म्याग्दी: शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उहाँको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ । गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उहाँको नियमित दैनिकी हो । जीवनको अधिकाश समय गोठमा बिताउनुभएका उहाँको भैँसीगोठमा अहिले नौवटा भैँसी छन् । उहाँले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आउनुभएको छ । बर्खायाममा लेकाली बुकीहरूमा पुर्याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ । घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन् । गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राख्नुभएका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन् । “म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ”, उहाँले भन्नुभयो । रोजगारीका लागि कोरिया गए पनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उहाँको भनाइ छ । गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गर्नुभएका तुलाचनले दुई महिनामै आफ्नो पुख्र्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गर्नुभयो । परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुख्र्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उहाँको भनाइ थियो । करिब १५ वर्षसम्म भेडाबाख्रापालन गर्नुभएका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आउनुभएको छ । बीस–पच्चीसवटासम्म भैँसी पाल्ने गर्नुभएका उहाँले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिनुभयो । गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उहाँले बताउनुभयो । बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाउनुभएको छ । “मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु”, उहाँले भन्नुभयो । घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उहाँले बताउनुभयो । “एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने”, उहाँले दुखेसो पोख्नुभयो । गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन् । बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन । गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताउनुभयो । उहाँले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिनुभयो ।
नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गर्नुभएन । विगतका वर्षमा तरुलखेती देखिने उहाँको बारीमा यस वर्ष कोदोखेती गर्नुभयो । “बारीमा लगाएको तरुल बँदेल आएर सबै खाइदिन्छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरुल बिक्री गर्ने त परको कुरा हो, आफूले खानसमेत पाइँदैन, त्यसैले तरुल लगाउनै छाडे ।” उहाँका अनुसार गत वर्ष करिब सात कठ्ठा जमिनमा लगाइएको तरुल सबै बँदेलले खाइदिएको छ । “बँदेलले तरुल खाएपछि वडा तथा मध्यवर्तीमा गुनासो गरेको थिएँ”, उहाँले भन्नुभयो, “बारीको लालपुर्जा आएको छैन, त्यसैले वन्यजन्तुका कारण हुने क्षतिको राहत पाइनँ ।” करिब ४० वर्षदेखि आफू यस ठाउँमा बस्दै आएको उल्लेख गर्दै उपाध्यायले जग्गाको पटक पटक नापी भए पनि लालपुर्जा नपाउँदा बारीमा जङ्गली जनावरले पुर्याएको क्षतिको राहत नपाएको गुनासो गर्नुभयो । “सरकारले हामीलाई लालपुर्जा पनि दिँदैन, हाम्रो गाउँमा वन्यजन्तु आएर बाली नष्ट गर्दा क्षतिपूर्ति पाइँदैन”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा मेरो बारीको वरिपरि रहेका अन्य बारीको लालपुर्जा छ, तर मेरो छैन ।” उहाँले गाउँमा रहेका आधाभन्दा बढी जग्गाको लालपुर्जा नभएको बताउनुभयो । मध्यविन्दु-३ कै नन्दे गुरुङ अहिले व्यावसायिक तरकारीखेतीतर्फ लाग्नुभएको छ । उहाँले विगतका वर्षमा यस समयमा मकै लगाउने गरेको जनाउँदै बँदेलका कारण मकै भित्र्याउन नपाएपछि अहिले खेती परिवर्तन गरेको बताउनुभयो । “मैले यस पटक बर्खामा पनि मकैखेती गरिनँ”, उहाँले भन्नुभयो, “मकैको हारी पस्न (घोगा लाग्न) सुरु भएपछि बारीमा बँदेल पसेर सबै मकैमा क्षति पुर्याउने गर्छ”, उहाँले भन्नुभयो, “रातिमा जङ्गली जनावर आएर बारीमा पस्ने भएकाले खेती कुर्नुभन्दा खेती नै परिवर्तन गरेँ ।” गुरुङले अहिले आफ्नो करिब एक बिघा जमिनमा टमाटर, काँक्रा, करेला, काउलीलगायत तरकारीखेती गर्नुभएको छ । “जग्गाको लालपुर्जा पाएको छैन”, उहाँले भन्नुभयो, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तु आएर गरेको क्षतिको राहत पनि नपाइने रहेछ, त्यसैले वन्यजन्तुले कम क्षति पुर्याउने खेती गर्न सुरु गरेको हो ।” चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याउँदा राहत पाउन सकेका छैनन् । