कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:  हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो ।   विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।  तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र मुखमा टेपले बाँधी गरगहना र नगद लुटी हत्या गरी फरार भएका थिए ।  निज तामाङले २०७९ कात्तिक २७ गते काभ्रेको धुलिखेल नगरपालिका–९ फस्कोटमा विक्रम तामाङको घरमा लुटपाट र २०८१ साउन ३१ गते काभ्रेकै पनौती नगरपालिका–५ चौकोटमा धर्मगोपाल श्रेष्ठको होटलबाट रु ४० हजार डकैती गरेको अनुसन्धानबाट खुलेको छ ।  तामाङको समूहले काभ्रेको बनेपा नगरपालिका–३ टनचोक डाँडामा लोप्चन लामाको घरमा प्रवेश गरी तीन थान मोबाइल, नगद, गरगहना र विभिन्न धनमाल र बनेपा नगरपालिका–४ रेडक्रस टोलमा सुकान्त बम्जनको घरमा धारिलो हतियार देखाइ सुनका गरगहना तथा नगद धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।  लुटपाटका घटनामा तामाङ र निजको सहोदर दाई वीरबहादुरसहित चार जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सो घटनामा संलग्न वीरबहादुरसहित उदयपुरका ३७ वर्षीय राजुकुमार दनुवार, ओखलढुङ्गाका ५२ वर्षीय महेशकुमार खड्कालाई विभिन्न मितिमा पक्राउ परी कानुनी कारबाहीको प्रक्रियामा रहेका छन् ।  मुख्य योजनाकार बुद्धिमानको सहोदर कान्छो भाइ चमेरे भन्ने शिवकुमार तामाङ गुल्मी हत्या कसुरमा पुर्पक्षका लागि हाल कारागारमा रहेका छन् । आज पक्राउ परेका बुद्धिमानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको ब्यूरोका प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।  ‘कल बाइपास’ मा संलग्न पक्राउ यसैबीच ब्यूरोले अवैध अन्तरराष्ट्रिय कल तथा एसएमएस बाइपासमा संलग्न १९ वर्षीय धिरज पटेललाई पक्राउ गरेको छ । नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधि सहयोग र समन्वयमा ब्यूरोबाट खटिइएको प्रहरीले टोलीले उनलाई पर्साको वीरगन्ज महानगरपालिका–३० स्थित लालपर्साबाट नियन्त्रणमा लिएको हो ।  सो क्षेत्रमा दुईवटा घरमा कोठा भाडा लिएर इन्टरनेटमार्फत कल बाइपास गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।  प्रहरीले निजको साथबाट भिओआइपी गेटवे तीन थान, एनसेल कम्पनीको सिमकार्ड १४ थान, राउटर चार थान, ल्यापटप दुई थान, ब्याट्री र इन्र्भटर दुई थानलगायत बाइपास गर्ने विभिन्न उकरण बरामद गरेको छ । 

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो ।  फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले जनाएको छ । उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ ।  गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।   समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ । केबलकारका सम्बन्धमा उत्पन्न विवादका कारण भएको बन्दलगायत कारण यो वर्ष सङ्ख्या घटेको उहाँले बताउनुभयो । धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्छ । स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाखको हाराहारीमा दर्शनार्थी आउने गरेको समितिले जनाएको छ ।

सर्लाही:  सर्लाहीको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिनुुभयो ।  घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उहाँले बताउनुभयो ।  एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ:   मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ ।  तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो ।       पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ । पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”      गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८ दशमलव ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९ दशमलव २५ प्रतिशत छ । पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २० दशमलव १६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२ दशमलव ३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ ।       पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ ।  पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।       विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । मादी पुलमा ६५ प्रतिशत प्रगति      व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६५ दशमलव ०७ प्रतिशत भौतिक प्रगति भएको छ ।  मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि निर्माणाधीन पुलमा हालसम्म ६५ दशमलव ०७ प्रतिशतभन्दा प्रगति भएको हो । त्यस्तै ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ ।       पुल निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उक्त पुलमा छ वटा स्पान हुनेछन् । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।       पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।       सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।  बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । 

दैलेख: भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।   सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिनुभयो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताउनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गर्नुभएको हो ।  “हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ ।” उहाँले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो । सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले १६औँ योजनाको कार्यान्वयन, त्यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधनलगायत विषयमा अवगत गराउनुभएको थियो ।  उहाँले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तरक्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

पोखरा:   चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ ।  चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो। चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्य का अनुसार, चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ। डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेको बताइएको छ। चलचित्रका कलाकार तथा गायक रवि ओड ले ‘द्रौपदी’ प्रति ठूलो अपेक्षा रहेको बताए। चलचित्रका गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै, दर्शकहरूको साथ र माया आवश्यक रहेको बताए। आफ्नो लागि अभिनयकला नयाँ भएता पनि मिहेनत गरेको भनाई उनको छ । उनी स्थानीय कुलेको भूमिकामा चलचित्रमा देखिएका छन् । चलचित्रका निर्माता तथा कलाकार प्रकाश ज्ञवाली ले कन्टेन्टले आफूलाई तानेको बताए। अस्पताल व्यवसायमा संलग्न भए पनि राम्रो कथाले आफूलाई यो फिल्म निर्माणमा संलग्न गराएको बताए।  निर्देशक ऋषिराज आचार्य आफ्नो पुरानो साथी भएको र कथाको विषयवस्तु मन परेका कारण नै आफु लगानीका लागि तयार भएको भनाई उनको छ । चलचित्रमा कलाकारको भूमिकामा उनी पनि देखिएका छन् । नायिका आश्विनी शाही ले ‘द्रौपदी’ एउटा सशक्त कथावस्तु बोकेको चलचित्र भएको बताइन्। उनले अनुहार हेरेर चलचित्र नहेर्न, बरु कन्टेन्टलाई प्राथमिकता दिन दर्शकलाई अनुरोध गरेकी छिन् । ‘द्रौपदी’ को हिरो नै कन्टेन्ट भएको भनाई उनको छ । चलचित्रको कन्टेन्टले दर्शकलाई निराशा नबनाउने विश्वास उनले लिएकी छिन् । चलचित्रकी अर्की नायिका सुजाता तिमल्सिनाले विकट भेगको कथा दर्शकसामु ल्याउन पाउँदा खुशी लागेको बताइन्। बलियो कथामा आधारित सिनेमामा आफु बाँधिन पाउँदा उनी हर्षित छिन् । पत्रकार सम्मलेनमा चलचित्रका टिजर, गीत तथा ट्रेलरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको र चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनोट भइसकेको जानकारी गराइएको थियो। निर्देशक आचार्यले विभिन्न स्थानबाट दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको बताए। दर्शकहरूको माया र समर्थनले चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको टिमले जनाएको छ । करिब २ करोड लगानीमा चलचित्र निर्माण भएको निमार्ण पक्षले जनाएको छ ।  ४८ दिन लगाएर छायाँकन गरिएको सिनेमा अन्तर्राष्ट्रिय अवार्डका लागि समेत छनोट भएको बताइएको छ । मौलिक कथालाई आत्मसात् गरिएका कारण पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टीम आशावादी छ ।   

मोरङ: लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो ।  ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।        बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन जानुभएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते हुनुभयो ।  भागेर ज्यान जोगाउन सफल हुनुभएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताउनुभयो ।       डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्युु भइसकेको छ । यसअवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो ।  जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।       गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ ।  “हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ”, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र बताउनुहुन्छ ।       दिउँसो जङ्गलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताउनुभयो । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।       जङ्गली हात्ती मानवबस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।  मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा  करिव १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।