बुद्धको जन्मले नेपालमा धार्मिक पर्यटनको सम्भावना बढाएको छ:  प्रधानमन्त्री दाहाल

रूपन्देही | बैशाख २२, २०८०

बुद्धको जन्मले नेपालमा धार्मिक पर्यटनको सम्भावना बढाएको छ:  प्रधानमन्त्री दाहाल

रुपन्देही:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताउनुभएको छ । 

 

शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।

 

उहाँले भन्नुभयो, ‘‘ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ ।’’


प्रधानमन्त्रीले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एक पटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ,अन्दाज गर्न गाह्रो रहेको बताउनुभयो । उहाँले अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुने धारणा व्यक्त गर्नुभयो ।

 

प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ


ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ ।


संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला रु अन्दाज गर्न पनि गाह्रो छ । तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई ह्रदयङ्गम गरी कार्य अगाडि बढाउने छ । 


तत्कालीन पाल्पाका गभर्नर जनरल खड्गशम्शेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भ फेला पारे । उक्त स्तम्भको उत्खनन् गर्दा स्तम्भमा शिलालेख देखियो । ब्राम्ही लीपि र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य पत्ता लाग्यो ।


लुम्बिनी अशोक स्तम्भको शिलालेखको दोस्रो हरफको अंश–“हिद बुधेजाते शाक्यमुनिति” अर्थात् “यहाँ शाक्यमुनि बुद्धको जन्म भयो” र चौंथो हरफको अंश “हिदे भगवान जातेति लुमिनी गामे” अर्थात् “यस लुम्विनी गाउँमा भगवानको जन्म भएकाले” भन्ने वाक्यांशहरूबाट शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित हुन्छ । त्यति मात्रै होइन यस लुम्बिनी स्तम्भले शाक्यमुनि बुद्ध केवल पौराणिक मात्र नभई ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो भन्नेसमेत प्रष्ट्याउँछ ।


सम्राट अशोकले ईशापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्विनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एक वटा गरी जम्मा ३ वटा स्तम्भ स्थापना गर्नुभयो ।


ती स्तम्भका शिलालेख, चिनिया तीर्थयात्रीहरूका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भयो । साथै नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्विनीलाई बुद्धहरूको भूमि बनाएको छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्रावाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहिँ पनि छैन । त्यसैले बृहत्तर लुम्विनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन । वर्तमान सरकार बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न तत्पर छ ।


सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको छ । अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ ।


नेपाल सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गर्दछु ।


सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र घोषणा गरिसकिएको छ । यस सन्दर्भमा सरकारको प्रयत्न र अभियानमा सहयोग गर्न म स्थानीय तथा सरोकारवालाहरूलाई अपिल गर्दछु ।


पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ । संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्त्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ ।


अस्तित्व सत्ताको स्वरूप अस्ति वा नास्ति अर्थात् भए वा नभए, छ वा छैन, दुवै छ वा दुवै छैन भन्ने भावको चतुष्कोटी सिद्धान्तलाई वस्तुको यथार्थ स्वभाव हो भनी बौद्ध माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले परिभाषित गरेका छन् । अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गर्छ । बलिरहेको दीपशिखाको अनन्त ज्योति र प्रवाहमय नदीको अनन्त धाराको परिवर्तित अस्तित्वको लक्षणार्थमा विज्ञान सत्ताको क्षणिकतालाई बोध गराउने भएकाले प्रतीत्य–समुत्पादलाई अनित्यवाद र क्षणिकवाद पनि भनिन्छ । अस्तित्वको अनित्यतालाई प्रतीत्य–समुत्पादबाट प्रमाणित गर्न सकिन्छ । वस्तुको स्वभाव क्षण, प्रतिक्षण परिवर्तन भइरहने भएकाले नै  अनित्यवादलाई क्षणिकवाद भनिएको हो । दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद ।


पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको छ । पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुबै छौँ । किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायतका नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू छन् । तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवर्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक छ । हाम्रो आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर हाम्रो दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न पनि सकिँदैन । ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।


मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ । नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको महान् जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण हुनु, क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ । तर, यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपील पनि गर्दछु ।


अन्त्यमा २५६७ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८० सफल पार्न मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण स्वदेशी तथा विदेशी महानुभावहरूलाई हार्दिक आभार प्रकट गर्दै स्वदेशी तथा मित्र राष्ट्रहरूका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई सुःख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु, धन्यवाद ।

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्

पोखरा:     गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेको प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएको छ  ।   शुक्रबार बसेको संसदीय दलको बैंठकले शुक्रबार दिउँसो ३ बजे बोला...

थप पढ्नुहोस्