तनहुँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्यसँगको भेटमा मन्त्री पौडेलले पत्रकारिताको विकासले नै पारदर्शितालाई सुनिश्चित र भ्रष्टाचारलाई न्यूनीकरण गरी सुशासन सुनिश्चित गर्नसक्ने धारणा राख्नुभएको हो । “पत्रकारिताको विकासले मात्रै देशमा पारदर्शिता सुनिश्चित गर्न सक्छ, देशमा हुने गरेका भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न सक्छ”, मन्त्री पौडेलले भन्नुभयो, “पत्रकारको अधिकार र सुनिश्चिताता रक्षाका निम्ति राज्यको पहल जरुरी छ ।” क्रियाशील तथा श्रमजीवी पत्रकारको प्रभावले नै मुलुकमा लोकतन्त्र ल्याउनमा पनि पत्रकारिताको भूमिका रहेको उहाँको भनाइ थियो । मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको अस्पताल बनाउन पूर्वाधार र उपकरण सहयोग गर्ने सम्झौता भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारत सरकारले उपचार केन्द्रलाई उपकरणसहित सहयोग गर्ने भएको छ, भारतीय स्वास्थ्य मन्त्रालयमा योजना पुगेको र अबको केही दिनमा द्विपक्षीय सम्झौता हुनेछ ।” उहाँले दमौली अस्पतालको विकासका लागि जग्गा विवाद समाधानका निम्ति अबको मन्त्रिपरिषद् बैठकमा छलफल अगाडि बढाउने प्रक्रिया भएको बताउनुभयो । “मन्त्रिपरिषद्बाट समस्या समाधान गरी आगामी आर्थिक वर्षमा दमौली अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन बजेटको व्यवस्थापनमा पहल गर्नेछु”, उहाँले भन्नुभयो । सरकार सुधारिएको स्वास्थ्य क्षेत्र बनाउने उद्देश्यले सबै अस्पताल तथा स्वास्थ्य क्षेत्रको सेवा सहज र सरल बनाउन प्रतिबद्ध रहेको उहाँको भनाइ छ । साथै उहाँले रु पाँच लाख पु¥याउने गरी एकीकृत बिमाको व्यवस्थापकीय प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताउनुभएको छ । “हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यू समक्ष सिफारिस गरिएको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएको उहाँको भनाइ छ ।
काठमाडौं: जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव ९ई–फ्लो० कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् । वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक आवश्यकता पनि यससँग जोडिएको छ । वातावरणीय बहावको कार्यान्वयनका लागि मानव विकास, नदिको प्रयोग वा डाइभर्सन नगरी प्राकृतिक वा पुरानै बहावमा पुनस्र्थापित गर्न आवश्यक छैन, तर यसको सट्टा, खानेपानी, सिँचाइ वा ऊर्जामा मात्र केन्द्रित व्यवस्थापनभन्दा नदी तथा खोलाबाट प्राप्त हुने प्रत्यक्ष वा अप्रत्यक्ष व्यापक लाभको पूर्ति हुने उद्देश्य राखिएको हुन्छ । जलविद्युत्, सिँचाइ वा खानेपानी आयोजनासँग जोडिएका अधिकांश नदीनालामा खासगरी हिँउद र सुक्खा याममा वातावरणीय बहाव नगण्य वा शून्यमा झर्ने गरेको पाइएको छ । खोलानालाको यस्तो दोहन रोक्दै नदीलाई स्वस्थ राख्न तीनै तहका सरकार र स्थानीय समुदायले गम्भीर हुन आवश्यक रहेकामा विज्ञहरूले जोड दिएका हुन् । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी)का अनुसार नेपालमा करिब छ हजार नदीनाला छन् । तीमध्ये अधिकांश हिमालको हिउँ पग्लिएर बग्ने गरेका छन् । पछिल्लो समयमा नेपालका कैयौँ नदीमा जलविद्युत् आयोजना बनिसकेका छन् भने धेरै नदीमा त्यस्ता आयोजना बन्ने तयारी थालिसकिएको छ । केही ठूला नदीमा सिँचाइ आयोजनासमेत बनिरहेका छन् । तेइस वर्षअघि बनाइएको नेपालको जलविद्युत् नीतिमा हरेक आयोजनाले कम्तीमा १० प्रतिशत वातावरणीय बहाव कायम गर्नुपर्ने व्यवस्था गरिएको छ तर निकै कम नदी आयोजनाले