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिवारीले धेरै किसानले अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याएको गुनासो गर्ने गरेको भए पनि सबैलाई राहत उपलब्ध गराउन नसकिएको बताउनुभयो । “लालपुर्जा भएको जग्गामा गरिएको खेतीमा वन्यजन्तुले क्षति पुर्याएमा राहत दिन मिल्छ”, उहाँले भन्नुभयो, “तर लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले क्षति पुर्याएको अवस्थामा राहत दिन नमिल्ने कानुनी व्यवस्था छ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ उपदफा ‘क’ का आधारमा निर्माण गरिएको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा कस्ता वन्यजन्तुले धनजनको क्षति पुर्याएमा राहत प्रदान गर्न मिल्ने भनेर उल्लेख गरिएको तिवारीले बताउनुभयो । निर्देशिकाको अनुसूची १ मा वन्यजन्तुले पुर्याएको क्षतिबापत पाउने राहतको विवरण उल्लेख गरिएको भए पनि अनुसूची २ ले लालपुर्जा नहुने जग्गामा गरिएको खेतीमा राहत पाउनबाट वञ्चित गरेको तिवारीले बताउनुभयो । वन्यजन्तुबाट भएको क्षतिको राहत रकम प्राप्त गर्न पेस गर्नुपर्ने कागजात तथा प्रमाणको बुँदा नम्बर ९ ले वन्यजन्तुबाट भएको क्षतिको राहत रकम लिनका लागि ‘घर(जग्गाधनी पुर्जा’ पेस गनुपर्ने भनी उल्लेख गरेको तिवारीको भनाइ छ । “मध्यवर्तीका धेरै किसानले लगाउनुभएको बाली वन्यजन्तुले क्षति पुर्याएको हामीले पनि देख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले पुर्याएको क्षतिको राहत दिने भनेर कानुनले नभनेका कारण पीडित किसान क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।”
झापा: झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे । “अरु बालीमा जस्तो झन्झट छैन”, उनले भने, “मूल्य पनि राम्रो छ ।” गत वर्ष प्रतिमन रु छ हजारमा तोरी बिक्री भएको उनले बताए । यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ । तोरी मिल सञ्चालन गर्दै सहकारी यता, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ । कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । “किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौँ”, उनले भने, “सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बीउ पनि उपलब्ध गराउने गरेका छौँ ।” कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाइ छ । सुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९÷८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि रु १५ लाख अनुदानसमेत उपलब्ध गराएको छ । “खाद्य गुणस्तरको अनुमति लिएपछि ब्राण्डिङ गरेर बजारमा लान्छौँ”, उनले भने। सहकारीले हाल खुद्रा खरिद गर्नेलाई रु चार सय २० प्रतिलिटर तेल बिक्री गरिरहेको छ भने ५० लिटरभन्दा बढी खरिद गर्नेलाई रु चार सय प्रतिलिटर दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताइन् । बजारमा पाइने अन्य तेलको तुलनामा महँगो भएकाले जिल्लाका सुपरमार्केट र डिपार्टमेन्ट स्टोरमा तेल बिक्रीका लागि राखिएको उनको भनाइ छ । हल्दीबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ । प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि रु १५ लाख अनुदान उपलब्ध गराएको छ । “तेल उत्पादनका लागि ५० प्रतिशत लागत सहभागितामा अनुदान दिइएको थियो”, निमित्त प्रमुख विष्टले भने, “अघिल्लो वर्ष अनुदान दिए पनि यो वर्षदेखि कार्यान्वयनको चरण आउँदैछ ।” सहकारीले स्थानीयस्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन् । सहकारीले प्याकेजिङ गरेर बजारमा पु¥याउन प्रज्ञापन पत्र लिने तयारीसमेत गरिरहेका छन् । सहकारीद्वारा उत्पादित तेल तुलनात्मक रुपमा महँगो भए पनि गुणस्तर राम्रो भएकाले बजार राम्रो रहेको निमित्त प्रमुख विष्ट बताउछन् ।
ढोरपाटनः एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । त्यस समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने गर्थे । गाउँमा जनशक्ति पनि प्रशस्तै थिए । तर पछिल्लो समय यस स्थानमा बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् । खास गरी बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका बासीन्दाको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका भएपनि हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ ।भेडाबाख्रा पालेरै परिवार धान्नेहरुलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ताले पुराना पुस्तालाई सताइरहेको छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष भयो । ७३ वर्षको उमेरमा पनि उहाँले २ सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आउनुभएको छ । बाउबाजेको पालाबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आउनुभएको छ । १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच÷सात घर मात्रै यो पेसामा रहेको उहाँले बताउनुभयो । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउनुहुन्छ । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उहाँको भनाइ छ । “हामीहरु गोठमै जन्मेउँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बेसी गरिरहेका छौँ,” सिर्पालीले भन्नुभयो, “हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दौतारी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरु बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच÷सात साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि (मृत्युपछि) गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन् ।” ढोरपाटन नगरपालिका–९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आउनुभएको छ । बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आउनुभएकामा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्षपहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाउनुभयो । छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उहाँको भनाइ छ । दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको बिकले बताउनुभयो । उहाँले भन्नुभयो, “भेडाबाख्रा पाल्ने, वनजङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा छ÷सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे, डाँडापाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरु रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन ।” तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन् । तर अब तिनीहरुको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ । किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताउनुभयो । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उहाँको भनाइ छ । “पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरुले किसानलाई प्रोहोत्सान गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय–समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ ।” बागलुङमा हाल एक लाख पचास हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिनुभयो । अहिले जिल्लाको दशवटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँगाउँमा पशु प्राधिकि खटाएको उहाँले बताउनुभयो । रासस
बेनी: बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताउनुभयो । “अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु खनेर बजार पठाउने तयारी छ, बोट राम्रो भएकाले फल पनि राम्रो हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो । सिङ्गाको डाँडाखेत, फुर्केसल्ला, राक्सेलगायतका बस्तीमा हिउँदे आलुको व्यावसायिक खेती गरिएको छ । जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष २०८०र०८१ मा जिल्लामा आठ सय रोपनी बढीमा हिउँदे आलुखेती गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत हिउँदे आलुुमा आत्मनिर्भर बनाउने तयारी गरेको हो । विगतका वर्षहरूमा गहुँ, जौँलगायतका खाद्य बाली लगाउने भए पनि यस वर्ष खायन आलु प्रवर्द्धन कार्यक्रमले किसानलाई अनुदान दिएपछि आलुखेतीलाई व्यावसायिकरूपमा लगाएको ठूलोखोकी अगुवा किसान मैना खड्काले बताउनुभयो । हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्यअनुसार खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र एक सहकारी खायन आलुको अनुदानका लागि छनोट भएका थिए । “म्याग्दी बर्खे आलुमा आत्मनिर्भर बनेर यहाँ उत्पादन भएको आलु बाहिर निकासी हुने गर्छ, अहिलेसम्म हिउँदको समयमा बाहिरका जिल्ला र भारतबाट समेत जिल्लामा आलु आयात हुँदै आएको छ, खायन आलु प्रवर्द्धन कार्यक्रमबाट अब हिउँदे आलुमा म्याग्दी आत्मनिर्भरोन्मुख बन्ने देखिएको छ”, उहाँले भन्नुभयो । यस कार्यक्रमअन्तर्गत जिल्लामा थप एक हजार रोपनीमा बर्खे आलुुखेती विस्तार हुनेछ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु १० हजारका दरले अनुदान दिएको कार्यालयले जनाएको छ । कार्यालयबाट खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत हिउँदे आलुमा बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानले अनुदान पाएका छन् । बर्खे आलुमा रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेत समेटिने कार्यालयले जनाएको छ । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन् । बीउ आलुमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष २० रोपनीमा बीउ आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा जिल्लामा छ दशमलव ३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको थियो । अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको सिङ्गा, भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् । जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको बर्खे आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बर्खे आलुमा उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको हो । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।
बागलुङ: बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र १० करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । सङ्घको आयोजनामा सम्पन्न भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको उजागर गरिएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । महोत्सवमा एक सय २० व्यापारिक कक्ष, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री कक्ष तथा लुकेर रहेका पर्यटकीयस्थल चिनाउन फोटो प्रदर्शनी गरिएको थियो । महोत्सवमा घरेलु उत्पादन सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो, टिमुर, आलु, भुटेको मकै, अल्लोबाट उत्पादन गरिएको कपडा बिक्री गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन मुला, फर्सी, टमाटरलगायत कृषिउपजको प्रदर्शनी गरिएको थियो । “महोत्सवले निराशातर्फ गएको बागलुङको व्यापारलाई माथि उठायो, धेरै व्यापारिक कक्ष खाली नै हुनेगरी व्यापार भयो, बागलुङ बजार आसपासका क्षेत्रका नागरिकसमेत किनमेलका लागि आउनुभयो”, अध्यक्ष कँडेलले भन्नुभयो, “महोत्सवको आकर्षणका रूपमा फोटो प्रदर्शनी र स्थानीय उत्पादन प्रभावकारी रहे । महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, महोत्सवले बागलुङको पर्यटन र व्यापारमा एउटा इँटा थपेको छ ।” कोरोनापछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी भएको सङ्घका महासचिव ऋषिराम गौतमले जानकारी दिनुभयो । “मुख्य मञ्च, व्यापारिक कक्ष, रमाइलो मेलालगायतले धेरैलाई आकर्षण गरेको थियो, दुलही जस्तै सिँगारिएको बागलुङ बजारले व्यापार व्यवसायलाई फस्टाउन मद्दत गरेको थियो”, गौतमले भन्नुभयो, “महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा आयोजना गर्नु ऐतिहासिक उपलब्धि भएको छ ।” महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा प्रत्यक्ष दोहोरी गीत प्रतियोगिता, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता सम्पन्न गरिएको छ । सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकम सदस्य कल्याणकारी कोषमा पाँच लाख जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति कोषमा सहयोग गरिने, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासङ्घको संस्थागत विकासमा सहयोग गरिने जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीले कृषि मुलुकको आर्थिक मेरुदण्ड भएको बताउनुभएको छ । कृषि विकास निर्देशनालय गण्डकी, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा पोखरामा आजदेखि सुरु भएको प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री जिसीले मुलुकको आर्थिक मेरुदण्ड भएको बताएका हुन् । “हाम्रो देशको सन्दर्भमा भन्ने हो भने कृषि नै हाम्रो लाइफलाइन हो, कृषि नै हाम्रो देशको आर्थिक मेरुदण्ड हो, उहाँले भन्नुभयो, सिङ्गो मुलुकको जिडिपीमा २६ प्रतिशत कृषिको योगदान छ, त्यसका कारण हाम्रो जीवन वृत्तिको प्रमुख माध्यम कृषि नै हो ।” नेपालमा कृषि पेसालाई परम्परागत र निर्वाहमुखीबाट बिस्तारै आधुनिकीकरण र यान्त्रीकरण तर्फ लैजानु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक बोधराज कार्कीले महानगर क्षेत्रका कृषकहरूलाई यान्त्रीकरणमा अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । कृषि उपजको बजारीकरण सहित सुरक्षित ढुवानीका लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले वडावडाहरुमा कृषि उपज सङ्कलन केन्द्रहरूमा समेत स्थापना गरिएको बताउनुभयो । कृषिको आधुनिकीकरण र यान्त्रीकरणका विषयमा विद्यालय तहदेखि नै अध्ययन अध्यापन गराउनु आवश्यक रहेको पोखरा १४ का वडाध्यक्ष