पोखरा: पोखरा महानरपालिका भित्रका विभिन्न १६ विद्यालयले बहाल कर नतिरेको पाइएको छ । महालेखापरिक्षकको ६० औं प्रतिवेदन अनुसार पोखरा महानगरपालिका भित्रका १६ विद्यालयले बहाल करस्वरुप ५२ लाख ५२ हजार ६ सय ८६ रुपैयाँ नतिरेका हुन् । ति १६ विद्यालयले विभिन्न भौतिक संरचना बहालमा दिएर कुल ६ करोड ५४ लाख ३५ हजार ५ सय ४६ रुपैयाँ आम्दानी गर्दै आएका छन् । कानूनी व्यवस्था अनुसार आम्दानी रकमको ८ प्रतिशत बहाल कर सम्बन्धित स्थानीय सरकारलाई तिर्नुपर्ने प्रावधान रहन्छ । सोही अनुसार पोखरा महानगरपालिका भित्रका १६ वटा विद्यालयले महानगरलाई बहाल करबापत तिर्नुपर्ने ५२ लाख ५२ हजार ६ सय ८६ रुपैयाँ बक्यौता रकम देखिएको छ । ‘यो महानगरपालिका भित्रको १७ वटा विद्यालयले बहाल करबापत तिर्नुपर्ने रकम नतिरेपछि बेरुजुमा राखेको थियो, पोखरा महानगरपालिका राजस्व शाखाका अधिकृत दीपेन्द्र पण्डितले सुनगाभा न्यूजसँग भने, ‘त्यसमध्ये पार्दी माविले बक्यौता कर तिरिसकेको छ । बाँकी अन्य विद्यालयहरुलाई पनि हामीले पत्र काटिसकेका छौ ।’ पण्डितले बाँकी रहेका १६ विद्यायलले छिटै जगेडा गरेर बक्यौता बहाल कर चुक्ता गर्ने बताए । ‘सबै विद्यालयलाई पत्र पठाइसकेका छौ । रकम जगेडा गरेर छिटै चुक्ता गर्नुहोला नत्र उहाँहरुकै नाममा बेरुजु रहिरहन्छ त्यसैले जसरी पनि तिर्नेपर्ने हुन्छ,’ उनले भने । छोरेपाटन माविको सबैभन्दा बढी बक्यौता महालेखापरिक्षकको प्रतिवेदन अनुसार १६ वटा विद्यालयमध्ये पोखरा महानगरपालिका १७ स्थित रहेको छोरेपाटन माविको सबैभन्दा बढी बक्यौता देखिएको छ । छोरेपाटन माविले बहाल करबापत ३७ लाख ९१ हजार ४ सय ४५ रुपैयाँ तिर्न बाँकी देखिएको हो । छोरेपाटन माविले सटरभाडाको ५ लाख ८४ हजार ८ सय ७२ रुपैयाँ, गुप्तेश्वर गुफाको आम्दानीबापत २४ लाख १२ हजार १ सय ५५ र पातले छाँगो प्रवेश शुल्कको करबापत ७ लाख ९४ हजार ४ सय २५ रुपैयाँ गरी कुल ३७ लाख ९१ हजार ४ सय ४५ रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि उक्त बक्यौता रकमप्रति भने छोरेपाटन माविका प्रध्यानाध्यापक डिल्लीराम शर्माको आपत्ती छ । ‘हामीलाई महानगरको पत्र हिजो मात्रै प्राप्त भएको छ । त्यो पत्र अलि नमिल्दो छ । गुप्तेश्वर पत्रमा गुफाको पनि हाम्रै नाममा देखिएको छ, शर्माले भने, ‘गुफा स्वायत्त हो त्यसैले पहिला विद्यालय व्यवस्थापन समितिको छलफल हुन्छ कति तिर्ने ? कसरी तिर्ने ? त्यसपछि महानगरसँग विस्तृत समन्वय गर्छाै ।’ प्रतिवेदन अनुसार छोरेपाटन माविले कुल आम्दानी ४ करोड ७३ लाख ९३ हजार १ सय ६४ रुपैयाँ रहेको थियो । यस्तै पोखरा १६ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविले पनि ठुलो रकमको कर तिर्न बाँकी छ । इन्द्रराज्यलक्ष्मी माविले सटरभाडाबापत आम्दानी गरेको ४२ लाख ४१ हजार १ सय ८४ रुपैयाँको बहाल करबापत ३ लाख ३९ हजार २ सय ९५ रुपैयाँ बक्यौता छ । यस्तै पोखरा १२ अमरसिंहस्थित अमरसिंह माविले २ लाख ८६ हजार ५ सय २० रुपैयाँ तिर्न बाँकी देखिएको छ । पोखरा ६ स्थित तालबाराही माविले २ लाख ११ हजार २ सय ५७ रुपैयाँ बहाल कर तिर्न बाँकी छ । पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी माविले १ लाख ३९ हजार १ सय ४ रुपैयाँ बक्यौता छ । यस्तै पोखरा २९ मा रहेको जनप्रकाश मालिे ८९ हजार ६ सय ११ रुपैयाँ, पोखरा –११ फुलबारीस्थित शिवशक्ति माविलेपनि जग्गा तथा चमेनागृह भाडामा लगाएबापत ७५ हजार ४ सय ५५, पोखरा ९ को नवप्रभात माविले सटर, कोठा र जग्गाभाडा बापत (आर्थिक वर्ष २०७६/०७७ को