मात्रै वातावरणीय बहाव कायम राख्न कम्तीमा १० प्रतिशत पानी बहन दिने गरेको विभिन्न अध्ययनले देखाएका छन् । जलविद्युत् उत्पादनका लागि नदीको पूरै बहाव सोझ्याएर पानीविहीन बनाइएका विभिन्न नदी खण्डमा माछा र अन्य जलचरमात्र होइन स्थानीय किसान समुदाय सिँचाइ सुविधा पाउनबाट वञ्चित हुनेक्रम बढिरहेको छ । देशका नदीमा पर्याप्त वातावरणीय बहाव कायम गर्दै नदीको स्वास्थ्य संरक्षण तथा नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली जोगाउन धेरै काम गर्न बाँकी रहेकामा विज्ञहरुले जोड दिएका छन् । इमी र जलस्रोत तथा सिँचाइ विभागले हालै राजधानीमा आयोजना गरेको कार्यशालामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सहायक प्राध्यापक दीपनारायण शाहले प्रस्तुत गर्नुभएको अध्ययनमा हाम्रो देशमा सञ्चालित करिब ८० प्रतिशत जलविद्युत् आयोजनाले वातावरणीय बहाव कायम गर्न कम्तीमा १० प्रतिशत नदीको पानी बग्न दिनुपर्ने नियमको पालना नगरेका उल्लेख छ । “हामीले हालै ५० वटा जलविद्युत् केन्द्रको अध्ययन गरेका थियौँ । अधिकांशले वातावरणीय बहाव कायम राख्न आवश्यक पानी छोडेका छैनन् ।” इमीको अर्को अध्ययनअनुसार नियम, निर्देशिका र अनुगमनको अभावका कारण वातावरणीय बहावबारे नियमको पालना हुन नसकेको हो । जलविद्युत्मा निर्भर देशका तीन हजार मेगावाट क्षमताका करिब एक सय ६० जलविद्युत् केन्द्र निर्माण भइसकेका छन् भने १० हजार मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणाधीन छन् । करिब आठ हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्न आवश्यक सर्वेक्षण भइरहेको छ । काठमाडौँ विश्वविद्यालयकी सहायक प्राध्यापक रामदेवी तचमो शाहको भनाइमा हरेक नदीको स्वास्थ्य जोगाउन वातावरणीय बहाव कायम राख्ने नियमको पालना हुनुपर्छ । त्यसका लागि जनतालाई सचेत गराउने तथा सरोकारवालाहरूलाई प्रशिक्षण दिन जरुरी छ । कार्यशालामा सहभागी विज्ञ तथा अधिकारीहरूले जलविद्युत्, सिँचाइ वा खानेपानी आयोजना निर्माण गर्नेक्रममा दिगो हिसाबले हरेक नदीलाई जीवित राख्ने सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्नुपर्नेमा जोड दिए। उनीहरूका भनाइमा नेपालको संसद्मा विचाराधीन नयाँ जलस्रोत विधेयकमा वातावरणीय बहावको विषयलाई सम्बोधन गरिएमा मुलुकका नदीनालाको दिगो संरक्षण हुन सक्छ । पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवाली मुलुकका नदीनालासँग जोडिएका आयोजनालाई दिगो बनाउनका लागि तिनको ‘स्थानीयकरण’ गर्नु सर्वोत्तम उपाय हुनेछ । त्यसक्रममा परियोजनाहरु निर्माण गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्याङ्कन अर्थात् इआईए बनाउँदा र यसको कार्यान्वयन गर्दा जतिसक्दो धेरै स्थानीयवासीका चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
म्याग्दी: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको हो । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । राहुघाट जलविद्युत् आयोजनाको सिभिल महाशाखा प्रमुख रविन कट्टेलले एआइएस (एयर इन्सुलेटेड) प्रविधिको स्विचयार्ड निर्माण गर्न लागिएको जानकारी दिनुभयो । “सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले स्विचयार्डको फाउण्डेशन तयार पार्ने कामलाई तीव्रता दिएको र हाइड्रोमेकानिकल ठेकेदार भारत हेवी इलेक्ट्रिकल्स ९भेल०ले जडान गर्ने उपकरण तयार पारेर आयात थालेको छ”, उहाँले भन्नुभयो, “आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिएका छौँ ।” राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट दुई सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रसारण लाइन ९डबल सर्किट०मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ । चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ । विद्युत्गृहबाट निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । टर्वाइन, जेनेरेटरका पाट्स जडान गर्ने काम थालिएको छ । आयोजनाको जग्गा अधिग्रहणदेखि हालसम्मको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत रहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । “बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।” मुख्य सुरूङको चार वटा अडिटबाट करिब दुई हजार तीन सय मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्ध जलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहबाट निर्माणाधीन छ । आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको हो ।
काठमाडौं: प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा जोड दिँदै ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको छैटौं केन्द्रीय समितिको बैठकपछि जारी घोषणापत्रमा सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई लिएर आमसञ्चार माध्यमका प्रकाशक, सम्पादक र र पत्रकारविरुद्ध विद्युतीय अपराधमा प्रहरीले मुद्दा चलाउने गरेकामा विरोध जनाएको छ । घोषणापत्रमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसात गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको वातावरण निर्माण जरुरी छ ।” चौतारीले श्रमजीवी पत्रकारसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको माग समेत गरेको छ । श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन र ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको वृद्धिको माग गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको छ । एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिनुभएका सबै पुर्खाहरूको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत दिनुभएको सन्देशमा भन्नुभएको छ, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।”
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ । आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आवमा रू १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष रू आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा रू एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि रू ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रू ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको छ । प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९ दशमलव आठ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पु¥याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरणमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । यस्तै, उत्पादनतर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । देश लोडसेडिङमुक्त भएर नियमितरूपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्तालाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवं प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतर्फ निर्यात गरी रू १७ अर्ब सात करोड आम्दानी गरेको थियो । गत आवमा आयातभन्दा करिब १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट गर्नुभएको छ । “पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ,” राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भन्नुभएको छ, “यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।” पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताउनुभएको छ । “राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,” राष्ट्रपति पौडेलले भन्नुभएको छ, “नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
