मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ बाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ् रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग २१ करोड ४३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । रिङ् रोड सडकअन्तर्गत १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दूरीमा कालोपत्र गर्ने योजना परेको थियो । सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङ् रोड सडकको पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ । जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङ् रोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङ् रोड सडक सम्पन्न विलम्ब भइरहेको छ । निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटक/पटकको ताकेतापछि जसोतसो घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मङ्सिरमा कालोपत्र गरिएको थियो । अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् । स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् । घरपझोङ रिङ् रोड सडकअन्तर्गत गत मङ्सिरमा तीन किमी दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरू हुनसकेको छैन ।
पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० को गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च ब्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ, भने उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद ५ लाख प्राप्त गरेको छ । खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरूले जनही नगद २५ हजार र ट्रफ्री पाए । उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनलाई नगद २१ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा बने । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ घोषित भए । उनले नगद २१ हजार प्रदान गरिएको थियो । उदीयमान खेलाडीको पुरस्कार आयोजकका पर्शु राईले पाए । उनलाई नगद १५ हजार प्रदान गरिएको थियो । फागनु २४ गतेदेखि सुरू प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।
तनहुँ: नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको छ । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यानविधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सवमा गण्डकी प्रदेशको आख्यान, आख्यानको आविष्कार, नलेखिएका कथा, पाँच कथाकारका पाँचकथा र ‘मर्यादा’ नामक नाटक प्रस्तुत गरिएको थियो । महोत्सवमा डा षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासको बारेमा प्रवचन दिनुभएको थियो भने उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने, साहित्यकार अम्बिका भट्टराईलगायतले टिप्पणी गर्नुभएको थियो । महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस गरिएको थियो । बहस कार्यक्रमको सहजीकरण प्राध्यापक डा अशोक थापाले गर्नुभएको थियो । उक्त बहसमा सहभागी साहित्यकारहरू अमर न्यौपाने, प्रभा बराल, गनेश पौडेल, बन्धुराज अधिकारीले आख्यान के हो र यसभित्र के के पर्दछन् ? कस्तो आख्यान लेख्ने ? आख्यानको सैद्धान्तिकस्वरूप र परम्परा लगायतको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । प्राध्यापक डा अशोक थापाले नै सहजीकरण गर्नुभएको तेस्रो चरणको ‘नलेखिएका कथा’ विषय कार्यक्रममा साहित्यकार रूपेन्द्र प्रभावी कटु, अञ्जना पौडेल, नारायण मरासिनी, विद्या ढकालले समाजमा नलेखिएका कथाहरूको विषय औँल्याउनुभएको थियो । चौथो चरणको ‘पाँच कथाकारका पाँच कथा’ वाचन कार्यक्रममा साहित्यकारहरू रमेशचन्द्र घिमिरे, देवीबहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य, भीम रानाभाटले हाउभाउसहित कथा वाचन गर्नुभएको थियो । साहित्यकारले प्रस्तुत गरेका कथामाथि मुस्ताङका साहित्यकार बसन्त शेरचन प्रतिक्रियात्मक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको पाँचौंँ चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटकमञ्च तनहुँद्वारा ‘मर्यादा’ नामक नाटक मञ्चन गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेले प्रतिष्ठान नलेखिएका कथाहरू खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनुभयो । नलेखिएका कथाहरू बाहिर ल्याउनु प्रतिष्ठानको दायित्व भएको उहाँको भनाइ थियो । न्यौपानेले नेपाली साहित्य तथा लोपोन्मुख भाषा संरक्षणका लागि नेपाल प्रज्ञा प्रतिष्ठान जिल्ला एवं स्थानीय तहमा गठन भएका प्रतिष्ठान तथा विभिन्न साहित्यिक सङ्घ संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्दै आएको उल्लेख गर्नुभयो ।
गोरखा: गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उहाँले जानकारी दिनुभयो । “वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन”, उहाँले भन्नुभयो, “कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।” समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उहाँको भनाइ छ । “राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्”, कार्यालय प्रमुख सुवेदी भन्नुहुन्छ, “तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।” पच्चीस मिटर लामो र ८।४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत रु दुई करोड ७५ लाख रहेको छ ।
तनहुँ: आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।” उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ”, सहायक प्रबन्धक हुसेनले बताउनुभयो । मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।
