काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’ माथि छलफल गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । यही पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने उहाँले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
बाँके: जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सबैले अपनत्व लिने गरी, सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र समन्वयबाट मात्रै संशोधन गर्नुपर्ने आवश्यकता छ ।” पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।” अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रिय सचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेतालगायत सञ्चरकर्मीको उपस्थिति थियो ।
पोखरा: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरा आउने भएका छन् । पुष २० गते शनिबार बिहान ११ बजे पोखराको होटल दिप सागरमा प्रदेश स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन थापा पोखरा आउने कार्यतालिका छ । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न तहका पदाधिकारी, सदस्य र जनप्रतिनिधिहरु उपस्थित हुन भनिएको छ । अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसलाई अझ गतिशील बनाउनका लागि छलफल कांग्रेसको गण्डकी प्रदेशले जनाएको छ । कार्यक्रममा गगन थापाले नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने छन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । हालै तराई मधेस सम्मेलन सम्पन्न गरेको राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी पनि उनले दिए ।
काठमाडौं: नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक आज अपराह्न १ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्दै छ । पार्टी प्रचारविभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा यही पुस २१ र २२ गते हुने केन्द्रीय कमिटी बैठकका ‘एजेण्डा’, समसामयिक राजनीति, कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको बताएका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।” एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । एमालेमा रहँदा उहाँले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गर्नुभएको थियो । पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उहाँले आज पत्रकार सम्मेलनमा सुनाए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकले पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्न देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महासचिव नेत्रविक्रम चन्दले जानकारी दिनुभयो । सो पार्टीले २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषतासहितको समाजवादको पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइने उहाँले जानकारी दिनुभयो । उक्त पार्टीले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याजलगायत समस्या समाधानमा सरकारलाई जवाफदेही बनाउन आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले सिङ्गो मुलुकलाई आत्मनिर्भरतासहित समृद्धितर्फ अघि बढ्न नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अघि बढाउने, उत्पादन वृद्धि गरी काठमाडौँ उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालन गर्ने निर्णय गरेको महासचिव चन्दले जानकारी दिनुभयो ।
बाँके: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मङ्गलवार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताउनुभयो । महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिनुभयो । मिसन ८४ मा केन्द्रित भएर काम गर्न उहाँले निर्देशन पनि दिनुभयो । महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो देशमा पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, माहम्मदहारुन हलवाई, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङलगायत वक्ताले पार्टी सुदृढीकरणमा जोड दिनुभएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको पार्टीको सयदिने अभियानको समापन गर्दै उहाँले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्रनिर्माणका काममा अघि बढिरहेका भन्दै यो एकता सधैँ अक्षुण्ण रहनुपर्छ भन्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्नुपर्ने बताउनुभयो । उहाँले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, “आर्थिक रुपमा पछाडि परेका जनतालाई विकास मूल प्रवाहमा समाहित गर्नुपर्छ, दलित, महिलाका समस्या समाधान गरेर उनीहरुलाई पनि आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु नेपाली कांग्रेसको दायित्व हो ।” नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिअनुरुप सबै राजनीतिक दललाई एकाकार गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टीलाई गुट–उपगुटबाट मुक्त गर्नुपर्छ भन्नुभयो । पार्टीले काठमाडौँका एक सय ३८ वटै वडा, ११ वटै स्थानीय तह र १० वटै निर्वाचन क्षेत्रमा सयदिने अभियान सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो ।