काठमाडौं: आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् । कसरी सम्झने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ? आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उहाँको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ । तर नेपालका वरिष्ठ कवि तथा सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा उहाँको स्मरण गरे । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनाराणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको शालिकसामु रचना बाचन गरी कविहरूले उहाँप्रति श्रद्धाभाव प्रकट गरेका हुन् । पृथ्वीनारायण शाह आफ्नो मावली घर नुवाकोट यही डाँडाको बाटो हुँदै जाने क्रममा हालको भालेश्वर मन्दिर वरपरबाट उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहितको काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने कामना गरेका इतिहासकारहरू बताउँछन् । त्यसैले यो ऐतिहासिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ र बर्सेनि पुस २७ मा उहाँको स्मरणमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । जसले देख्यो सुनौलो सपना चार किल्ला तोडेर उसैले उन्यो इन्द्रेणी माला सयौँ फूल जोडेर जसले रच्यो, नेपालको नक्सा, सयौँ देश जोडेर धर्तीको स्वर्ग छैन कहीँ अन्त नेपाल छोडेर । वरिष्ठ कवि एवं गीतकार एसपी कोइरालाले पृथ्वीनारायण शाहलाई यी शब्दहरूले सम्झिनुभयो । चार किल्ला तोडेर सुनौले सपना देख्ने र सयौँ फूल जोडेर इन्द्रेणी माला उन्ने व्यक्तिका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै कविले नेपाल धर्तीकै स्वर्ग रहेको र यस्तो अन्यत्रै कतै नभएको भाव पोख्नुभएको छ । सयौँ देशलाई जोडेर एउटै देश नेपालको नक्सा बनाउने सपना पृथ्वीनारायण शाहले देखेर नै नेपाल देशको जन्म भएको उहाँको सिर्जनाको भाव छ । अर्का वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ आफ्नो सिर्जनामा पृथ्वीनारायण शाहलाई यसरी सम्झनुहुन्छ‐ जोडेर धेरै मनहरू फोडेर धेरै किल्लाहरू यो देश बनाउने अपराधी मै हुँ गुमनाम तिमीलाई नाम दिएर स्वाभिमान तुल्याउने अपराधी पनि मै हुँ जजस्ले आँखा लगाए यो माटोमाथि गर्दन रेटेर तिनीहरूको खुँडा पखाल्ने पनि मै हुँ हो, यो देश बनाएर अपराध गरेको भन्छौ भने त्यो अपराधी पनि मै हुँ हो, यो देश बनाउने अपराधी मै हुँ । केही समययता देशमा पृथ्वीनारायण शाहको योगदान र इतिहास विस्मृतितिर गएको भान भइरहेकै छ । त्यसैप्रति भरपुर ब्यङग्य गरेका छन् उहाँका यी शब्दहरूले । समाजले कहिलेकाहीँ ओकल्ने गरेका उहाँप्रतिका अनादरलाई कवि श्रेष्ठका यी शब्दहरूको श्रेष्ठता र भाव पर्याप्त छ । धेरै मनहरू जोडेर र धेरै किल्लाहरू फोडेर यो देश बनाउने व्यक्तिका रूपमा कविले पृथ्वीनारायण शाहलाई चिनाउन चाहनुहुन्छ । अर्का वरिष्ठ कवि डा नवराज लम्सालको यो सिर्जना पृथ्वीनारायण शाहले ठूला दुःखले आर्जेको भूमिको सुरक्षामा समर्पित छ । उहाँका यी शब्दहरूले चाहे जस्तोसुकै अवस्था र परिस्थिति आए पनि देशको साँधसीमामा कसैलाइ पनि ढिम्कन नदिन नेताहरूलाई कडा निर्देश