दाङ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दल नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । महराले नागरिक उन्मुक्ति पार्टीसहित पाँच राजनितिक दल र एक स्वतन्त्र गरि ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै महराले प्रदेश प्रमुख समक्ष ४८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेकोले उहाँलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेको जनाएको छ । बिहीबार नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गर्नुभयो । यस्तै, हालै प्रमुख प्रदेश नियुक्त हुनुभएकोमा बागमती प्रमुख शर्माले भट्टलाई बधाई ज्ञापन गर्नुभयो । प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले काम र अनुभवहरू पनि साटासाट गर्नुभयो । भेटका अवसरमा आपसी कार्यानुभव आदान प्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो । प्रदेशका सिमान्तकृत समुदाय उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिनुभयो । उक्त अवसरमा बागमती प्रदेश प्रमुख शर्माले बागमती प्रदेशमा निमन्त्रणा समेत गर्नुभएको थियो ।
दाङ: लुम्बिनी प्रदेशमा रहेका चार राजनीति दलले नयाँ समिकरणको आधारमा सरकार बनाउने भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकिकत समाजवादी) र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाइ मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन गर्ने निर्णय भएको छ । समृद्ध लम्बिनी आत्मनिर्भर प्रदेश बनाउनको लागि सामाजिक न्याय, सुशासन र समद्धि सहितको बिकास जनताले प्रत्यक्ष अनुभुति गर्नेगरि संघिय लोकतान्त्रिक गणतन्त्रलाई सुद्ढ गर्दै प्रदेशको औचित्य पुष्टि गर्नेगरि सेवकको रुपमा प्रभावकारी ढंगले सरकार संचालन गर्नेगरी पाँच बुदे सहमति भएको छ । यस्ता छन् सहमति १. नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ने।क पा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको दल नेता माननीय जोखबहादर महरा लाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रि नियुक्त गर्न समर्थन गरेका छौ। २. प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्ति सरकारमा सहभागी सबै सहयोगी दलहरुकोअपनत्व हुनेगरी गरिने छ । ३. प्रदेशको पहिचान कायम गर्ने प्रदेश गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानिय सेवा ऐन निर्माण सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यन्वयन गरिने छ। ४. प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्वपंक्ति मध्यबाट एक निर्देशकसमिति निर्माणगरि कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने । ५. जनताको सेवालाई सरकारको सर्वपरि मान्दै राजनैतिक स्थायीत्व सहित लुम्बिनी प्रदेश सरकारको स्थायीत्व कायम राख्न प्रतिबद्ध छौं ।
पोखरा: गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ । संविधानको धारा, १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८० चैत २७ गते मङ्गलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ । यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा, १६९ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपा २ र एक स्वतन्त्र सांसद रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् । उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे । प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराको तेस्रो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आयोगले गरेको काम र भूमिकाको प्रशंसा समेत गरे । उनले भने, ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ ।’ पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवम् अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयीक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोक सेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरुको अलावा स्मारिका प्रकाशन जस्ता रचनात्मक कार्यहरु समेत गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि नियमित कार्यहरुको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा र सफलता मिलोस् भन्ने कामना गरे । उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट आयोगले अधिकृत छैटौं गोविन्द पौडेललाई नगद र सम्मानपत्रसहित प्रदेश प्रमुखबाट पुरस्कृत गरिएको थियो । प्रदेश प्रमुख भट्टले लोक सेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गरे।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार एक शुभकामना सन्देशमार्फत् उहाँले नेपालीहरुको महान पर्व फागु पूर्णिमा ९होली पर्व० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ – ‘खुशीको रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व) मनाइने गरिन्छ । सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाएर फागु पूर्णिमा (होलीपर्व) मनाउँदै हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वासका साथ यस पर्व धुमधामका साथ मनाइने गरिन्छ ।
म्याग्दी: प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार ३०० मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए । ‘पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ’, उनले भने, ‘टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।’ मङ्गला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाएको अनुभव सुनाए । ‘गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो’, उनले भने, ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।’ गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताए । आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्किए । टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ । गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौँबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटल व्यवसायी भीम शेरचनले बताए । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ । उनान्तीस किलोमिटर दूरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ ।
मुस्ताङ: पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो। एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए। लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उनले बताए। ‘स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न सङ्केत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ,’ उनले भने, ‘केही ठाउँमा व्यवस्थित पदमार्ग बनाउन आवश्यक देखिएकाले योजना प्रस्ताव गरेर बजेट माग गरेका छौं।’ पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडकका कारण विस्थापित भएको छ । धुलो र धुवाँले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका छन्। पथप्रर्दशकसमेत रहेका मुस्ताङको लेतेका हरि नेपालीले मुस्ताङमा सडक बनेपछि स्वदेशी र भारतीय पर्यटक आगमन बढे पनि पैदलयात्रा गर्ने तेस्रो देशका पर्यटकको सङ्ख्या घटेको बताए। पदमार्ग मासिएको र यात्रा अवधि छोटिँदा धेरै राजस्व तिर्ने र खर्च गर्ने क्षमता भएका तेस्रो मुलुकका पर्यटक घटेका उनले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२२ मा मुस्ताङ भ्रमण गर्ने तेस्रो मुलकुका पर्यटक २९ दशमलव १२ प्रतिशत रहेकामा सन् २०२३ मा त्यो अनुपात घटेर १९ दशमलव २० प्रतिशतमा झरेको छ । सन् २०२३ मा ९० हजार तीन सय ६५ जना पर्यटक आएकामा तेस्रो मुलुकका १८ हजार एक सय ६६ र सार्क राष्ट्रभित्रका पर्यटक ७२ हजार एक सय ९० जना छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० जना पर्यटकले मुस्ताङ घुमेकामा सार्कका ४६ हजार सात सय २४ जना र तेस्रो मुलुकका १८ हजार एक सय ६६ जना रहेका एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए। गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिएको छ।