कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हाँसिल हुने बताउनुभएको छ ।   सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न जरुरी रहेको उहाँको भनाई छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा पोखरा कार्यालयले आयोजना गरेको स्थापना दिवस विशेष समारोहका प्रमुख अतिथि भट्टले भ्रष्टाचार विरुद्धको लडाई सबैको साझा लडाई भएको बताउनुभयो ।   ‘नेपालको संविधानले दिगो शान्ति, सुशासन, समृद्धि र विकासको परिकल्पना गरेको छ। संविधानको यो सपना त्यतिखेर मात्रै साकार हुन्छ जब हामीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता प्रदर्शन गर्न सक्छौँ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण छ । मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेछ ।’   गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी परेको प्रतिवेदनबाट जानकारी पाएको बताउँदै उहाँले सरकारी कार्यालयहरूले अबको दिनमा प्रवाह गर्ने सेवाहरुमा सरलीकरण गर्नुपर्ने र राज्यका सबै अङ्ग तथा अन्तर्गतका निकायले जनतालाई अपनत्व र विश्वास कायम हुने गरी आफ्नो काम कारबाहीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।     ‘हालको परिवेशमा राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागिताको कमी देखिन्छ । साथै, सरकारी कार्यालयहरूले आफूले सम्पादन गरेको कार्यलाई पारदर्शी समेत बनाउन नसकेको तथ्य आयोगको वार्षिक प्रतिवेदनबाट जानकारी प्राप्त गरेँ ।’ उहाँले भन्नुभयो ।   वर्तमान समयमा भ्रष्टाचारको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकोले अनुसन्धानको विषयमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न आयोग तथा मातहतका कार्यालयहरू सशक्त भई आफ्नो कार्यपद्धतिलाई रचनात्मक बनाउनुपर्ने सुझाव पनि उहाँको रह्यो ।   नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेको आयोगले सदाचार, निष्पक्षता र निर्भिकता जस्ता मूल्यहरु अङ्गीकार गरी यो संस्थाको जग बलियो बनाउन समेत यस दिवसले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।     यसका लागि उपलब्ध साधन स्रोतको सीमामा रहेर उच्चतम प्रविधिको प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिनुभयो ।   ‘भ्रष्टाचारको प्रवृत्ति हेर्ने हो भने पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो देखिन्छ । यी क्षेत्रहरूमा हुने सार्वजनिक खरिदका कार्यक्रमहरू अपारदर्शी तरिकाले अघि बढाइँदा उजुरी पर्छन्।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘नागरिकले सजिलै पाउनुपर्ने सेवामा पनि दुःख हैरानी दिने गरेको विषय गम्भीर विषय हो । यस्तो अवस्थामा आयोग र अन्तर्गतका कार्यालयहरूले सूक्ष्म ढङ्गले आफ्नो निगरानी बढाई सक्षमतालाई बढाउँदै लैजानुपर्ने हुन्छ।’ कार्यक्रममा आयोग पोखरा कार्यालयका प्रमुख अस्मान तामाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे लगायतले बोलेका थिए ।