गर्दछन् । रोक्ला रोकोस जमिन जल जे रोकियोस रोक्न देऊ छेक्ला छेकोस वर र पर जे छेकियोस छेक्न देऊ बोल्ला बोलोस वचन बिटुलो बोल्छ जे बोल्न देऊ नेताजी हो, तर मुलुकको साँधसीमा नदेऊ । पछिल्लो समय नेपालको साँध सिमाना मिचिएका समाचारहरू यदाकदा आउने गरेकाप्रति यी शब्दहरूले जनता जगाउन खोजेका छन् । कवि डा लम्साल देशको नेतृत्वमा रहने नेताहरूलाई यसरी ब्युँझाउन खोज्नुहुन्छ‐ आमा बेची कुन मखमली शान किन्छौ र सस्तो नेताजी हो अब त बुझ हो झुक्किने खेल यस्तो । अर्का वरिष्ठ कवि किशोर पहाडी देशलाई एउटा ठूलो आकाशसँग तुलना गर्नुहुन्छ । उहाँको भावना छ‐ देश आकाश हो, त्यो पनि सानो नभएर ठूलो आकाश । त्यसैले यस्तो ठूलो आकाशरूपी देशका सर्जकप्रति उहाँको सिर्जनाले नमन गरेको छ । उहाँको सिर्जना भन्छ‐ देश ठूलो आकाश हो जहाँ केही ताराहरू अन्धकारमा सुत्ने गर्छन् जहाँ केही चराहरू गुँडमा लुक्ने गर्छन् केही चराहरू निस्फिक्री उड्ने गर्छन् हो, देश यस्तै ठूलो आकाश हो । ‘खै एकताको बल’ शीर्षकको वरिष्ठ कवयित्री प्रभा भट्टराई आचार्यको कविताले नेपालमा एकताको बल घट्दै गएको सङ्केत गर्दछ । नेपालमा यतिखेर धेरै जाति र धर्म भएर पनि नेपाली हुन बिर्सिएका नेपालीको अवस्थालाई उहाँले लयबद्ध कवितामा प्रस्तुत गर्नुभएको छ । उहाँको सिर्जना भन्छ‐ त्यो माझी, म सतार, यो गुरूङ, यो नेवार, यो बाहुन थारू त्यो, खस यो, दरै दलित यो, शेर्पा कि भोटे कुन ? मै हूँ मात्र सबै अलग अलगै चल्दै छ है खल्बल नेपाली हुन बिर्सिए स्वजनले खै एकताको बल ? नेपालमा हिजोआज खस्कँदै गएको एकताको बल प्रसस्त मात्रामा झल्किाएको छ यो कवित्व भावले । पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको साझा फूलबारी भनेर दिएको सन्देश नेपाल र नेपालीको राष्ट्रिय एकताको बलका लागि थियो । तर आज जात र वर्ण धेरै भए पनि एकताको बल भने झन् कमजोर हुँदै गएको पाठ यो कविताले सिकाएको छ । ‘समय, सपना र स्वर’ शीर्षकको कवितामा कवयित्री एलिसा ढुंगानाले पृथ्वीनारायण शाहलाई समयले खोजेको राजाका रूपमा स्मरण गर्न चाहनुहुन्छ । उहाँका शब्दहरू भन्छन्‐ निर्वाचित निरंकुशताले आजित म पल्टाइरहेछु विशाल नेपालको इतिहास र देख्छु, प्रेम, एकता र सत्यमा अडिग समयले खोजेको राजा पृथ्वीनाराण शाह । त्यसैगरी वरिष्ठ कवि मणि लोहनीले मानचित्रमा उभिएर शीर्षकको सिर्जनामा मानिसले बनाएका नक्साभित्रका धर्साहरूले कहिल्यै मानिसलाई आफ्नो हुन नदिएका र सिमानाका नाममा सदैव छुट्टाइरहेका भाव पोख्नुभएको छ । अर्का वरिष्ठ कवि एवं चलचित्र निर्देशक राजेन्द्र शलभले स्वतन्त्रता शीर्षकको सिर्जनामा स्वतन्त्रताको घेरालाई मानिसले नै सधैँ खुम्चाउने दुस्प्रयास गरिरहेको अभिव्यक्ति राख्नुभएको छ । उहाँहरूले आफ्ना सिर्जनाहरूमार्फत् नेपालको इतिहास र वर्तमानको व्याख्या गर्दै मुलुक निर्माणको महत्व र राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहको योगदान र बलिदानको स्मरण गर्नुभयो । उहाँहरूका सिर्जनामा नेपालीहरूलाई नेपाली बनाएर विश्वभर चिनाउने युगपुरूष पृथ्वीनारायण शाहको हामी सबैले उच्च सम्मान गर्नुपर्ने भाव रहेको थियो । त्यस अवसरमा चन्द्रागिरि हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको चन्द्रागिरिमा उहाँको शालिक निर्माण गरेर इतिहासलाई जिवन्त राख्ने प्रयास गरिएको बताउनुभयो । कार्यक्रमको अन्त्यमा कवि एसपी कोइरालाले सर्जकहरूका सिर्जनामा पृथ्वीनारायण स्वयम् उपस्थित भएर नेपालीहरूलाई प्रश्न सोधेजस्तो लागेको अनुभव सुनाउनुभएको थियो ।

