काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भन्नुभयो । “नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल गर्छु”, उहाँले भन्नुभयो । टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौँको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेको भनाइ थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको आवश्यक रहेको बताउनुभएको थियो । उहाँले पर्यटक बसपार्क निर्माणका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले टिवान र नाट्टाले पशुपति क्षेत्र विकास कोषसँग बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको भन्दै उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई आग्रह गर्नुभएको थियो । टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय राजधानी पोखरा र चितवनको सौराहमा पर्यटकका लागि छुट्टै बसपार्क भए पनि सङ्घीय राजधानी काठमाडौँबाट भने सडकबाट पर्यटक बस गुडाउनुपर्ने बाध्यता रहेको भन्दै यसलाई अन्त्य गर्न पहल गरिदिन सरकारको ध्यानाकर्षण गर्नुभएको थियो । टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्य, सल्लाहकार केदार शर्मा, मदन आचार्यलगायतले मुुलुकको राजधानीमा काठमाडौँबाट बसपार्कको अभावका कारण बिहान ७ बजे चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रमा पर्यटक बस गुडाउनुपर्ने अवस्था आएको भन्दै बसपार्क निर्माण भए जुनसुकै समयमा पर्यटक बस सञ्चालन गर्न सकिने बताउनुभएको थियो । हाल मुलुकको राजधानी काठमाडौँबाट पोखरा र चितवनको सौराह, लुम्बिनी, जनकपुरका लागि मात्रै दैनिक झण्डै एक सयवटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन्भने दैनिक तीन हजारदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस ‘पार्किङ’ गरेर यात्रु बोक्दै आएका छन्भने रातको समयमा विभिन्न ‘ग्यारेज’मा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक युवकको ज्यान गएको छ । मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार पोखरा महानगरपालिका—३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ठकुरी व्यापार व्यवसायका क्रममा मुस्ताङको जोमसोममा बस्दै आएको त्यहाँका पत्रकार सुन्दरकुमार थकालीले बताए । जोमसोम स्थित नेपाली सेनाको क्याम्प अगाडी ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आएका थिए । कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडीको झोलुङ्गे पुल प्रयोग गर्ने गर्दथे । पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्दार गरी जोमसोम अस्पताल लगेको थियो । ठकुरीलाई अस्पताल लग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । पुलबाट खसेर मृत्यु भएका ठकुरीको आइतबार पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाइसकिएको छ ।
बागलुङ: निसी, भुजी र तमानखोलाको संगममा छ बुर्तिबाङ बजार । जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ । जिल्लाकै दोस्रो र पश्चिम बागलुङको सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङ क्षेत्रमा अहिलेसम्म सुविधायुक्त अस्पताल थिएन । सुविधायुक्त अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक बागलुङ, पाल्पा, पोखरा र काठमाडौँ पुगेर उपचार गराउँदै आएका थिए । केही वर्षयता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएपछि केही सहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा राम्रो सेवा पाउन नसक्दा पश्चिम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि लाखौँ खर्च गरेर देशका ठूला सहरमा रहेका अस्पतालमा पुग्नुपर्ने बाध्यता थियो । पश्चिम बागलुङका नागरिकका लागि लक्षित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र जिल्ला अस्पताल नभई प्रदेशस्तरीय नै बनेको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाएको छ । रु ३२ करोड लागतमा जिल्ला अस्पताल सञ्चालन गर्नका लागि बनेको संरचनामा अहिले प्रदेश अस्पताल सुरु गरिएको हो । अहिलेसम्म उक्त संरचनामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थियो । संरचना बनेको साढे एक दशक बढी समयपछि बुर्तिबाङमा ५० शय्याको अस्पताल बनेपछि पश्चिम बागलुङवासीमा खुसी छाएको छ । प्रदेश सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई एकै पटक प्रदेशयस्तरीय अस्पतालमा स्तरोन्नति गरेसँगै जनशक्ति र उपकरण व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । स्थानीय र सरोकारवाला निकायको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाए पनि जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गर्न बाँकी छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका कर्मचारीले नै सेवा दिइरहेको बुर्तिबाङ अस्पतालका प्रमुख नवीन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार हाल ४७ जना कार्यरत रहेका छन् । ढोरपाटन नगरपालिकाले करार सेवामा २२, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट छ र निकसाइमन इनिस्टिच्यूट संस्थाबाट छजना कर्मचारीबाटै काम हुँदै आएको छ । गण्डकी प्रदेश सरकारको नीतिअनुसार प्रदेशस्तरीय अस्पताल सञ्चालनका लागि अब नौ विशेषज्ञ डाक्टर, आठ मेडिकल अधिकृतसहित ६९ कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । अहिले एक बालरोग विशेषज्ञ, एक एमडिजिपी विशेषज्ञ, तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, चार हेल्थ असिस्टेन्ट, चार अहेब, पाँच अनमी र नौ कार्यालय सहयोगीलगायत कर्मचारीले सेवा दिइएको प्रमुख ढकालले बताए । हाल स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक, बहिरङ्ग, शल्यक्रियाद्वारा प्रसूति सेवा, सामान्य शल्यक्रिया, बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला सेवा, जिनएक्पट सेवा, दन्त, आँखा उपचार सेवालगायतको सेवा दिँदै आएको उनको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पताल सञ्चालन गर्न अब दक्ष जनशक्ति र उपकरण व्यवस्थापन भए सहजरुपमा नागरिकलाई प्रभावकारी सेवा दिन सकिने ढकालले बताए । “प्रदेशस्तरीय अस्पताल घोषणा भएपछि यस क्षेत्रका नागरिकहरूमा खुसी छाएको छ, पहिले बनेको संरचना पर्याप्त भएको हुँदा तत्कालका लागि थप संरचनाको आवश्यक छैन, अब प्रदेशले आकस्मिकदेखि सबै वडामा जनशक्ति र उपकरण व्यवस्थापन गरे हुन्छ”, प्रमुख ढकालले भने, “हामीहरूले प्राथमिक स्वास्थ्य केन्द्र भए पनि २५ शय्यासम्मको सेवा दिँदै आएका