जरैदेखि रोग निको पार्ने होमियोप्याथी

काठमाडाैं | चैत २७, २०७८

जरैदेखि रोग निको पार्ने होमियोप्याथी

डा. धर्मनाथ मण्डल
होमियोप्याथी भनेको एउटा चिकित्सा प्रणाली हो । होमियो चिकित्सा पद्धति वैकल्पिक औषधिको व्यवस्था हो । जो समानताको सिद्धान्तमा आधारित छ । यो चिकित्सा प्रणाली अत्यन्त सरल, प्रभावकारी छ । होमियोप्याथिकको अनुसन्धान जर्मन डा.क्रिस्चियन फ्रेडिक स्यामयुल हेनिमेनले गर्नुभएको हो । उहाँले होमियोप्याथिक उपचार विधि पत्ता लगाउनुभन्दा पहिले एलोपेथिकको चिकित्सक हुनुहुन्थ्यो । पछि उहाँले होमियोप्याथिकको खोज गर्नुभएको हो । डा. हेनिमेनले अङ्ग्रेजी, फ्रेन्च, इटालियन, ग्रिक र लेटिन भाषा पनि जान्नुभएको थियो । होमियो चिकित्सामा बालबालिकालाई पनि सहजै उपचार गर्न सकिन्छ ।

नेपालमा होमियोप्याथी उपचारको सुरुवात २०१० सालबाट भएको हो । नेपालमा सरकारी स्तरमा पशुपति होमियो चिकित्सालय हरिहर भवनमा रहेको छ तर उक्त चिकित्सालयमा सरकारको नजर पर्ने गरेको छैन । त्यहाँ तीन जना चिकित्सक कार्यरत छन् । हाललाई पशुपति होमियोप्याथिक चिकित्सालयमा एक जना दरबन्दी थपिने प्रक्रियामा छ ।विराटनगरमा होमियोप्याथिकमा एक जना डाक्टर र एक जना सहायक थप गरिएको छ । २०७७ सम्म होमियोप्याथिकमा कुनै त्यस्तो विकास हुन सकेको थिएन । विराटनगरमा होमियोप्याथिक चिकित्सामा अस्थायी रूपमा कार्यरत जनशक्ति मात्रै छन् । नेपालमा सरकारीभन्दा निजी क्षेत्रबाट होमियोप्याथिक चिकित्सा अगाडि बढेको पाइन्छ ।

विराटनगर र काठमाडौँमा यसको अलि विकास भएको मान्न सकिन्छ । सन्तोषजनक भए पनि यसलाई राम्रो भन्न सक्ने स्थिति छैन । जुन मानिस होमियोप्याथीसंँग परिचित भइसकेको छ उसले प्रायः यसको उपचारमा विश्वास राख्दछ तर नेपालमा अधिकांश मानिस होमियोप्याथिक चिकित्साबाट परिचित छैनन् र यसबाट टाढै छन् । भारतमा होमियोप्याथिक उपचार धेरै अगाडि बढेको छ । भारतको जुनसुकै प्रान्तमा होमियोप्याथिकका विश्वविद्यालय र अस्पताल छन् । जबकी नेपालमा होमियोप्याथिकको एउटा क्याम्पस पनि सञ्चालनमा छैन । भारतबाट अध्ययन गरेर आउनुपर्ने बाध्यता छ । निजी स्तरबाट एउटा होमियोप्याथिक क्याम्पस थियो । अहिले उक्त क्याम्पस पनि बन्द छ । विराटनगरमा निजी स्तरमा खोलिएको थियो यतिबेला त्यो पनि बन्द भइसकेको छ ।

त्यहाँ कुनै एक जनालाई होमियोप्याथिकबाट रोग निको भएपछि उहाँले होमियोप्याथिकको अध्यापन सुरु गर्नुभएको रहेछ तर अध्ययन गर्ने मानिस अपुग भएर उक्त केन्द्र बन्द हुन पुग्यो । होमियोप्याथी उपचारबाट निको भइसकेपछि उहाँले आफ्नै लगानीमा उक्त क्याम्पस सञ्चालन गर्नुभएको थियो । पछि विद्यार्थी नआएपछि त्यसलाई व्यवस्था गर्न सकिएन । तीन ब्याजसम्म विद्यार्थीहरू थिए । अहिले पूर्ण रूपमा बन्द रहेको छ । भक्तपुरमा होमियोप्याथीको एचए (हेल्थ असिष्टेन्ट) तहमा एउटा कलेज सञ्चालनमा थियो । त्यो पनि बन्द हुन पुग्यो । नेपालमा केही सङ्ख्यामा होमियो चिकित्सामा एचएको प्रोडक्ट रहेको छ । नेपालमा अल नेपाल होमियोप्याथिक एसोसियसन छ । हाल नेपालमा एक सयभन्दा बढी होमियोप्याथिक चिकित्सक छन् । नेपालमा होमियोप्याथिकको विकास गर्ने हो भने सरकारले होमियोप्याथिक मेडिकल कलेज सञ्चालन गरेर निःशुल्क विद्यार्थीहरू पढाउने र उनीहरूको रोजगारीको सुनिश्चितता गर्नुपर्दछ । होमियोप्याथिक उपचार विराटनगर र काठमाडौँमा मात्र सीमित नराखी नेपालभर विस्तार गर्न सकियो भने भोलिका दिनमा कुनै पनि रोग लाग्नबाट बच्न सकिन्छ । अहिले मानिसलाई होमियोप्याथीबारे कुनै जानकारी छैन ।

