पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

पोखरा:    पोखराको रोलिङ स्टोन बारमा आज पूर्ण राई एण्ड दाजुभाईको कन्सर्ट हुने भएको छ । भिजुअल जोनको आयोजनामा रोलिङ स्टोन्स बारमा आज बेलुकी ८ बजेदेखि साढे १२ बजेसम्म कन्सर्ट हुने आयोजक कमिटीका सदस्री सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रवेश शुल्क  नगद रु १ हजार २ सय ५० निर्धारण गरिएको छ ।  पूर्ण राई एण्ड दाजुभाईले यस अघि अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिएको थिए।

पोखरा:   पोखरा महानगरपालिका–१ मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।  ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस  विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।    वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा १० की छात्रा अनिता बि.क. प्रथम, कक्षा ९ की छात्रा प्रशंसा कार्की द्वितीय, सोही कक्षाका छात्राहरु क्रमशः ममता गुरुङ तृतीय र अंशु भुजेल सान्त्वना भए ।  यस्तै आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ६ की छात्रा सबिता सुनार द्वितीय र सोही कक्षाका छात्रहरुद्वय आदित्य लम्साल र पेरिस पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।   यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्राहरु सुजिता बाल्कोटी र सइसा तामाङ द्वितीय, कक्षा ५ का छात्राहरु आकृति पाण्डे र कृष्टन जोशी तृतीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले सान्त्वना स्थान गरे ।  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने बताए ।   छुट्टाछुट्टै भएको यस कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र नेपाली शिक्षिकाद्वय माया क्षेत्री तथा शर्मिला शर्मा थिए भने कार्यक्रमको सञ्चालन आधारभूत तहमा उर्मिला परियार र मा.वि. तहमा अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गरेका थिए । 

पोखरा:     जिल्ला प्रशासन कार्यालय कास्कीले तीनकोनाममा तडकभडक र राति अबेरसम्म बसेर हो हल्ला नगर्न आग्रह गरेको छ ।    प्रशासनले विज्ञप्ती जारी गर्दै खर्चिला, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने कार्यक्रम नगर्न आग्रह गरेको हो ।   विज्ञप्तीमा भनिएकोछ, ‘हरितालिका तीजको दिनभर निराहार व्रत बसी सो को दिनअगाडि दरखाने मौलिक परम्पराविपरीत पछिल्लो समय तीजको मुख्य दिन आउनुभन्दा निकै अगाडिदेखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहित अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने गरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने हुन्छ ।’   कास्कीको आग्रह तथा कानून बर्खिलाप कार्यक्रम गरेको पाइएमा सामाजिक सुरक्षा ऐनअनुसार कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।  

पोखरा:      पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटफाइनल समिकरण पुरा भएको छ ।    आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार एट टु नाइन टिम ‘बि’, आदर्श क्लब भण्डारढिक, सनराइज एफसी, क्लब डि, केआइइसी बुन, बगर युनाइटेड, मार्सल एफसी र कस्केरी टोल क्वाटरफाइलनमा प्रवेश गरेका छन् ।    उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा शुक्रबार हुने पहिलो क्वाटरफाइनल खेल क्लब डि र मार्सलबीच हुनेछ ।   यस्तै दोस्रो खेल केआइइसी बुन र सनराइज सिमपानीबीच हुनेछ । तेस्रो खेलमा कस्केरी १ र आदर्श क्लब भण्डारढिकबीच प्रतिस्पर्धा हुनेछ ।   अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड बगर र एट टु नाइन टिम ‘बि’बीच प्रतिस्पर्धा हुनेछ ।     सेमिफाइनल र फाइनल खेल शनिबार हुने थपलियाले जानकारी दिए । उनका अनुसार गत १ गतेदेखि जारी प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको छ ।   सो प्रतियोगिताको  विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।  

पोखरा:    पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुभयो । केन्द्रका संरक्षक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै यस किसिमका कार्यक्रमले सरसफाइप्रति सर्वसाधारण जागरुक हुने विश्वास व्यक्त गर्नुभयो । आजको सरसफाइ बेगनासताल अगाडिको उद्यान, बाँध हुँदै तालको किनार र आसपास केन्द्रित गरिएको थियो । सरसफाइमा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका अग्ुवा, स्थानीय पर्यटन व्यवसायीलगायत सहभागी थिए ।

पोखरा:     पोखरा बस्दै आएका भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । पोखरा–१२ भृकृटी टोल बस्दै आएका ४६ बर्षीय शिवकुमार बानियाँलाई लागूऔषधसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।  भारतको बनारस स्थायी घर भई पोखरा–१२ बस्दै आएका बानियाँले डेराकोठामा लुकाई राखेको लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।  ‘पोखरा–१२ भृकुटी टोलमा लागूऔषधको कारोवार भइरहेको गोप्य सूचना पाएका थियौं’, शर्माले भने, ‘सूचनापछि कास्की प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको टोलीले बानियाँको डेराकोठाबाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।’ उनका अनुसार प्रहरीले बानियाँको कोठाबाट बुप्रिनर्फिन ३सय ५३ एम्पुल, डाईजापाम ३ सय ५९ एम्पुल, फेनरागन ३ सय ४५ गरी १ हजार ५७ एम्पुल, नाईट्रोभ्याट–१० लेखेको १ हजार ७० चक्की, नुर्फिन लेखेको स्टिकर १ सय ७४ थान र एक थाना मोबाइलसहित पक्राउ गरेको हो ।  यस्तै कास्की प्रहरीले लागूऔषधसहित थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८ सिमलचौरबाट लागूऔषधसहित खोटाङका ४० वर्षीय बिरबहादुर तामाङलाई पक्राउ गरेको छ ।  खोटाङको वाकाचुल गाउँपालिका–२ स्थायी घर भएका तामाङलाई प्रहरीले बुप्रिनर्फिन ५ एम्पुल, डाईजापाम ५ एम्पुल र फेनरागन ५ एम्पुल र नाईट्रोभ्याट १० लेखेको २० चक्की लागूऔषधसहित पक्राउ गरेको हो ।  पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।   समुहको उपाध्यक्षमा कान्ति गुरुङ, सचिवमा सिता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यहरुमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत चयन गरिएको छ ।   अधिवेशनका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै आमा समुहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा व्यक्तिगत सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका थिए  ।   सो अबसरमा राष्ट्रिय भुमि अधिकार मञ्च कास्कीका संरक्षक आस बहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा १५ का सभापति सुशील पराजुली, राष्ट्रिय भुमि अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम लामिछाने, भुमि अधिकार तथा श्रमिक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टेकबहादुर पुन, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सहारा क्लबका उपाध्यक्ष पुर्ण बहादुर गुरुङ, रिभर साइट युवा क्लबका अध्यक्ष नारायण भण्डारी, समुहकी संस्थापक अध्यक्ष भिम कुमारी गुरुङ, सेतिगंगा आमा समुहकी अध्यक्ष रमा रानाभाटले शुभकामना मन्तव्य राखेका थिए ।   समुहकी सचिव कुमारी गुरुङले संस्थाले गरेका गतिविधि तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।   कार्यक्रममा समाजसेवी लिला लामिछाने, भलिबल प्रशिक्षकद्वय ठाकुर प्रसाद गुरुङ र रामबहादुर थापा, एस ई इ उत्तीर्ण छोराछोरीहरु अञ्जिला गुरुङ, महेश गुरुङ र वासिकल गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।   समुहकी अध्यक्ष शशि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष र संचालन सचीव कुमारी गुरुङले गरेकी थिइन् ।

गण्डकी:     कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ । यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिने काठको टुक्रा राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा झुण्डारएर खेतमा गाडिदिने चलन छ । यसो गरेमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलाग्ने, अन्न राम्रो उत्पादन हुने विश्वास गरिन्छ । यो संस्कृतिलाई धानबाली संरक्षण गर्ने पर्वका रुपमा समेत लिने गरिएको छ । विगतमा हरेलोका दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिएको देखिन्थ्यो । अहिले त्यो संस्कृति हराउने क्रममा रहेको पोखरा महानगरपालिका–३३ का अगुवा किसान रमेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीका सुरौदी र आसपासका क्षेत्रमा हरेलो गर्ने प्रचलन कायमै रहेपनि अधिकांश स्थानमा हराइसकेको छ  । सामान्यतः भदौको पहिलो मङ्गलबारसम्म अधिकांश खेत रोपिसक्ने भए पनि कुनै कारणवश रोप्न बाँकी भएमा हरेलो सार्ने प्रचलनसमेत रहेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उन्नत जातका धान रोप्ने प्रचलनले रोपाइँ चाँडै हुने हुँदा हरेलो सार्नुपर्ने अवस्था छैन ।” हरेलो संस्कृतिबारे पुरानो पुस्ता जानकार भए पनि पछिल्लो पुस्ताका लागि अनौठो बन्दै गएको उहाँको भनाइ छ । धान खेतीका साथै घर वरपर लगाइने लहरे तरकारीलाई मुसाले नकाटोस् भन्ने कामना गर्दै अन्नसहितको मकैको खोस्टामा बाँधिएको पोका झुण्ड्याउने प्रचलन थियो । युवा पुस्तामा यो संस्कृतिको जानकारी नहुनाका साथै कृषिप्रतिको बढ्दो अनिच्छा तथा विदेश पलायन लगायतका कारण लोपोन्मुख बनेको बुढापाका बताउँछन् ।  यस संस्कृतिलाई धानको न्वारनका रूपमासमेत लिने गरिएको छ । हरेलो गरेपछि धानको न्वारन कर्म पूरा हुने र त्यसपछि मात्रै यो धान पूजाआजामा प्रयोग हुने प्राचीन जनविश्वासले यस पर्वको सांस्कृतिक महत्व बढाएको पाइन्छ ।  हरेलो गरिसकेपछि परिवारमा खुसीयालीसहित सेलरोटी, फुरौला, माछा मासुसहित दाल, भात, तरकारी, अचार जस्ता विभिन्न परिकार खाने र जोत्ने हलीलाई खुवाउने प्रचलन रहेको स्थानीय किसान रेशम कार्कीले बताउनुभयो । हरेलोका दिन हलीलाई खुवाउने प्रचलन भए पनि पछिल्ला समयमा हलोको प्रयोग छोडेर ट्याक्टरको प्रयोग हुँदा उक्त परम्परा हराएको उहाँको धारणा छ । कृषिको व्यावसायिकीकरण एवम् आधुनिकीकरणले परम्परागत कृषिमा आधारित संस्कृति लोपहुँदै गएको उहाँको भनाइ छ ।  यस क्षेत्रमा प्राचीनकालदेखि असार १५ मा रोपाइँ गरी हिलो खेल्ने तथा दही चिउरा खाने, साउन १५ मा खिर खाने, भदौको पहिलो मङ्गलबार हरेलो गर्ने, मङ्सिर १ गते खलो पुज्ने, नयाँ धान भित्र्याएपछि न्वागी खाने जस्ता कृषिमा आधारित संस्कृति कायम छन् ।   अघिल्लो पुस्ताबाट पछिल्ला पुस्तामा प्राचीन संस्कार एवम् संस्कृति हस्तान्तरण हुन नसक्दा यस्ता संस्कृति लोप हुँदै गएका हुन् । पोखरा क्षेत्रमा विगतमा राम्रो धान फल्ने कुँडहर, पटनेरी, शिशुवा, मालमुल, राजाकोचौतारा, गगनगौँडा लगायतस्थानमा बस्ती विकाससँगै धानखेती हुने खेतहरू घडेरीमा परिणत बन्दै गएका छन् । पोखरा क्षेत्रमा २० वर्षको अन्तरालमा धेरै खेतीयोग्य जमिन घडेरीमा परिणत भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । उहाँका अनुसार पोखरा महानगरभित्र हाल एघार हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ । 

पोखरा:     गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि सञ्चालनमा ल्याइएको ‘क्यूआर कोड’ सहितको अनलाइन सेवाको आज उद्घाटन गर्दै अर्यालले उपभोक्ता ठग्नेलाई कारबाही गर्ने बताउनुभयो ।  चार्डपर्व सुरु भएसँगै खाद्य सामग्री र सार्वजनिक यातायातमा चर्को भाडा लिने काम हुँदै आएकाले यसलाई नियन्त्रण गर्न र त्यस्ता व्यक्ति वा संस्थालाई कडा कारबाही गर्न प्रशासनले जोड दिनुपर्ने उहाँको भनाइ छ ।  अझैपनि राजमार्गका होटलमा खानाको गुणस्तर नहुने र चर्को मूल्य लिने काम भइरहेकाले प्रशासनको ध्यान त्यसतर्फ जानुपर्ने उहाँले बताउनुभयो ।  नेपालमै पहिलो पटक जिल्ला प्रशासन कास्कीले सञ्चालनमा ल्याएको यस्तो सेवाले निरन्तरता पाउनुपर्ने बताउँदै अन्य जिल्लामा पनि सेवा विस्तार गर्न उहाँको सुझाव छ । उपभोक्ता संरक्षण अधिकारलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले दुर्गम गाउँका उपभोक्ता बढी मात्रामा ठगिने गरेकाले गाउँ तहसम्म उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रशासन कास्कीबाट सुरु भएको सेवाले निरन्तरता पाउनुको साथै यसको प्रभावकारिता गाउँगाउँसम्म पुग्नुपर्नेमा उहाँको जोड थियो ।  उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हित संरक्षण ऐन प्रभावकारी बन्न नसक्दा र अनुगमन प्रणाली प्रभवकारी नहुँदा बजारमा गुणस्तरहीन वस्तु र मूल्य नियन्त्रण हुन नसकेको धारणा राख्नुभयो ।  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ‘क्यूआर कोड’लाई निरन्तरता दिँदै पर्यटकीय राजधानी पोखरामा पर्यटक ठगिएका गुनासा आएकाले ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।