काठमाडौं:    राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन माग गर्नुभएको छ ।       समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले संविधानबाट प्राप्त अधिकारलाई राज्यले संरक्षण गर्न र पीडितलाई न्याय दिन र दोषी उपचार कानुनी कारबाही गर्न माग गर्नुभयो ।      सांसद डा बेदुराम भुसालले एकअर्कालाई मनपराएर प्रेम विवाह गर्नु मानिसको नैसर्गिक अधिकार भएको बताउँदै उनीहरूको अधिकार हनन गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले पीडितलाई न्याय दिन र दोषी उपर कानुनी कारबाही गर्न माग गर्नुभयो ।       सांसद गोपीबहादुर सार्की अछामीले प्रेम विवाह गरेका सत्येन्द्र र नेहाको जोडी अझै पनि असुरक्षित रहेको भन्दै उक्त घटनाबारे गृह प्रशासनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।       सांसद मायाप्रसाद शर्माले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा केही दिनअघि भएको आगलागी घटनाको तत्काल छानबिन गर्न सरकार समक्ष माग गर्नुभयो । ‘सिंहदरबारमै यस्तो स्थिति हुन्छ भने गाउँको अवस्था कस्तो होला’ भन्दै उहाँले घटनाको सत्यतथ्य सार्थजनिक गरी दीर्घकालीन रूपमा यस्ता घटना हुन नदिने संयन्त्र बनाउन माग गर्नुभयो ।      सांसद गङ्गाकुमारी बेलबासेले माइतीघर मण्डलामा धर्नामा रहेका स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न र गुठीको स्वामित्वमा रहेको जग्गामा घरबाससहित बसोबास गर्दै आएका किसानलाई मोही हक पाउने पाउनुपर्ने माग गर्नुभयो ।       सांसद तारामान स्वारले अछामको ढकारी गाउँपालिकाका दुई किशोरीको जघन्य हत्याकाण्डको घटना नसेलाउँदै धनगढीको एक विद्यालयमा कक्षा ७ मा पढ्ने बाजुरा छेडेदहकी एक किरोशीलाई अपहरण गरी बलात्कार घरेको घटना बाहिरिएको भन्दै उक्त घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्नुभयो ।      सांसद तुलसाकुमारी दाहालले सङ्घर्षरत खाना पकाउने ९एलपी० ग्यास व्यवसायीको मागको सम्बोधन गर्न माग गर्नुभयो । उहाँले एलपी ग्यासको गुणस्तर र सुरक्षाको प्रबन्ध गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।       सांसद मृगेन्द्रकुमार सिंह यादवले मिटरब्याज  पीडितसम्बन्धी कानुन बनिसके पनि पीडितले अझै न्याप पाउन नसकेको भन्दै उनीहरूलाई न्याय दिन सरकारसमक्ष माग गर्नुभयो ।       सांसद शारदादेवी भट्टले इजरायलमा हमासको आक्रमणमा परी अज्ञात रहेका बिपीन जोशीको रिहाइमा विलम्भ भएको र युद्धविरामपछि धुप्रै बन्दीको रिहाइ भइरहँदा पनि बिपीनको अवस्था अझै अज्ञात हुनु पीडादायक अवस्था रहेको भन्दै चाडो रिहाइका लागि पहल गरिदिन ध्यानाकर्षण गराउनुभयो ।       सांसद सुमित्रा बिसीले सुर्खेतमा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त सडकको स्तरोन्नतिको काम चाडो सम्पन्न गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायमार्फत गरिने कार्यक्रम एवं जिम्मेवारी तोकिएको छ ।  सञ्चार मन्त्रालयका सचिव राधिका आर्यालको संयोजकत्वमा आज बसेको प्रचारप्रसार उपसमितिको बैठकले प्रजातन्त्र दिवस २०८१ लाई भव्यताका साथ सम्पन्नका गर्नका लागि मन्त्रालय मातहतका विभिन्न सात निकायको जिम्मेवारी तय गरेको हो । राष्ट्रिय समाचार समिति(रासस)लाई प्रजातन्त्रका विषयमा रिपोर्टिङ गर्ने, लेख रचना प्रकाशित गर्ने, अन्तवार्ता सञ्चालन गर्ने तथा अङ्ग्रेजी समाचार सेवामार्फत आलेख र अन्तर्वाताहरू अनुवाद गर्ने जिम्मेवारी दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरूमार्फत राष्ट्रिय प्रजातन्त्र तथा राष्ट्रिय प्रजातन्त्र दिवसको सम्बन्धमा एसएमएस, रिङ् ब्याक टोन र डिजिटल डिस्प्ले बोर्डहरूमार्फत शुभकामना सन्देश प्रवाहको व्यवस्था गर्ने साथै अनुगमन, समन्वय र सहजीकरण गर्नेछ । प्रजातन्त्र दिवसका सम्बन्धमा एसएमएस पठाउने, डिजिटल डिस्ल्पेहरूमा दिवसको शुभकामना सन्देश प्रवाह गर्ने जिम्मा नेपाल टेलिकमलाई दिइएको छ ।  त्यसैगरी विज्ञापन बोर्डले प्रजातन्त्र दिवससँग सम्बन्धित लोक कल्याणकारी विज्ञापन तयार गरी देशभरका ८६६ वटा पत्रपत्रिकाहरूमा प्रकाशनको लागि पठाउने र कार्यान्वयनको समन्वय गर्नुपर्नेछ ।  बोर्डले नेपाल टेलिभिजनसँगको समन्वयमा जनचेतनामूलक सामग्रीहरू देशभरका विभिन्न एफएम रेडियोहरूमार्फत प्रसारणको व्यवस्था मिलाउने कार्य गर्नुपर्ने छ ।   गोरखापत्र संस्थानले गोरखापत्र दैनिक, दि राईजिङ नेपाल र अनलाइनमार्फत प्रजातन्त्र दिवसका विविध पक्षहरूलाई समावेश गरी सामग्री प्रकाशन, मल्टिमिडिया कन्टेन्ट तयारी तथा प्रकाशन, विचार, अन्तर्वार्ता, लेख र रचना प्रशारण तथा प्रकाशन गर्नुपर्नेछ ।  संस्थानले राष्ट्रिय प्रजातन्त्र निर्माणदेखि यसको कार्यान्वयनका विविध पक्षहरूलाई समेट्ने गरी विशेषाङ्क प्रकाशन गर्ने, शुभकामना सन्देशहरू प्रकाशन गर्ने भनिएको छ । त्यसैगरी सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल) ले मूल समारोहको लाइभ प्रसारण गर्ने, रेडियो नाटक प्रशारण, अन्तरसंवाद, परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, जागरण गीत, राष्ट्रिय प्रजातन्त्रसम्बन्धी गीत, राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को मूल नारामा आधारित जनचेतनामूलक सामग्री प्रसारण गर्ने एवं सबै प्रादेशिक प्रसारण केन्द्रबाट राष्ट्र भाषामा समाचार तथा कार्यक्रम उत्पादन तथा प्रसारण गर्नेछ । त्यसैगरी सार्वजनिक सेवा प्रसारण संस्था, नेपाल टेलिभिजन (प्रादेशिक च्यानल समेत) ले राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह र अन्य प्रमुख कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गर्ने, प्रजातन्त्रका विविध पक्षहरूलाई समावेश गरी परिसंवाद, संवाद, जागरण गीत, समाचार, समसामयिक स्टोरीहरू प्रसारण गर्नुका साथै मातृभाषाहरू कार्यक्रमहरू सञ्चालन गर्ने, राष्ट्रिय प्रजातन्त्र, नेपालको झण्डा, नक्सा लगायत प्रजातन्त्रसँग सम्बन्धित वृत्तचित्रहरू तयार तथा प्रसारण गर्नेछ । त्यसैगरी सूचना तथा प्रसारण विभागले सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यमहरूमा प्रजातन्त्रको महत्त्वको सम्बन्धमा प्रकाशन, प्रसारणमा समन्वय र सहजीकरण गर्नेछ ।  नेपाल पत्रकार महासङ्घको समन्वयमा राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा विशेषाङ्करस्मारिकाको प्रकाशन साथै प्रजातन्त्रको बहुपक्षीय आयामलाई समेट्ने र लेख रचना प्रकाशनको लागि समन्वय र सहजीकरण गर्ने जिम्मा विभागलाई दिइएको छ । 

