लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन
म्याग्दी | असोज १२, २०८१
म्याग्दी: मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो ।
लोमान्थाङ भित्र्ने पर्यटकहरूलाई ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, संस्कृति, जैविक विविधता, वन्यजन्तु, पक्षी, भौगोलिक विविधतालगायतका विषयमा जानकारी गराउने उद्देश्यले केन्द्र सञ्चालन गरेको एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो ।
“ऐतिहासिक बस्ती लोमान्थाङमा आउने पर्यटकलाई यहाँको विविध पक्षका बारेमा जानकारी लिन सहज होस् भन्ने उद्देश्यले सूचना केन्द्र सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “केन्द्रबाट पर्यटकहरूलाई गन्तव्य, आवास सुविधाको विषयमा पनि परामर्श र सूचना उपलब्ध गराउँछौँ ।”
एक्यापका कर्मचारी रहने केन्द्रमा लोमान्थाङ र आसपासका ठाउँको भौगोलिक नक्सा, ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल, गुफा, गुम्बा, कला, संस्कृति झल्कने तस्बिर, त्यसको महत्त्व, अवस्थिति, पुग्न लाग्ने समय र खानबस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण तथा समन्वय गर्नेछन् ।
माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण हो । माटोको पर्खालभित्र करिब २०० घरधुरी रहेको यहाँको बस्ती करिब छसय वर्ष पुरानो भएको वडाअध्यक्ष ढुढुके बिष्टले बताउनुभयो ।
मुस्ताङी राजा आमे पालले इस १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् ।
१५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरू छन् ।
विसं २०८१ को वैशाखदेखि भदौसम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका ९एक्याप० लोमान्थाङको तथ्याङ्क छ । सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए ।
सन् २०२२ मा तीन हजार ११२, सन् २०२१ मा ३३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार ९१८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार ११५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।
सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।
लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साबिक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।
उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दस दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन ...
यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा ...
पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले ...