काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको उच्चस्तरीय छानविन समितिको स्वागत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो मागअनुसार सरकारले सो समिति गठन गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई थप सुदृढ बनाउन यसमा देखिएका समस्यालाई समयानुकुल सुधार गर्दै जानुपर्छ, व्यवस्था वा प्रणालीमा देखिएका समस्या जनाभावनाअनुसार सुधार गर्दै लैजानुपर्छ ।” उपमहासचिव पुनले सो समितिले भिजिट भिसा सम्बन्धमा देखिएका दिगो समाधानका लागि गहिरो र निश्पक्ष छानविन गरोस भनि शुभकामना व्यक्त गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरण सम्वन्धमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले समेत काम गरिरहेको र राम्रो गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको आजको बैठकमा पूर्वमुख्य सिचव शङ्करदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले समितिका सदस्यहरुमा ६ मन्त्रालयका सहसचिव रहनुभएको जानकारी दिनुभयो । समितिको सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र), प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहनुभएको छ ।
काठमाडौं: एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाउँदा शिवान्स बजगाईँले ३८ रन जोडे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।
काठमाडौं: खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्। सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए। यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए। इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए। कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ। गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो। जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए। कतारबाट काठमाडौं आउने विमानको उडान पनि आज रद्द भएको छ। बिहान ८ बजेका लागि काठमाडौं आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ। महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने विश्वास व्यक्त गरे। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए। उनीहरूलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ। सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो। वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका थिए। नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसदमा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो । सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुुख दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका २९ वर्षीय राजेश बराम रहेका छन् । राजेशले ग्रिस पठाइदिन्छु भन्दै चार जना पीडितहरूबाट ३७ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बरामलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट आइतबार पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
काठमाडौँ: सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् । आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ । रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो । वडाध्यक्षको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम गर्ने रिमालले बताईन । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी थिईन् । तालिम समापन गदै पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले वडाले पहिलोपटक यो तालिम संचालन गरेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडामा यो नयाँ तालिम रहेकाले तालिम पछि यस्लाई व्यापारीक प्रयोजनका लागि उत्पादन गरि ब्यवसायी सगै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडा सदस्य शोभा गुरुङले तालिम पछि अव आफैले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरि बेच्न आग्रह गरेकी थिईन । यी दैनिक आवश्यकताकाका समग्री रहेकाले यस्को बजार समेत राम्रो रहेको भनाई उनको थियो । समापन समारोहमा सहभागीका तर्फबाट नीता पोखरेल र निर्मला तिवारीले आफनो दैनिक जिवनमा उत्पादन हुने बस्तु रहेकाले अव घरमै यस्को उत्पादन गर्ने बताएका थिए । आफुहरुले हलसम्म लिएका तालिम मध्ये यो तालिम वयवहारीक र आवश्यक रहेको उनीहरुले बताएका थिए ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो । अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए। उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ”, गुरुङले भने । अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए । विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका माइकल परियारले बताए । “दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने । पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई–दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले बताए। पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे। पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