थियौँ, उपकरण र डाक्टर नहुँदा धेरै बिरामी अन्यत्र पठाउन बाध्य थियौँ, अब त्यो समस्या समाधान भएको छ ।” बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६ सय महिला प्रसूति हुने गरेका छन् । दैनिक तीन सय जनालाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र प्रदेशस्तरीय अस्पताल सञ्चालनमा आएपछि बिरामी बढ्न थालेका हुन् । अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी नौ आना जग्गामा तीन ब्लगसहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् । छ दशकअघि साबिक बुर्तिबाङ गाविसअन्तर्गतका स्थापना भएको स्वास्थ्य संस्था अहिले प्रदेश अस्पतालका रूपमा विकास भएको छ । यस संस्था २०३५ सालमा उपस्वास्थ्य चौकी, २०४२ सालमा स्वास्थ्यचौकी, २०४८ सालमा सामुदायिक स्वास्थ्य केन्द्र र २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको थियो । विसं २०६४ मा जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण थालिएकामा लामो समयदेख स्तरोन्नति हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुमतिमा चालु आवमा अस्पताल स्तरोन्नति गर्नका लागि रु १२ करोड बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा बागलुङको पश्चिम क्षेत्रका जनतालाई सेवा प्रदान गर्दै आइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइने घोषणाअनुरूप अस्पताल स्तरोन्नति गरिएको हो । यही पुस १२ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको उद्घाटन गरेका थिए ।
कैलाली: कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो । तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताउनुभयो । भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताउनुभयो । “रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।” टीकापुर नगरपालिका–४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएकोे वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो । ‘‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ”, उहाँले भन्नुभयो, “चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ ।” यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ । “गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।” चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।
सिरहा: सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहनुभएको छ । पछिल्लो दुई वर्षदेखि भने उहाँ स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिनुभएको छ । खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताउनुभयो । “लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ”, उहाँले भन्नुभयो । उहाँ मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।” अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताउनुभयो । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ । अघिल्लो वर्षमात्रै माछा बिक्रीबाट रु डेढ लाख आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी रु ७५ हजार खुद नाफा भएको नन्दीलालले बताउनुभयो । आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ । किसानलाई खेतीसम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक सङ्गीता चौधरीले बताउनुभयो । उहाँले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताउनुभयो । वडा नं १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बेनी: एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए । 'पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो', उनले भने, 'हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।' खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए । प्रति १२ कोसा (दर्जन) एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उनले बताए । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ । खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताए । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले जानकारी दिए ।
भोजपुर : रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो । आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताउनुभयो । सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उहाँले जानकारी दिनुभयो । गुप्तेश्वर महादेव मन्दिरमा राम नवमी र बालाचर्तुदशीमा मेला लाग्ने गरेको छ । भोजपुर र खोटाङसँगै देशका विभिन्न स्थानबाट भक्तजन पूजार्चनाका निम्ति यहाँ आउने गरेका छन् ।
म्याग्दी: अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. १ करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ। ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु १ करोड ८ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो। आयोजनाबाट नारच्याङ बेँसी गाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए। विद्यालय, स्वास्थ्य चौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ। गोर्खा वेयलफेयरको रु. ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु. २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ। आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्यांकी, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ।
काठमाडौँ: ४२ औं आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालय च्याम्पियन बनेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । गण्डकी प्रदेश प्रहरी गत वर्षपनि च्याम्पियन बनेको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले नगद रु ३ लाख तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु १ लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टोली कोशी प्रदेश प्रहरी कार्यालय घोषित भए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले रु १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गरे । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरे । गत पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालय सहभागी थिए । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताए । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टोलीलाई अझ बढी क्षमतावान्, कुशल, दक्ष र सफल बनाउनेतर्फ पहल गर्न नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिएका थिए ।