समेत गरी) १ लाख ३६ हजार ८ सय १७ रुपैयाँ, पोखरा ३३ स्थित सरस्वती माविले सटरभाडा बापत ३९ हजार ४ सय ९९ रुपैयाँ, पोखरा २७ को लक्ष्मी माविले ११ हजार ९ सय ८४ रुपैयाँ, पोखरा १३ स्थित भद्रकाली माविले क्यान्टिन तथा माछापसलको भाडाबापत १५ हजार २ सय रुपैयाँ, पोखरा ३३ को शान्ति उदय माविको नाममा टावर भाडाबापत १८ हजार ३ सय ५३ रुपैया बक्यौता छ । यसैगरी पोखरा महानगरपालिका २८ स्थित जनज्योती माविले ६ हजार ९ सय २२ रुपैयाँ, पोखरा ३ को ज्ञानभूमी मावि ५८ हजार ३ सय ६० रुपैयाँ, पोखरा २६ स्थित लक्ष्मी माविले सटरभाडा बापत २४ हजार १ सय ९ रुपैयाँ र पोखरा महानगरपालिका १४ को शुक्रराज बलभद्र माविले गाइगोठ भाडाबापत ९ हजार २ सय रुपैया तिर्न बाँकी रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
तनहुँ: तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार प्रदेश मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने वर्ष १९ को ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यास नगरपालिका क्षेत्रका मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासोका आधारमा निगरानी बढाइएको थियो । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो । व्यास नगरपालिका–३ तरकारीलाईन स्थित व्यास नगरपालिकाको हाता भित्र रहेको तनहुँ मासु व्यवसायी सङ्घमा दर्ता रही सञ्चालन रहेका विभिन्न मासु पसलहरूको गुणस्तर मापन गर्ने उद्देश्यले चेकजाँच गर्ने क्रममा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । ईस्तखार आलमले सञ्चालन गर्दै आएको महम्मद फिरोज मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नको लागी बाख्री (स्त्री) जातको मासु काट्दै गरेको अवस्थामा फेला परेको प्रनाउ खाँडले बताए। सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँ उपस्थित गराई निजहरू उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । दमौलीमा यस्तो घटना प्रमाण सहित फेला परेपछि स्थानीय उपभोक्ताहरू खुसी भएका छन् । पक्राउ परेका व्यक्तिलाई कडा कारबाहीको माग उपभोक्ताले गरेका छन् । प्रशासनले यस्ता पसलको पटक पटक अनुगमन गरिरहनु पर्ने धारणा स्थानीयको रहेको छ ।
पोखरा: प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेस चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गरेको छ । यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसंग आग्रह गरेको छ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी ल्याएको श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक कडाइका साथ कार्यान्वयन गर्न पनि साधारणसभाले माग गरेको छ । विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुले नियमित रुपमा श्रमको उचित मूल्य नपाएको र विभिन्न बहानामा सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु हटाउने योजनाहरु सार्वजनिक भइरहेको हुँदा प्रेस चौतारी नेपालको यस विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । मौजुदा पत्रकार कर्मचारीलाई न्यूनतम नियमित र दीर्घकालीन रुपमा पारिश्रमिक उपलब्ध गराउन सबै सञ्चार माध्ययमसमक्ष माग पनि गरेको छ । अर्थ मन्त्रालयले बजेट नदिएका कारण जेठ १५ देखि विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने भनी सञ्चार माध्ययमलाई पत्राचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्थ मन्त्रालयलाई तुरुन्त बजेट उपलब्ध गराउन र आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह