको ४ हजार ५ सय क्वीन्टल कोटा मध्य हाल सम्म ८ सय ५० क्वीन्टल ढुवानी भएको छ । चौरजहारीमा ८ सय क्वीन्टल मध्य ३ सय ४० क्वीन्टल मात्र ढुवानी भएको छ ।  कालिकोटमा ३ हजार ५ सय क्वीन्टल मध्ये ७ सय ५० क्वीन्टल ढुवानी भएको छ । रासकोट डिपोमा १ हजार २ सय क्वीन्टलमध्ये २ सय ४० क्वीन्टल ढुवानी भएको छ । बाँकी ढुवानीको प्रक्रियामा छ ।  ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकुलमा ढुवानी गर्दै आएका छन् । उपल्लो डोल्पामा कोभिड देखि आयोडिन युक्त नुन ढुवानी हुन सकेको छैन । हिमाली जिल्लाहरुमा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ ।  उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्या हुँदै आएको छ । स्थानीय तहहरुले समन्वय गरेर नुन लिएमा सबेलाई सहज हुने लिमिटेडको भनाइ छ ।  हाल निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसङ्ख्यलाई अपुग भएको स्थानीय तहका प्रमुखहरुले बताउँदै आएका छन् । दैलेखमा नुनको बिक्री केन्द्र नै छैन ।  कर्णालीको सबै स्थानीय तहमा साल्ट ट्रेडिङसँग सहकार्य गरेर नुन लिन पु(याउन सकेमा सबैका लागि सजिलो हुने साल्ट ट्रेडिङले जनाएको छ। आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । साल्ट ट्रेडिङले सीमित कोटा निर्धारण गर्दा बर्सेनी कर्णालीका स्थानीयवासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।

काठमाडौं:    लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन । मर्दी हिमालको फेदैमा पुग्ने उहाँको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गर्नै सकेनन् ।  तिहार पर्व मर्दी हिमालक्षेत्रमै मनाउने उद्देश्यले उहाँ पदयात्रामा निस्कनुभएको थियो, साथमा परिवार र साथीभाई लिएर । उहाँले भन्नुभयो, “शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ ।” कार्कीले पहिलो पटक पदयात्राको अनुभव लिएको बताउनुभयो । पछिल्लो समय फुर्सदमा पदयात्रामा निस्कने सँस्कारको विकास हुन थालेको छ । युवा पुस्तादेखि पाका पुस्तासमेत पदयात्रामा रमाउन थालेका छन् । कार्कीले तिहारमा टिका लगाउन नमिल्ने भएपछि घुम्न जाने गन्तव्यको रुपमा मर्दी ‘ट्रेक’ रोज्नुभएको थियो । जब उहाँ पदयात्रा सकेर फिर्नुभयो । उहाँले प्राकृतिक दृश्यसँगै केही फरक अनुभूति गर्ने अवसर पाएको बताउनुभयो ।  “हिँड्दा हिँड्दै जङ्गलको शान्त वातावरण महसुस गर्न पाएँ”, उहाँले भन्नुभयो, “यस्तो प्राकृतिक शान्ति कोलाहलले भरिएको सहरमा कहाँ पाउनु र” कार्कीले सकेमा वर्षमा एक पटक पदयात्रा आवश्यक रहेको बताउनुभयो ।  यसले शारीरिक र मानसिक दुवै तन्दुरुस्ती राख्नलाई फाइदा पुग्ने उहाँको ठम्याइ छ । कार्कीकै साथी सपना थापाले पहिलो पदयात्रा मर्दी हिमाल आधारशिविर पुगेर पूरा गर्नुभयो ।  वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उहाँले बताउनुभयो । सुरुमा पहाडको उकालो चढेर के हुन्छ र भन्ने नकारात्मक भाव पैदा हुन्थ्यो । अरुले पदयात्रा गरेर इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको देखेपछि विस्तारै उहाँमा पदयात्रा मोह बढ्दै गयो । जब उहाँले मर्दी ट्रेक पूरा गर्नुभयो । त्यसपछि पदयात्रा र भ्रमणप्रतिको विचार नै परिवर्तन भएको छ ।  उहाँले पहिलो पदयात्राको अनुभव सुनाउँदै भन्नुभयो, “पहाड चढ्नु मात्रै होइन, यात्राका क्रममा देखिने जनजीवनले थुप्रै जीवन उपयोगी कुरा सिक्न र देख्न पाइँदो रहेछ ।” विराटनगरकी प्रज्ञा दाहाल नेपालको भौगोलिकस्थिति प्रत्यक्ष हेर्न रुचाउनुहुन्छ । सम्भव भएसम्म मुलुकका पर्यटकीय गन्तव्य घुम्ने योजना उहाँको छ । बैंकका जागिरे दाहालले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हुँदा स्वदेश घुमफिरलाई पहिलो रोजाइमा राखेको बताउनुभयो । “आफ्नो देशको भूगोल, कला संस्कृति र सभ्यता बुझ्न पनि पदयात्रा जरुरी छ”, उहाँले भन्नुभयो, “हामीले घुम्दा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्छ । अर्थतन्त्रमा सुधार आउँछ ।” बानेश्वरका विमल भट्टराई प्रत्येक वर्ष छोराछोरीसहित पदयात्रामा निस्कनुहुन्छ । उहाँले आफ्ना दुई छोरीलाई आन्तरिक पर्यटनको महत्त्व बुझाउन र संस्कृति सिकाउन यात्रामा लैजाने गरेको बताउनुभयो । बुवाको साथमा पदयात्रामा निस्कनुभएकी  सुविमा भट्टराईले यात्राका क्रममा देखेका र भोगका अनुभूति डायरीमा टिपेर राख्नुभयो । कक्षा १२ मा अध्ययनरत उहाँले पछि त्यही डायरीमा आधारित किताब निकाल्ने सोच बनाउनुभएको छ ।  किताबमा हिमाल र पहाडको बारेमा जति पढिएको हुन्छ, त्यसको वास्तविक अनुभूति गर्न यात्रा नै जरुरी हुने उहाँको अनुभव छ । मर्दी ट्रेकमा जुकाले हातमा टोकेको क्षण उहाँको लागि अद्भूत बन्यो ।  यसअघि उहाँले जुका भन्ने सुन्नुभएको थियो, तर कसरी टोक्छ र टोकेपछि के हुन्छ  थाहा थिएन । भट्टराईका अनुसार प्रकृतिको प्रत्यक्ष महसुस गर्न कोठाबाहिर हिँड्नैपर्छ । “कोठैमा बसेर मोबाइल हेरेर कहाँ यस्तो जुकाको जीवन नियाल्न पाइन्थ्यो र ”, उहाँ भन्नुहुन्छ, “मैले ट्रेकिङलाई सिक्ने र अनुभव गर्ने खुला विद्यालय मान्छु ।”  तिहारको अवसर पारेर मर्दी हिमाल पदयात्रा गर्नुभएका दाङका अघर दाहालले शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन पदयात्रा उपयुक्त हुने बताउनुहन्छ । घरको वरिपरि हिँड्डुल गर्दा मोटरसाइकलको सहायता लिने उहाँले ३ दिनमा ४ हजार ५ सय उचाइमा रहेको मर्दी हिमाल आधारशिविर पुग्ने आँट गर्नुभयो । सबैले पहाड चढ्न सक्दैनस् भन्दै होच्याउँथे । त्यसैले उहाँमा थोरै इख थियो । पहाड चढेरै छोड्छु भन्ने अठोट थियो । तराईमा हुर्किनुभएका उहाँको परिवारका कुनै सदस्य हालसम्म हिमाली भेगमा पदयात्राका लागि जानुभएको छैन । दाहाल भन्नुहुन्छ, “मैले आँट गरेँ र सफल भएँ । पदयात्राले लक्ष्य प्राप्ति गर्न धैर्य गर्न सिकाउने रहेछ ।”  मर्दीका होटल व्यवसायी माया गुरुङ पछिल्लो समय आन्तरिक पर्यटककै भरमा व्यवसाय धानिएको बताउनुहुन्छ । “नेपालीहरु परिवारसहित घुम्ने संस्कृतिको सुरुवात भएको छ”, उहाँले भन्नुभयो, “नेपालीलाई सत्कार गर्न सजिलो पनि हुन्छ ।”  १२ वर्षदेखि मर्दी हिमाल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका मर्दी हिमाल हाइ क्याम्पका अध्यक्ष राजकुमार तामाङका अनुसार आन्तरिक पर्यटक वृद्धि हुनुले पर्यटनमा दीर्घकालीन स्थायित्वको सम्भावना हुन्छ ।  मर्दी हिमाल पदयात्राका लागि ७४ वटा होटल सञ्चालित छन् । विदेशी र नेपाली पर्यटकहरु नजिकै माछापुच्छ्रे हिमाल, मर्दी, अन्नपूर्ण हिमश्रृङ्खलालगायत दृश्य एकैसाथ हेर्न मर्दी पदयात्रामा आउने गर्छन् ।  नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल १ लाख २४ हजार ३ सय ९३ विदेशी पर्यटक भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष सोही अवधिमा छ दशमलव चार प्रतिशतले वृद्धि भएको हो । तुलनात्मक रुपमा आन्तरिक पर्यटकको आर्कषण पनि लोभ लाग्दो रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्ल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्नु स्वभाविक रहेको बताउनुभयो ।  घुम्ने सँस्कृतिको विकास भएको र मान्छेले आयआर्जन गर्न थालेकाले खर्च गर्न थालेको उहाँले बताउनुभयो । आन्तरिक पर्यटक वृद्धि हुँदा प्रादेशिक अर्थतन्त्रमा टेवा पुग्ने तर राष्ट्रिय अर्थतन्त्र उकास्न चाहीँ विदेशी पर्यटक नै मूलस्रोत रहेको अध्यक्ष पाण्डेको बुझाइ छ ।