काठमाडौं: जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहनुभएकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहनुभएको छ । अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थाल्नुभएको छ । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गर्नुभएको भूमिकाले चर्चा पायो । उहाँले पहिलोपटक चलचित्रमा अभिनय गर्नुभएको हो । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा तयार भएको सो चलचित्रका लागि महिला कलाकारको खोजी भएको थाहा पाउनुभएपछि आरतीले अडिसन दिनुभएको थियो । “जनकपुरमा चलचित्र छायाङ्कन हुँदैछ र मधेसी पात्र चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ । अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गर्नुभयो । त्यसपछि केही समय अभिनय कार्यशाला गरेर तयार भएँ”, पत्रकार मण्डलले भन्नुभयो । यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उहाँले पहिलोपटक चलचित्रका लागि अभिनय गर्नुभयो । छायाङ्कनभन्दा अगाडि गरिएको कार्यशाला र कलाकारसँग घुलमिल भएपछि आरतीलाई पात्रलाई जीवन्त बनाउन सहज भयो । फलतः चलचित्र हेर्नेले उहाँको भूमिकाको प्रसंशा गरेका छन् । “मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई चलचित्रले दर्शाउँछ । यसमा महिला नै मुख्य भूमिकामा हुनुहुन्छ, घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैँमा ठूलो विषय हो”, पत्रकार मण्डलले भन्नुभयो । उक्त चलचित्रमा पत्रकार मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवले समेत अभिनय गर्नुभएको छ । यस चलचित्रमा सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीको रङझैँ चित्रण गर्नुभएको छ । चलचित्रको मूलकथा र पात्र यी सात महिला नै हुनुहुन्छ । “मैले अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि जस्तो पनि लागेको थियो, तर मेरो अभिनय हेरेर मलाई अर्को भूमिका दिनुभयो । आगामी दिनमा यस्तै आफूलाई सुहाउँदो भूमिका प्राप्त भएमा अभिनय पनि गर्छु, साथै म आफ्नो सञ्चारकर्मलाई पनि अगाडि बढाउँछु”, पत्रकार मण्डलले भन्नुभयो । नेपाली चलचित्र प्रायः पुरुष पात्र केन्द्रित हुने गर्छन् । पारिश्रमिकको विषय होस् वा भूमिकाको प्रायः पुरुष नै अगाडि देखिने गर्छन् । थोरै यस्ता चलचित्र छन्, जसमा महिला कलाकार शीर्ष भूमिकामा रहन्छन् । महिला कलाकारले मात्र चलचित्रलाई व्यावसायिक सफलता दिलाउन नसक्ने सोच धेरै चलचित्रकर्मीमा पाइन्छ । तर, चलचित्र ‘राजागञ्ज’ महिला कलाकारकै वरपर घुमेको छ । निर्देशक रौनियारले चलचित्रमा सात महिला पात्रमार्फत कथावस्तुलाई अगाडि बढाउनुभएको छ । चलचित्रमा पुरुष पात्रको उपस्थिति सहायक भूमिकामा छ । चलचित्रमा निर्देशक रौनियारले एउटा दृश्य राख्नुभएको छ, जहाँ घुम्टोमा छोपिएर बस्नुभएकी एक महिलालाई पुलिस अफिसर महिलाले प्रश्न गर्नुहुन्छ । जहाँ महिला घुम्टो बाहिर आएर बोल्न डराएका छन्, त्यहीँ अर्की महिलाले प्रहरीको नेतृत्व गर्नुभएको छ । यो चलचित्रले प्रस्तुत गरेको विषय र महिलालाई प्रस्तुत गरेको शैली सुन्दर रहेको अभिनेत्री ऋचा शर्माले बताउनुभयो । “यस चलचित्रमा काम गर्दाको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । सात महिलामार्फत यसमा समाजलाई चित्रण गरिएको छ । महिलाको विभिन्न रुप यसमा प्रस्तुत गरिएको छ । मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । महिला कलाकारलाई केन्द्रमा राखेर कथा तयार गर्नु र त्यही अनुरुप चलचित्र निर्माण गर्न ठूलो आँट चाहिन्छ”, अभिनेत्री शर्माले भन्नुभयो । निर्देशक रौनियारले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको जानकारी दिनुभएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नेपलमा सार्वजनिक प्रदर्शनअगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।
गोरखा: गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरुषले स्वास्थ्य जाँच गराएको उहाँको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि पाठेघरको क्यान्सर स्क्रिनिङ (भिआइए) परीक्षण गराइएको थियो । भिआइए परीक्षण गराइएकामध्ये चार जनामा भने क्यान्सरको जोखिम भएको पाइएको प्रमुख श्रेष्ठको भनाइ छ । उनीहरूलाई पहिलो चरणमा थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार थालिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ । त्यस्तै शिविरमार्फत एक सय ४९ जनाले हाडजोर्नीसम्बन्धी उपचार सेवा लिए भने दुई सय ५४ जनाले अन्य विभिन्न रोगको जाँच गराएको उहाँले बताउनुभयो । शिविरमा १० जनाले दन्त उपचार, ९० जनाले स्त्रीरोगसम्बन्धी उपचार, २२ जनाले छाला रोगसम्बन्धी उपचार र ७३ जनाले प्रयोशालासेवा लिएका छन् । उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको प्रमुख श्रेष्ठले बताउनुभयो । ‘‘शिविरमा हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, जनरल ओपिडी परीक्षणदेखि लिएर निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको हो, उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।” सो क्रममा करिब रु तीन लाखभन्दा बढीको औषधि बिरामीलाई वितरण गरिएको छ । लायन्स क्लब अफ गोरखाकाली, प्रभु र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं: घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ । विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो । मालपोत कार्यालय कलङ्कीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