पनि गरेको छ । सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई आस्थाको आधारमा गरिएको विभेद र अन्यायप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । आस्थाका आधारमा कामबाट हटाउने वा हट्न बाध्य पार्ने क्रियाकलाप बन्द गर्न र सरकारी सञ्चार माध्ययममा श्रमजीवि पत्रकारहरुको दीर्घकालीन रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, कार्यान्वयन र नेपाली समाजको सर्वाङ्गीण विकास र रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका श्रमजीवि पत्रकारहरुद्धारा मोफसलमा सञ्चालित साना लगानीका सञ्चार माध्यमहरु धराशायी बन्दै गएको अवस्थामा यसलाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विषेश योजना र बजेटको व्यवस्था गर्न माग पनि गरेको छ । आम सञ्चार क्षेत्रमा नयाँ प्रविधिको तीब्र विकास भइरहेको अवस्थामा प्रविधिको विकाससँगै नयाँ प्रतिभाहरुलाई प्रेस चौतारी नेपालमा संगठित गरी प्रेस चौतारी नेपाललाई श्रमजीवि पत्रकारहरुको अग्रणी संगठनको रुपमा लैजाने दृढ संकल्प र प्रण गरेको चौतारीले घोषणपत्रमार्फत् जनाएको छ । वर्तमान सरकार नागरिक र नागरिकका सवालप्रति अनुदार देखिएको, सत्ता स्वार्थका लागि विदेशमा गएर आफ्नो भूमि साट्नसमेत तयार रहेको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय रहेको चौतारीको ठहर छ । यसप्रकारका असंवैधानिक र राष्ट्रहितविरुद्धका अभिव्यक्ति तुरुन्त सच्याउन जोडदार आग्रह पनि गरेको छ । गहिरिँदै गएको आर्थिक संकटलाई समाधान गर्न सरकार गम्भीर नदेखिँदा पर्यटन क्षेत्रमा समेत नकरात्मक प्रभाव परेकाले पोखरासहित देशभरका पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि विषेश प्याकेज ल्याउन प्रेस चौतारी नेपालले जोडदार माग गरेको छ । साथै, प्रेस चौतारी नेपाल कास्की शाखाको २५ औं साधारणसभा भव्यताको साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । साधारणसभाले प्रेस चौतारी कास्कीका ईञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य रुद्र श्रीषमगरको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो । केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता एवं कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको साभारणसभामा सचिव रञ्जन अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गिरीधारी पोखरेलको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
पोखरा: नेपाल पत्रकार महासंघ यतिबेला सदस्य शुद्धिकरण अभियानमा छ । राजनीतिमा लागेकाहरु, सरकारी जागिरेहरु, मूख्य पेशा अर्कै भएकाहरुलाई सदस्यता नविकरण नगर्ने मापदण्ड बनाएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । हालै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राजनीतिक आस्थाका आधारमा सदस्यता खारेज नगर भनिरहँदा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने दायाँबायाँ नगरी १५ बुँदे मापदण्ड अक्षरशः पालना गर्न खबरदारी गरेका छन् । मुख्यतः प्रेस चौतारीकै प्रस्तावमा लुम्बिनी मिडिया सम्मेलनले १५ बुँदे मापदण्ड जारी गरेको बताउँदै अध्यक्ष बस्नेतले यसको कार्यान्वयनका लागि चौतारीले जिल्ला जिल्लाबाट दबाब दिने बताए । उनले बिना हिच्किचावट मापदण्ड अनुसार सदस्यता नविकरण गर्न पनि शाखाहरुलाई आग्रह गरे । प्रेस चौतारी कास्कीको २५ औं वार्षिक साधारणसभामा बस्नेतले अब पत्रकारिता पेशामा अरु हाबी भए, पत्रकारको संस्थामा पत्रकार नै हुनुपर्छ भनेर पत्रकार शुद्धिकरणका लागि प्रस्ताव गरेको बताए । ‘चौतारीको तर्फबाट मेरो प्रस्तावमा यूनियनका अध्यक्ष शिव लम्साल र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलसहित हामी छलफल गरी पत्रकार शुद्धिकरण गर्ने निर्णय गरी पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभामा प्रस्ताव लिएर गयौँ । साधारणसभाले महासचिवको नेतृत्वमा एक समिति बनायो र लुम्बिनीको मिडिया सम्मेलनले १५ बुँदे मापदण्ड बनाई जारी ग¥यो ।’ बस्नेतले भने– ‘पत्रकार महासंघका साथीहरु अब तपाईहरु ब्याक हुनुहुन्छ कि अघि बढ्नुहुन्छ रु अगाडि बढे भात नै खानुभएछ भनौंला, ब्याक भए घाँस खाने हुनुहुँदो रहेछ भनौंला भनेर पब्लिक फोरममा बोल्न बाध्य हुनेछु भनेको थिएँ । अगाडि बढ्नुभयो । १५ बुँदे मापदण्लाई दृढताका साथ कार्यान्वयन गर्नुहोला । ब्याक हट्ने अवस्था छैन । व्यक्ति हेरेर होइन, मापदण्ड हेरेर कार्यान्वयन गर्नुस्, हामी चौतारीका कति सदस्य जान्छन् भनेर हिसाब गरेका छैनौँ ।’ प्रेस चौतारीका महासचिव हिरामान लामाले कास्की जिल्ला संगठन देशभरकै शाखामध्ये सर्वोत्कृष्ट रहेको बताउँदै पत्रकारको हकहितमा अग्रणी संस्थाको रुपमा लागिरहन आग्रह गरे । प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले अग्रजको आत्मसम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्दै पेशाको शुद्धिकरणमा प्रेस चौतारीले भूमिका खेल्नुपर्ने सुझाव दिए । नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले नेकपा एमालेको जनसंगठनमध्ये प्रेस चौतारी कास्की गर्वलायक संगठन रहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष पत्रकारिता र क्रियाशीलताको हिसामा चौतारीमा आस्थावान पत्रकार नै अगाडि रहेको उल्लेख गरे । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज सुष्मा पौडेलले श्रमजीवि पत्रकारको एकमात्र संगठन प्रेस चौतारी रहेकाले वास्तविक पत्रकारको हकहितको पक्षमा सधैं लडिरहने बताइन् । केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज रुद्र श्रीष मगरले अत्यन्त सक्रिय शाखाका रुपमा रहेको कास्कीलाई पाएको बताउँदै पत्रकारको हकहितमा सधैं यस्तै पर्फमेन्सको अपेक्षा गरे । प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कास्की शाखाको सक्रिय गतिविधिको प्रशंसा गरे । नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष बिमला भण्डारीले पत्रकार शुद्धिकरणको मापदण्ड पूर्णतः लागु गर्ने विश्वास दिलाउँदै यो, त्यो, मेरो, तिम्रो नभनी कास्की शाखा अघि बढ्ने उल्लेख गरिन् । प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले पत्रकार महासंघ शुद्धिकरणको सवालमा कहिँकतै चुक्न नहुने बताए । प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको साधारणसभाको बन्द सत्रमा सचिव रञ्जन अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गिरीधारी पोखरेलको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । साधारणसभाले ११ बुँदे पोखरा घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा पत्रकार शुद्धिकरणको मापदण्ड अक्षरशः लागु गर्नुपर्ने विषयलाई नै प्रमुख जोड दिइएको छ ।