काठमाडौं:    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ ।      सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताउनुभयो ।       “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”       उहाँले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकामा जापान सरकारप्रति आभार प्रकट गर्नुभयो ।  उहाँले भन्नुभयो, “नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकामा खुसी व्यक्त गर्दछु ।”       जापान नेपालको एक महत्वपूर्ण व्यापार साझेदार तथा नेपाली वस्तुको महत्वपूर्ण गन्तव्यका रुपमा रहँदै आएको उल्लेख गर्दै उहाँले जापानले अति कम विकसित मुलुकलाई दिएको सामान्य ग्राह्यता प्रणालीको सुविधाबाट नेपाल पनि लाभान्वित भइराखेको बताउनुभयो ।       “नेपालमा वैदेशिक लगानी प्राप्त भइरहेका मुलुकमध्ये जापान पनि एक रहेको छ, नेपालमा सूचना प्रविधि, जलविद्युत्, पर्यटन, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेका छन्, नेपाल सरकारले लगानीमैत्री तथा व्यावसायिक वातावरण प्रवद्र्धन गर्न नीतिगत तथा कानुनी सुधारलाई निरन्तरता दिइरहेको विषयसमेत म महामहिममार्फत सम्पूर्ण जापानी लगानीकर्तालाई जानकारी गराउन चाहन्छु”, मन्त्री भण्डारीले भन्नुभयो ।      जापानीहरुका लागि नेपाल महत्वपूर्ण गन्तव्य भइरहेको र नेपालमा जापानी पर्यटकको अलग्गै प्रतिष्ठा रहेको उल्लेख गर्दै उहाँले जापानी नागरिकलाई नेपाल भ्रमणका लागि थप प्रोत्साहित गर्न आग्रह गर्नुभयो ।       राजदूत तोरुले नेपाल र जापानबीच आगामी सन् २०२६ मा कुटनैतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै भविश्यका दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताउनुभयो । प्राकृतिक प्रकोप तथा विपद्मा दुई देशबीच आपसी सहयोग आदानप्रदान भएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि जलवायु परिवर्तन एवं विपद्जन्य अवस्थामा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।       तोरुले नेपाली जनताको मौलिकता अनुसार जापान सरकारले नेपालमा उद्योग स्थापनामा सघाउने बताउनुभयो । साथै उहाँले नेपाली वस्तुको जापानी बजारमा राम्रो माग रहेको उल्लेख गर्दै नेपाली उत्पादनको गुणस्तर र परिणाममा ध्यान दिए बजार विस्तारमा कुनै समस्या नहुने बताउनुभयो । उहाँले नेपाली वस्तुको जापान निर्यातमा जापान सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो । 

