चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पार्नुभएको छ । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।” आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताउनुभयो । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उहाँले जानकारी दिनुभयो ।
लमजुङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई ठुला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलकमा विकासले लय लिन थालेको बताउनुभएको छ । एमाले लमजुङद्वारा आज बेँसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रले गति लिनथालेको बताउनुभयो । सुशासन र प्रभावकारी सेवाका लागि कानुन बनेकाले सहकारी पीडितले समेत राहत पाउन थालेका उहाँको भनाइ थियो । “अधिकार सम्पन्न सहकारी प्राधिकरण बनेको छ”, उहाँले भन्नुभयो । मुलुकमा देखिएको सङ्कट समाधान गर्न दुई ठुला दल एक ठाउँमा आएका उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताउनुभयो । सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भए त्यसले कुनै असर नपार्ने उहाँको भनाइ थियो । “कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालन गर्न दुवै दल गम्भीर छन्”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । बर्तमान सरकारलाई बलियो बनाएर अघि बढ्दै एमालेलाई एक नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग कुनै सम्बन्ध नरहेको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक बिषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुकूलतामा च्यासलस्थित एमाले केन्द्रीय कार्यालय वा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताउनुभएको छ । आज यहाँ आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उहाँले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभयो । महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले र गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौँ । पार्टीलाई बलियो बनाउन लागौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमानलगायतले सम्बोधन गर्नुभएको थियो । बैठकले आगामी फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिनुभयो ।
सिरहा: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पार्नुभएको छ । बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताउनुभयो । अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताउनुभयो । मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
मोरङ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले सरकारले ल्याएको पाँच वटा अध्यादेश फिर्ता लिई सदन भित्रबाट विधेयक पारित गर्नुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले सात राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरुको सम्पत्ति विवरण बुझाउन निर्देशन दिनुका साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी गरिने बताउनुभयो । उहाँले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आग्रहअनुसार पार्टीको छलफलमा सहभागी गराइएको बताउनुभयो । अध्यक्ष दाहाल यही माघ ५ गते विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुन आउनुभएको हो ।
काठमाडौं: संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को आज यहाँ भएको संयुक्त बैठकले शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो । सङ्घीय संसद्को नियमित अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ । बैठकले शान्तिप्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरूलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राजमोका उपाध्यक्ष दुर्गा पौडेल, आजपाका सह–अध्यक्ष तिलक थापा मगर र नेसपाका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी हुनुहुन्थ्योे ।
प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन् ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन् । नेपाल सरकारको सिफारिसमा हालै राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै सावधानी र मिहिनेताका साथ अध्यादेश सिफारिस गरिएको हो । 'सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो,' उनले भने, 'यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ । यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन् । सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुंगा हानेर नदी छेक्ने प्रयास मात्रै हुन् ।' उनले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको जनाउँदै अन्य विधेयकको तयारी भएको र संसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए । उनले यथोचित समयमा संसद् आह्वान हुने पनि जनाए । कार्यक्रममा अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुतिकरण गरेका थिए ।