होमियोप्याथिक उपचार र औषधिको कुनै पनि साइड इफेक्ट छैन । प्रयोग गर्ने तरिका सहज भएको हुनाले बालबालिकाले पनि सहजै खान सक्छन् । होमियोप्याथिक उपचारबाट अरू चिकित्सा पद्धतिबाट निको नभएका बिरामीहरू निको पार्न सकिन्छ । उपचारपछि निको भएर गएका छन् । जुनसुकै रोग लागेको व्यक्ति एलोपेथिक उपचारबाट निको हुन सकेका छैनन् भने पनि विकल्पका रूपमा होमियोप्याथिकमा आउन सक्छन् । तिनीहरू पूर्णतया निको भएर गएका पनि छन् ।
कतिपय शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि होमियोप्याथिक औषधिबाट निको भएको छ । होमियोप्याथिकसम्बन्धी औषधि नेपालमा उत्पादन हँुदैन । नेपालमा जडीबुटी प्रशस्त मात्रामा छ तर औषधि उत्पादन नहुँदा सबै औषधि पनि विदेशबाट ल्याउनुपर्ने अवस्था छ । होमियोप्याथिक उद्योग स्थापना गर्ने हो भने औषधि उत्पादन गर्न सकिन्छ तर त्यसतर्फ सरकार र उद्योगपतिहरूले पनि ध्यान दिन सकिरहेका छैनन् । अधिकांश औषधि भारतबाट आउने गर्दछ । भारतबाहेकका देशमा पनि होमियोप्याथिक औषधि बन्ने गर्दछ । भारतबाट नेपालमा औषधि ल्याउन सहज भएकोले भारतबाट मात्रै ल्याउने गरिएको छ ।

स्वदेशी औषधिलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आउने औषधिलाई भन्सार लगाइएको छ । त्यहाँ होमियोप्याथिकलाई नजरअन्दाज गरिएको छ । आयुर्वेदिक र एलोपेथिक औषधि नेपालमा उत्पादन हुन्छन् । ती औषधिमा भन्सार लगाउँदा हुन्छ तर होमियोप्याथिक औषधि नेपालमा बन्दैन । त्यसैले होमियोप्याथी औषधिलाई भन्सार लगाउनु भनेको जनतालाई बढी मूल्यमा होमियोप्याथिक औषधि बिक्री गर्नु हो । होमियोप्याथिक औषधि एलोपेथिकभन्दा बढी मात्रामा पाइन्छ । नेपाल भित्रिने होमियोप्याथिक औषधि तीन हजार पाँच सयभन्दा धेरै प्रकारका छन् । यी औषधिमा पोटेन्सियल पनि बढी हुन्छ । होमियोप्याथी औषधि अन्य चिकित्सा पद्धतिका औषधिभन्दा धेरै सस्तो हुन्छ । भारतबाट नेपालमा ल्याउँदा पाँच प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । त्यसको मारमा पर्ने भनेको जनतालाई नै हो । सरकारले होमियोप्याथी उपचारलाई अगाडि बढाउनुछ भने यसमा लगाइँदै आएको भन्सार हटाउनुपर्छ । होमियोप्याथिक औषधि नेपालमा जम्मा दुई जनाले मात्र ल्याउने गरेका छन् ।

नेपालमा दर्ता भएका कम्पनी जम्मा चारवटा मात्र छन् । भारतमा दर्ता भएका होमियोप्याथिको कम्पनी एक हजारभन्दा पनि बढी छ । अरू कम्पनीको औषधि नआउनुमा नेपालमा होमियोप्याथिकको प्रचार तथा विस्तार हुन सकेको छैन । अर्को कारण भनेको औषधि व्यवस्था विभागमा औषधि दर्ता प्रक्रिया धेरै झन्झटिलो छ । अलि पहिले त अर्को कुनै कम्पनी खोल्न पहिले भइरहेकोले नो अब्जेक्सन लेटर दिनुपर्ने व्यवस्था थियो । उसले आफ्नो व्यापारका लागि नो अब्जेसन लेटर दिने विषय हुँदैनथ्यो तर अहिले त्यो व्यवस्था हटेको छ । अर्को कम्पनी आएमा मलाई कुनै आपत्ति छैन भनेर नो अब्जेसन लेटरको व्यस्था गर्नु पर्दथ्यो । त्यसले मौलिक अधिकारको हनन भएको थियो । त्यो काम औषधि व्यवस्था विभागले गरेको थियो ।

