काठमाण्डौँ: निर्वाचन आयोगमा नयाँ दल नेपाल गाँजा पार्टी दर्ता गर्ने गरी तयारी थालिएको छ । हाल यो दलका लागि पार्टीको विधान लेख्ने काम भइरहेको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाले जानकारी दिए । नेपाल सरकारले गाँजालाई वैधानिकता नदिएका कारण नयाँ दल खोल्न बाध्य भएको संयोजक कोइरालाले जानकारी दिए । पाटीको लागि २१ जना कार्यसमिति तयार रहेको र राजनीतिक बुझेको, नेतृत्व गर्ने क्षमता भएको अध्यक्षको खोजी भइरहेको उनले बताए । कोइरालाले भने– ‘अर्को हप्ता पार्टी दर्ता गर्ने योजना बनाएर काम गरिरहेका छौँ । पार्टीको विधान लेख्ने काम भइरहेको छ । २१ जनाको कार्यसमिति पनि तयार पारेका छौँ तर संयोजक वा अध्यक्ष तोक्ने काम भएको छैन । हामी राजनीति पृष्ठभूमिको व्यक्ति नभएको हुनाले राजनीति बुझेको र सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने पार्टीको प्रथम व्यक्तिको खोजी गरिरहेका छौँ । गाँजाबारे बुझेको र सक्षम ब्यक्ति भेटिने वित्तिकै अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने योजनामा छौँ ।’ नेपाल गाँजा वैधानिक महाअभियान अन्तर्गत सामाजिक सञ्जालमा ५ लाख सदस्य रहेको र ५० हजार जुनसुकै बेला सम्पर्कमा रहने सदस्यहरु रहेको उनले बताए । नेपालमा गाँजा खेती र विक्रीलाई वैधानिक बनाउने, घर घरमा उद्यमी बनाउने र घर घरबाटै रोजगारी सिर्जना गरेर नेपाललाई आत्मनिर्भर मुलुक बनाउने पार्टीको उद्धेश्य रहेको कोइरालाले जानकारी दिए ।
काठमाडौं: जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् । यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।
काठमाण्डौँ: राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताउनुभयो । यस्तै, बैठकले प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ पारित गरेको छ । सो विधेयक बहुमतले पारित भएको हो । यस्तै, बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । यस्तै, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई पनि बैठकको बहुमतले पारित गरेको हो । मन्त्री कोइरालाले संविधान अनुसार अध्यादेश संसदमा पेश गर्नुपर्ने व्यवस्थाका कारण प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रियसभाको तर्फबाट यौन हिंसाको सम्बन्धमा पारित गरेको संकल्प प्रस्तावलाई समेत स्वागत गर्ने र त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेर अगाडि लैजान तयार रहेको बताउनुभयो । त्यसअघि बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका तीन विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराउनुभयो । सचिव फुँयालले जानकारी गराउनुभएका ती विधेयकमा ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७९’ र रेल्वे विधेयक, २०७९’ छन् । बैठकमा दिगो विकास तथा सुशासन समितिका ज्येष्ठ सदस्य वामदेव गौतमले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७७/०७८’ सभामा पेश गर्नुभयो । त्यस्तै, विधायन समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले ‘ विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७७/७८’ सभा समक्ष पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक साउन २ गते सोमबार १ बजे बस्नेछ ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिराले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा समय मागेर बोल्दै सांसद समिना हुसेनले अन्यायका विरुद्धमा बोल्दा विद्यार्थीहरू थुनामा राखिएको र त्यसविरुद्धमा केही विद्यार्थी आमरण अनशन बसेको सदनमा जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य अवस्था गम्भीर भएर विद्यार्थीलाई आइसीयूमा राखिएको जानकारी गराउँदै त्यसतर्फ गम्भीर हुन सरकारसँग आग्रह गर्नुभयो । अर्का सांसद राजेन्द्रकुमार केसीले बाढी, पहिरालाई मात्रै हेर्ने विभाग नहुँदा मुलुकमा विपद्को समस्या झन् बढिरहेको बताउनुभयो । उहाँले काठमाडौँको पहाडी भू–भाग बाढीपहिराको उच्च जोखिममा रहेको जानकारी गराउँदै त्यसबाट बस्ती जोगाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
काठमाडौँ: प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम र विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। उपसभामुखमा नेपाली कांग्रेस नेतृ भुसालले सत्तारुढ गठबन्धन र भट्टराईले नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएकी हुन्। भुसालको प्रस्तावक देव गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी छन्। यस्तै, भट्टराईले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्। उपसभामुख चयनका लागि असार ३१ गते मतदान हुने संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।
काठमाण्डौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राख्नुभयो । “पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ”, उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती दोहो¥याउने छुट वर्तमान सरकारलाई नभएको बताउनुभयो । आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले पार्टीले आफ्नो आवश्यकता कसरी महसुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने बताउनुभयो । “मेरो इच्छामा मात्र भरपर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महसुशलाई कसरी लिन्छ त्यसपछि मात्रै कुरा हुन्छ”, उहाँले भन्नुभयो, “१४औँ महाधिवेशनमा सभापतिले देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो ।” वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन स्थिरताका लागि भएको प्रष्ट पार्नुभयो । मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउने आफूहरुको मूल लक्ष्य रहेको पौडेलको भनाइ थियो । “अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो,” पौडेलले भन्नुभयो । मुलुकमा स्थायित्व र सुशासनको जग बसालेर राजनीति छाड्न मन रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । राष्ट्र बैंकका गर्भनर पार्टीको कमिटीमा बस्नु संवैधानिक र कानुन विपरीत रहेको उहाँको भनाइ थियो । “मलाई व्यवस्थाको चिन्ता भएकाले जिल्ला आउन कमी भएको थियो, अब विकासमा हलचल आउँछ”, उहाँले भन्नुभयो ।
काठमाण्डौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए। भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भारत जान लागेका छन्। भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारतको भ्रमणमा जान लागेको माओवादीका ती नेता बताउँछन्। शुक्रबार दिउँसो करिब १ बजेतिर प्रचण्ड भारत प्रस्थान गर्ने कार्यक्रम छ।
काठमाण्डौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताउनुभयोे । अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन् सबै कम्युनिष्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिष्ट एकता गराएकै हो । अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ।”उहाँले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो । अध्यक्ष प्रचण्डले विज्ञान र प्रविधिमा आम मानिसको अपरिहार्यता अनुरुप वैज्ञानिक आविष्कार हुँदै आएको छ भन्दै अहिलेको डिजिटलयुगमा मानिसको उत्पादनशक्ति र उत्पादकत्व अभिवृद्धिका लागि विज्ञान र प्रविधिलाई उपयोग गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।उहाँले वैज्ञानिकरूपमा सामाजिक रुपान्तरण र नयाँ उत्पादन र उत्पादकत्व शक्ति बढाउन विज्ञानलाई सचेतरुपले प्रयोग गरिनुपर्ने धारणा व्यक्त गर्नुभयोे । वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले वैज्ञानिक विचारधारा, विकास र समृद्धिको यात्रामा होमिएका राजनीतिक शक्तिहरूबीच यो छलफललाई अझ व्यवस्थित र योजनाबद्धरुपले अभियानकै रुपमा अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो ।
काठमाण्डौँ: नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ । यता नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइसकेको छैन ।