चितवन:   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ ।  आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताउनुभयो ।      उहाँले भन्नुभयो, “हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुप¥यो ।” विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उहाँले बताउनुभयो ।       उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर ÷पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।”      पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उहाँको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उहाँले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने बताउनुभयो ।  टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने उहाँको भनाइ थियो । सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उहाँले स्पष्ट पार्नुभयो । यो विधेयकमा धेरै समस्या रहेको बताउँदै उहाँले विधेयक नसच्याइ, परिमार्जन नभइ र संशोधन बिना पारित नहुने उहाँले बताउनुभयो ।

कैलाली:    परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताउनुभएको छ ।  कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।” मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताउनुभयो ।  केही दिनदेखि सुदूरपश्चिको कैलालीमा रहनुभएकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय  बिपी स्मृति भवनसमेत उद्घाटन गर्नुभएको छ ।

तनहुँ:   व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।  कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।  शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।  उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 

काठमाडौं:  पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।   पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताउनुभयो ।  महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ । त्यसको काम पनि सुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रिको पूर्वतयारीका लागि काम भइरहेको छ ।  यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउनसक्ने अनुमान गरेर त्यसै अनुरुपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख इश्वर भण्डारीले बताउनुभयो ।  महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । महाशिवरात्रिको तयारीका लागि सोमबार अथवा मङ्गलबार नै कोष सञ्चालक परिषद्को बैठक बसी अरु तयारीका काम पनि अघि बढाइने भएको छ ।  प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्रि पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।

काठमाडौं:  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ ।  सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो ।  नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।