पोखरा: गायिका तथा नायिका पार्वती थापा र दिपेश लामाको आवाजमा ‘जुग जाने मायाँ’ बोलको गीत सार्वजनिक भएको छ । कमल बहादुर गुरुङको निर्देशनमा निर्मित उक्त म्युजिक भिडियो दिपेश लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त भिडियोमा हिरा बहादुर गुरुङ र मोनीका गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । गायिका पार्वती थापाको शब्द र दिपेश लामाको संगीत रहेको उक्त गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका छन् । कास्कीको पर्यटकीय माछापुच्छ्रे गाउँपालिका –२ चौरागाउँमा दिपेश केसीको छायांकन गरेको भिडियोको सम्पादन नेत्र गुरुङले गरेका हुन् । भिडियो:
पोखरा: इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रा.लिले फाइवर क्लिन अप कार्यक्रम सोमबारबाट शुरु गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा महानगरपालिका वडा ४ सगँको सहकार्यमा कार्यक्रम आयोजना गरेको मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए । फाइवर क्लिन अप कार्यक्रम वडा ४ को कार्यलबाट पालिखे चोकसम्म गरिएको हो । पोलमा झुण्डिएका तथा लत्रिएका अव्यबस्थीत देखिएका तारहरुलाई ब्यवस्थीत गर्नको लागि फाइवर क्लिन अप कार्यक्रम शुरु गरिएको पोखरा इन्टनेटका प्रा.लिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए । वडा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले अब्यवस्थीत तारहरु ब्यवस्थीत गर्न चुनौति रहेको बताए । उनले २ संस्थाबीच समन्वय र सहकार्य गर्दे अगाडि बढ्ने बताए । प्रा.लिका जनरल म्यानेजर बरदान लामाले कार्यक्रम प्रभावकारी भएको हुनाले आगामि दिनहरुमा निरन्तरता दिइने बताए । कार्यक्रममा फाइवर क्लिन अफ बिभागका १५ जना कर्मचारीको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय संग्रहालयमा विश्व वातावरण दिवसपोखरा, २२ जेठ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ रातोपहिरोमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ । कास्कीका सिडिओ वासुदेव घिमिरेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । कार्यक्रममा सिडियो घिमिरेले सय वर्षको परिवर्तन चाहने हो भने वृक्षरोपण गर्नुपर्ने विचार राखे । सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको जनाए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र विश्वको आयु लामो हुने उल्लेख गरेका छन् । वर्ड सोसाइटी पोखराका अध्यक्ष मनशान्त घिमिरेले बर्सेनी धेरै चरा लोप हँुदै गएको उल्लेख गर्दै मानव र जीवजन्तुको सहकार्यले मात्र सुन्दर संसार बन्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रुखविरुवा बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका थिए । संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण बचाउन कुनै दिवसको आवश्यकता नपर्ने बताइन् । ‘वातावरणको महत्व हामी सवैले बुझेका छौ’ उनले भनिन, ‘बेलाबेलामा यसको महत्वबारे सम्झाउन यस्ता दिवसको पनि आवश्यकता पर्दछ ।’ उनले संग्रहालय परिसरमा विभिन्न जातका विरुवा रोपेर वातावरण दिवस मनाइएको बताइन् । वातावरण दिवसको अवसरमा प्रजिअ घिमिरे लगायत सम्पूर्ण सहभागीले बृक्षारोपण गरेका थिए । सोही कार्यक्रममा रसियन नागरिक डायना सार्किजानवा पनि विरुवा रोपेकी थिइन् ।
गण्डकी: तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला । पोखरामा फेवा तालमा दैनिक ठूलै सङ्ख्यामा पर्यटक पुगे पनि बेगनास तालमा भने आइपुग्नेको सङ्ख्या कम नै हुने गर्दछ । पछिल्ला समयमा यहाँ पर्यटकको आगमन बढाउन लेखनाथ उद्योग वाणिज्य सङ्घसहित बेगनास ताल डुङ्गा व्यवसायी समिति, मत्स्य व्यवसायी सङ्घ लेखनाथलगायतका सङ्घसंस्था क्रियाशील बनेका छन् । बेगनास तालको संरक्षणसँगै यसको पर्यटकीयरुपमा अधिकतम् उपयोग होस् भन्ने कुरालाई लेखनाथ उद्योग वाणिज्य सङ्घले सधैँ आफ्नो प्राथमिकतामा राखेको सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउनुहुन्छ । पोखरा र आसपासका सञ्चालन हुने महोत्सवमध्ये सबैभन्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको जमघट हुने लेखनाथ महोत्सवका अवसरमा वर्षेनी यसको संरक्षण र उपयोगलाई जोड दिदै विभिन्न कार्यक्रमहरू समेत सञ्चालन हुने गर्दछ । महोत्सव सुरु भए यता नै तालको संरक्षण र पर्यटकीय उपयोग गर्ने विषय प्राथमिकतामा रहँदै आएको उहाँको भनाइ छ । लेखनाथ महोत्सव २०५८÷५९ देखि नै सुरु भएपनि औपचारिक र व्यवस्थित रुपमा २०६० सालबाट सुरु भएको हो । अध्यक्ष आत्रेयले ताल किनाराको रातमाटा क्षेत्रमा करिब रु १३ लाखको लागतमा अङ्ग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राख्ने तयारी गरिएको बताउनुभयो । बेगनास ताल आउने पर्यटकले टाढैबाट देख्न सक्ने गरी बनाउन लागिएको बोर्ड ७० फुट लम्बाई र १७ फुट उचाइको हुनेछ । बोर्डमा प्रयोग हुने प्रत्येक अक्षर १० फुटको हुने जनाइएको छ । सङ्घले २०७९ मा सम्पन्न १८ औं लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिवधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरेको थियो । लेखनाथको समृद्धिको महत्वपूर्ण आधार बेगनास भएकाले ताल र यहाँ हुने गतिविधिलाई समेटेर तयार गरिएको उक्त दृश्यका अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठले १० जना सहयोगी लिएर एक हप्तामा उक्त डेमो तयार गर्नुभएको थियो । बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान, तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदि विषय समेटिएको थियो । त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको थियो । पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमिको रुखआदि दृश्यसँगै ठाउँठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको थियो । पछिल्लो समयमा बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न पहल थालिएको छ । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष एवम् बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो । बराह क्षेत्रमा बेगनासताल बराह क्षेत्र पर्यटकीय पूवर्पाधार निर्माण योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारबाट रु ५० लाखको सहयोग प्राप्त भई निर्माण कार्य अघि बढाइएको समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउनुभयो । योजनाअन्तर्गत बेगनास ताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण थालिएको हो । योजनाका लागि कुल ५५ लाख ७६ हजार ९१७ रुपैयाँ लागत लाग्नेमा गण्डकी प्रदेश प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र श्रमदानबाट रु पाँच लाख ७६ हजार ९१७ विनियोजन गरिएको छ । बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए । बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पु¥याउने लक्ष्यका साथ मन्दिरलगायतका संरचना निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनुभयो । प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिंदै आइएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्दै आएका छन् । बराह मन्दिरबाट बेगनासकोटसम्म तीन किलोमिटर दूरीको पदमार्ग बनाउने काम सुरु भएको वडाअध्यक्ष कंडेलले जानकारी दिनुभयो । पदमार्गका लागि अघिल्लो वर्ष महानगरबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा यस वर्ष नौ लाख नौ हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तै तालको किनारामा पैदल मार्ग९फुट ट्रयाक० बनाउनका लागि नेपाल पर्यटन बोर्डको रु १५ लाख र पोखरा महानरपालिकाको रु तीन लाख ७५ हजार गरी १८ लाख ७५ हजार रुपैयाँको लागतमा डुङ्गाघाटबाट फुट ट्रयाक निर्माण सुरु गरिएको छ । महानगरपालिकाले बेगनास सेरोफेरो कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको कंडेलले जानकारी दिनुभयो । बेगनास बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म यस स्थानमा महायज्ञ गरिएको थियो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रवनाथ अधिकारीका अनुसार महायज्ञमा कूल रु एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ । बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य रािखएको थियो । महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उहाँले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताउनुभयो । बेगनास तालमा डुङ्गा व्यवसाय सञ्चालनमा २५६ जना व्यवसायी आवद्ध रहेको बेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले बताउनुभयो । डुङ्गा व्यवसायीसँगै वर्षौदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका जलाहारी समूदाय पनि एकाकार हुँदै तालको संरक्षण, विकास र उपयोगमा सहकार्य गर्दै अघि बढ्ने कंडेलले जानकारी गराउनुभयो । बेगनास ताल आसपासका व्यवसायीको व्यावसायिक क्षमता अभिबृद्धिका लागि समितिले गत चैतमा अवलोकन भ्रमण गराएको थियो । समितिले ९० जना व्यवसायीलाई पछिल्लो समयमा चर्चित भरतताल, जनकपुर, सहिद स्मारक, सौराहा, सिजी धाम आदिमा अवलोकन भ्रमण गराउँदै त्यहाँबाट पर्यटकको आतिथ्यता लगायतमा प्रत्यक्ष बुझ्ने अवसर प्रदान गरेको उहाँले जानकारी दिनुभयो । बेगनासतालमा हाल २५६ वटा डुङ्गाले पर्यटकलाई सेवा दिइरहेका छन् । पर्यटकको आगमन बढाउने उद्देश्यका साथ समितिले हालै ५० लाख रुपैयाँको मोटरबोट खरिद गरेको छ । समयानुकल रुपमा पर्यटकलाई स्तरीय छिटो छरितो सेवा दिने उद्देश्यका साथ डुङ्गा व्यवसायीले सामुहिक रुपमा रकम उठाएर मोटरबोट ल्याएको जानकारी दिदै अध्यक्ष तिवारीले यसका माध्यमबाट शेयर सदस्यको आर्थिक क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो । जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो । बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त सङ्ख्या घट्दो क्रममा रहेको छ । यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् । तालको उत्तरी किनारमा रहेको पिप्लेगाउँमा ४२ परिवारको बसोबास भएकामा ३२ परिवार जलारी समुदायका छन् । बाँकी छ परिवार विक र चार अन्य छन् । वर्षौदेखि माछा मारेर जीवीका गर्दै आएका उनीहरूको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । माछा बिक्री गरेरै प्रत्येक परिवारले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्दै आएको वेगनास ताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी बताउनुहुन्छ । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत विभिन्न प्रजातिका माछा पाइन्छन् । कोरोनाअघि माछाको स्वाद लिन ठूलै संख्यामा पर्यटक आउने गरेकोमा त्यसयता भने केही कमी आएको स्थानीयवासीको तर्क छ । पछिल्ला समयमा विस्तारै पर्यटकहरू आउने क्रम बढ्ेका कारण आशा जगाएको उनीहरू बताउँछन् । बेगनास तालमा पर्यटक लक्षित पूर्वाधार एवम् गतिविधि बढ्दै जाँदा यसले यहाँको पर्यटनमा विशिष्ट योगदान पुग्ने उनीहरूको विश्वास छ ।

