फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

चितवन:  सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।    चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुक्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।   सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालका अनुसार टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो ।

पोखरा: पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको विन्दवासिनी दोहोरी साँझले अन्तर दोहोरी साँझ स्तरीय दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ ।    दोहोरी साँझको शुभारम्भ विशेष साँगीतिक कार्यक्रम अन्तर्गत यही असार २२ देखि २६ गतेसम्म प्रतियोगिता गर्न लागेको साँझको सञ्चालक विरेन्द्र केसीले जानकारी दिए ।   प्रतियोगितामा पोखरामा सञ्चालित दोहोरी साँझहरुले भाग लिन पाउनेछन् । दोहोरी प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्धितीय समूहले २० हजार, तृतीय हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोहोरी प्रतियोगितामा भाग लिने समूहले असार २० गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ । दोहोरी सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगिता दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ भने ७ बजेदेखि १ बजेसम्म शुभारभ विशेष साँगीतिक कार्यक्रम रहनेछ ।   साँगीतिक कार्यक्रममा चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने केसीले बताए । शुभारम्भ कार्यक्रमको अवधिमा विशेष छुटको पनि व्यवस्था गरिएको उनले सुनाए ।   

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ ।   सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो ।   कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।   मेहेलेमा बाढी र पहिरोबाट बिस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले जानकारी दिनुभयो ।    शनिबारदेखि वर्षासँगै आएको बाढी र पहिरोमा परी त्यस ठाउँका तीन जनाको ज्यान गएको छ भने एकै परिवारका तीन बेपत्ता भएका छन् ।   पहिरोले स्वास्थ्य चौकीको भवन नै पुरेपछि औषधि अभाव भएको छ । केही औषधि पुरिएकै ठाउँबाट निकालेर घाइतेको प्राथमिक उपचार गरिएको थियो ।   मृतकका परिवार तथा आफन्त र बाढी पहिरोबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरी मापदण्डअनुसार राहत उपलब्ध गराउन पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।   मंगलवार बसेको बैठकले राहत र उद्धारका लागि विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णयसमेत  गरेको थियो ।  

महेन्द्रनगर: कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागूऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् ।   पछिल्लो समय लागूऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागूऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिनुभयो ।   यहाँ भारतसितको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागूऔषधको कारोबार  हुने गरेको छ । कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागूऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ ।   प्रहरी निरीक्षक गिरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा दुई २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन् । “जिल्लाभरि नै लागूऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ ।”   यहाँ भारतसित सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागूऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ । महेन्द्रनगरस्थित धुम्रपान निधेषका अभियन्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागूऔषधको लतबाट बचाउन स्वयम् अभिभावक जिम्मेवार भएर लाग्नुुपर्ने बताउनुहुन्छ ।   “प्रहरीले मात्रै नियन्त्रण गरेर लागुऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ”, उहाँले भन्नुभयो, “यसका लागि सामूहिक प्रयासको खाँचो छ ।” रासस

ढोरपाटन:  बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।    गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका –५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।    दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो छ  । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो र जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो ।    मृतक दुवै पुरुष रहेको केसीले बताउनुभयो । जिपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ । रासस

दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको ज्यान गए पछि आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा दिइएको छ ।   आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ ।   गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री चढेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै हिजो दुर्घटना भएको थियो ।   दुर्घटनामा मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृता र भाउजु जयादेवी सिंहको ज्यान गएको थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लिएका यात्रुलाई स्वागत गरे ।    पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए ।    जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी १३० यात्रु पोखरा ओर्लिएका छन् ।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।   चीनको सिचुआन एयरलाइन्सको बुधवार चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच असार १ गते  सम्झौता भएको थियो । 

काठमाडौं:    अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यस अघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायःबनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतनाजगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमायसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । माघ १गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

काठमाडौ:   आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो खेलमा तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकमा नेपालले  अमेरिकामाथि ६ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । दीपेन्द्रले सौरभ नेत्रवालकरलाई चौका हान्दै खेल सकाए । भीम सार्कीले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण फाइदा उठाए । तीव्र गतिका बलर कायल फिलिपेको १० औं ओभरको अन्तिम बलमा फस्ट स्लिपमा स्टिभ टेलरले क्याच छाड्न पुगेका थिए । भीमको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । यसअघि उनले लिग २ मा युएईविरुद्ध ७० रनको इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट हुन पुगे । कुशल स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भए । अर्का ओपनर आसिफ शेख १२ रनमा सौरभ नेत्रवालकरको बलमा एलबीडब्लू आउट गरे । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए । कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । स्पिनर निसर्ग पटेलको बलमा रोहित जेसी सिंहबाट क्याच आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । कुशल स्टिभ टेलरको बलमा लङअफमा सिंहबाट क्याच आउट हुन पुगे । अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक एक विकेट लिए । त्यसअघि जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका सातौं नम्बरका विकेटकिपर शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनी बाहेक अन्य कुनैपनि अमेरिकाका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यो उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको कुनैपनि खेलको पहिलो शतक थियो । सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । एक समय १८(४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले पावर प्लेमा घातक बलिङ गरेका थिए । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । प्रमुख ब्याटर टेलर आउट भएपछि अमेरिका दबाबमा परेको थियो । नेपालविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका टेलर सुरुवातमै आउट भएपछि नेपाल पावर प्लेमा हाबी बनेको थियो । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए ।   कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो । निसर्ग पटेलले ८ र जेसी सिंहले १२ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेका थिएनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल बिहीबार वेस्टइन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।