नवलपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज बिहान नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले समृद्धिको सपना पूरा गर्न प्रमुख दलहरू मिलेर अगाडि बढेको र यसमा सबैको सकारात्मक सहयोग हुनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले सूचना प्रविधि, विश्व अर्थ व्यवस्था र विकास प्राथमिकतामा आएका परिवर्तनहरूलाई आत्मसात् गर्दै सरकारले कानुनमा सुधार र सहकार्यका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “विश्वभर नै नयाँ नयाँ परिर्वतन र सोहीअनुसार मानिसका सोच र आवश्यकता बदलिरहेका छन् । कानुनी जटिलताले विकास निर्माणका काममा बाधा परेको छ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार कानुन निर्माण र संशोधन गरेर ती नयाँ प्रविधिहरू र परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।” अहिलेको समयमा कानुन नबन्दा उत्पन्न समस्याबाट हामी गुज्रिएको बन्दै यसले हाम्रो विकासको आकाङ्क्षालाई प्रभावकारी बनाउनेमा समस्या आएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले वर्तमान सरकारले हाल देखिएका समस्या समाधानका लागि संविधान र ऐन कानुन सुधार प्रक्रियालालाई अगाडि बढाइरहेको बताउनुभयो । “कानुनमा के के चीज सुधार आवश्यक छ वा नयाँ संरचना आवश्यक छ वा पुराना असान्दर्भिक भएका संरचनालाई बदल्नेमा पनि ध्यान केन्द्रित गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ । शासकीय सुधारका सन्दर्भमा प्रधानमन्त्री कार्यालयमार्फत हरेक मन्त्रालयभित्र रिफर्म युनिट स्थापना गरेर सुधारका कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने निष्कर्षमा पुगिएको छ । सामान्य तरिकाबाट आजको निराशालाई बदल्न र मुलुकको अर्थतन्त्रलाई उकास्न सकिँदैन भनेर प्रमुख ठूला दलहरूले कार्ययोजना बनाएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो । हाल पुरानै सरकारले बनाएको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गरिरहनुपरेकाले आफूहरूले सोचेजति प्रभावकारी कार्यसम्पादन हुन नसकेको भन्दै महासचिव पोखरेलले चुनौतीका बाबजुत अवस्था सुधारको प्रक्रियामा सरकार अगाडि बढेको बताउनुभयो । “नयाँ सरकार बनेपछि राजस्व सङ्कलनमा १७ प्रतिशत वृद्धि भएको छ । पुँजीगत खर्चमा पनि वृद्धि भएको छ, मौद्रिक तरलताको सङ्कट अन्त्य गर्ने काम भएको छ । विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च विन्दुमा छ”, उहाँले दाबी गर्नुभयो ।
कास्की: पर्यटकीय राजधानी पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् । चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् । यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ । कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । कोर्चाङ पुग्न विभिन्न रुटहरु छन् । ग्रेट माछापुच्छ्रे ट्रेल अन्र्तगत पर्ने खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि मिर्सासम्म यातायातको व्यवस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ । त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । यस्तै अर्काे रुट लुम्रे क्षेत्रबाट भने, सिधैं कोर्चाङ जान सकिन्छ । जुन ३ हजार ६ सय ८३ मिटर उचाइमा छ । कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृंखलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साट्न सकिन्छ । तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाकोे सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिनुभयो । विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरुको नेतृत्वमा जिल्ला समिति गठन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपाल सिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा आमेप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशब बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भिमनाथ, कञ्चनपुरमा पदमबहादुर विष्टको नेतृत्वमा जिल्ला समिति गठन भएका छन् ।
नयाँ दिल्ली: सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । “दिवङ्गत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ । “स्वर्गीय डा मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ । अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् । – सरल टेक्नोक्र्याट – पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो । दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो । सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मनुभएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभयो । राष्ट्रको सर्वोच्च पद लिनुअघि उहाँ कहिल्यै निर्वाचित पदमा बस्नुभएको थिएन । उहाँले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाउनुभएको थियो । सिंहले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गर्नुभयो, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गर्नुभयो र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाल्नुभयो । सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी।भी। नरसिंह रावले उहाँलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिनुभएको थियो । आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गर्नुभयो । यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो । उहाँले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो । उहाँले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताउनुभएको थियो ।
काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताउनुभएको छ । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ । भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।
पोखरा: गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोटहुँदै पुनः पोखरा जोडिने पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सहयोग रहेको कार्यक्रम संयोजक एवं सङ्घका संस्थापक अध्यक्ष बोबरजङग गुरुङले जानकारी दिनुभयो । पर्यटन व्यवसायी, पथपर्दशक, सञ्चारकर्मीसहित ४५ सदस्यीय टोलीले प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसबाट पदयात्रा सुरु गरी कपुचे हिमताल, कोरी, क्होलासोँथर, कर्पुुडाँडा हुुँदै याङ्जाकोटसम्म यात्रा गरेको उहाँले जानकारी दिनुुभयो । सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ सम्पदा पदमार्ग महत्त्वपूर्ण विकल्प बन्न सक्ने उहाँले बताउनुभयो । “पदयात्रामार्गका विभिन्न ठाउँमा पूर्वाधार व्यवस्थित गर्नुुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “पदमार्गका ठाउँठाउँमा होटेललगायतका पूर्वाधार विकास आवश्यक छ भने सञ्चार सुविधा, खानेपानी लगायतको व्यवस्थापन अपरिहार्य छ ।” पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरु भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । प्राचीनकालमा गाईभैँसी तथा भेडा चराउने खर्क तथा गोठलाई जोड्ने मार्गलाई पदमार्गका रुपमा विकास गर्न सकिने संस्थापक अध्यक्ष गुरुङको सुझाव छ ।
झापा: कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो । “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उहाँले दुर्घटनाको कारण बताउँदै भन्नुभयो, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।” सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् ।
उदयपुर: कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । “अहिले पनि केन्द्रमा दुईवटा निलगाई, चार मृगको उपचार गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको दुईवटा निलगाईलाई बचाउन सकेनौँ ।” कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो । “घाइते र टुहुरा वन्यजन्तुको उद्धार गरी वनमै छाड्ने वा अन्यत्र राष्ट्रिय निकुञ्जमा पुर्याउने उद्देश्य हो”, अधिकृत साहले यस क्षेत्रका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ आसपासका जिल्लामा केन्द्र नरहेकाले यही केन्द्र प्रयोगमा ल्याइएको बताउनुभयो । यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ । “यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको छ, त्यसले मात्रै पनि पशुपक्षी बचाउन सकिएको छैन ।” पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताउनुभयो । वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको वडाध्यक्ष तामाङको भनाइ छ । सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा स्थापित सिमसार यस क्षेत्रकै पर्यटकीयस्थल पनि हो ।
काठमाडौं: नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिनुभयो । चेम्बर एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउने छन् । एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शनमा रहने छन् । स्वदेशी र विदेशी गरी दुई सयभन्दा बढी स्टल एक्स्पोमा राखिने छन् । पाँच दिनसम्म चल्ने एक्स्पोको कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताउनुभयो ।