समेत रहनुभएका संयोजक कार्कीले बताउनुभयो । महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिका पछिल्ला केही वर्षदेखि कृषि यान्त्रीकरणको अभियानमा रहेको बताउनुभयो । “हामी कृषिको आधुनिकीकरण र यान्त्रीकरणको अभियानमा छौँ, प्रमुख कडरियाले भन्नुभयो, यसका बाबजुद पनि हामीसँग केही चुनौतीहरू छन्, टुक्रे र भिरालो जमिनका कारण यान्त्रिक उपकरणहरूको उपयोग त्यति सहज छैन, तैपनि यसप्रति कृषकहरूलाई आकर्षण गर्दै अनुदान र लागत साझेदारीमा कृषि यान्त्रीकरणको काम भने निरन्तर भइरहेको छ ।” पोखरा महानगरपालिका भित्रको कृषियोग्य जमिनलाई बाँझो नराख्ने र कृषकहरूको उत्पादनलाई बजार सुनिश्चितताका सकारात्मक अभ्यासहरू महानगरपालिकाको तर्फबाट गरिएको प्रमुख कडरियाले बताउनुभयो । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीको विकल्प आधुनिकीकरण सहितको कृषि यान्त्रीकरण नै हुने व्यवसायीहरूले बताएका छन् । कृषकहरूको उत्पादन लागत कम गर्दै उत्पादनमा उल्लेख्य वृद्धि गर्न यान्त्रीकरण आवश्यक रहेको उनीहरूले बताए । उत्पादन देखी प्रशोधनसम्मका कृषि उपकरणहरू बजारमा उपलब्ध रहेका व्यवसायीहरूको भनाइ छ । प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलरहरु, सरकारी एवं गैरसरकारी सङ्घ संस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू, सेवा प्रदायक कृषक समूह, सहकारी सङ्घ संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ । १० बढी मुलुकबाट कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री भइरहेको प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीले नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले राखेको छ । सो क्रममा कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल अन्तरक्रिया हुनेछन् । प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ बिजन, आधुनिक सिँचाइ लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ ।
पोखरा: पोखरामा तीन दिने कृषि यान्त्रीकरण एक्सपो आजदेखि सुरु भएको छ । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रदेश अन्तर्गत कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत् प्रदर्शनी सुरु भएको हो । गण्डकी प्रदेशको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आज, भोलि र पर्सिसम्म सो मेला जारी रहने नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष सुनिता नेम्खेवाले बताइन् । सो प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ । प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछ भने करिब ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । कृषक, कृषि कर्मी, उद्यमी, व्यवसायी, कृषि बिग्य, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ । एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण र यन्त्रहरु तथा सेवाहरूका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरूलाई कृषि यान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ ।
इलाम: चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । उत्पादन बन्द भएपछि किसान भने यतिबेला बोटको चिया काट्न व्यस्त छन् । यतिबेला काटिएको चियाबाट पुनः वैशाख महिनादेखि उत्पादन सुरु गरिन्छ । योबेला चियाको बोटलाई छाँटकाट गर्नुपर्ने हुन्छ । मल हाल्ने बेला पनि यही हो । केही किसानले चैत महिनाभित्रै चियाको फेद वरिपरि खनेर मल हाल्ने गर्छन् । बर्खामा पलाउने झारलाईसमेत यही बेला फाल्ने गरिन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि किसानलाई तालिम दिन दिएकाले आधुनिक तरिकाबाट चिया काट्न थाले पनि अझै पर्याप्त सिकाइ नपुगेको सम्बद्ध किसानको भनाइ छ । गत वर्ष नैै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि उक्त बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानलाई केही सहज भएको थियो । बीचमा चियाखेतीप्रति कम चासो दिएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको उनीहरू बताउँछन् । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत स्थानमै पुगेर उक्त बोर्डले दुई हजार सात सय ९० जनालाई तालिम दिएको थियो । नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमै खपत हुने तथ्याङ्कमा उल्लेख छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको छ । उक्त बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती भइरहे पनि समयमा चियाको मूल्य पाउन अझैपनि किसानलाई समस्या हुँदै आएको छ ।