होमियोप्याथिकबाट मुसाको पूर्ण रूपमा उपचार हुन्छ । मैले दैनिक पाँच जनादेखि २० जनासम्म बिरामी हेर्ने गरेको छु । अहिले सरकारी मातहतमा रहेको पशुपति होमियोप्याथिकमा एलोपेथिक नर्स कार्यरत छन् । होमियोप्याथिकलाई अगाडि बढाउनका लागि भन्सारमा लगाइँदै आएको भन्सार कर हटाउनुपर्छ । नेपालमा होमियोप्याथिकलाई नियन्त्रण र व्यवस्थित गर्ने कुनै काउन्सिल छैन । सरकारले एउटा काउन्सिल बनाइदियो भने पनि त्यसले होमियोप्याथिक उपचार विधिलाई सहयोग गर्न ठूलो मद्दत पुग्ने थियो । अहिले स्वास्थ्य व्यवसायी परिषद्ले नियमन गरिरहेको छ । स्वास्थ्य व्यवसायी एलोपेथिकको सहायक संस्था हो । यसले होमियोप्याथिक चिकित्सालाई नियन्त्रण गर्न सक्दैन । जुन मानिस होमियोप्याथिकबाट परिचित छ उसले मात्र होमियोप्याथिकको उपचार बुझेको हुन्छ । अन्य चिकित्साबाट रोग तत्काललाई निको भए पनि रोगलाई निर्मूल पार्न होमियोप्याथिकले सहयोग गर्दछ । जस्तो कुनै मानिसलाई ग्याष्ट्रिक भइरहेको छ, रुघा सधैँ लागिरहन्छ । माइग्रेन वा टाउको दुखाइ निरन्तर छ ।

औषधि खाएर पनि निको भएको हँुदैन तर होमियोप्याथीबाट त्यस्ता रोग पूर्ण रूपमा निको पार्न सकिन्छ । मानौँ २५ वर्षदेखि माइग्रेन छ भने छ महिना होमियोप्याथिकको औषधि सेवन गर्ने हो भने माइग्रेन पूर्ण निर्मूल हुन्छ । जुन कारणबाट माइग्रेन हुन्छ । त्यस कारणकै उपचार होमियोप्याथिकमा हुन्छ । ग्याष्ट्रिक भइरहने मानिसलाई पनि होमियोप्याथिकले निको पार्दछ । बच्चादेखि नै होमियोप्याथी उपचारको बानी बसालेको अवस्थामा त्यो बच्चाको रोग प्रतिरोधात्मक क्षमता अरूको तुलनामा बढी हुन्छ । त्यसैले पनि होमियोप्याथी अन्य उपचारभन्दा बढी प्रभावकारी छ । चिकित्सकको सल्लाहबिना होमियोप्याथिकको औषधि खान हुँदैन । कुनै मानिसले डाक्टर नभएर पनि उपचार गराइरहेका छन् । कुनै साइडइफेक्ट गर्दैन भन्ने थाहा भएपछि उसले उपचार गर्दछ । हो यस्तो विकृतिलाई अन्त्य गर्नका लागि पनि होमियोप्याथिक चिकित्सामा छुट्टै काउन्सिलको व्यवस्था हुनुपर्दछ ।

होमियोप्याथिक उपचार गर्दा होमियोप्याथिक औषधिको मात्रा न्यूनतम प्रयोग गर्नुपर्छ । होमियो चिकित्सा तथा औषधिले शरीरको प्रतिरक्षा गर्ने क्षमता बढाउँछ । जसका कारण पटक–पटक दोहोरिने रोग जरैबाट निको भएर जान्छ ।
होमियोप्याथिक उपचारका विशेषताहरूमा रोगका लागि थोरै र कम मात्रामा औषधि प्रयोग गरिन्छ । होमियोप्याथिकमा नयाँ र पुराना, पटक–पटक दोहोरिने रोगको प्रकृति, ट्युमर, मुसा, किड्नीको पत्थरी, पाइल्स, जोर्नी दुखाइ, हड्डी, खिचेको, नसा च्यापिएको जस्ता रोगको सहजै उपचार हुन्छ ।

होमियोप्याथिक चिकित्सा प्रणालीबाट रोगी जनतालाई सरल, सुविधापूर्ण र नकारात्मक प्रतिक्रियारहित तरिकाबाट स्वास्थ्य उपचार गराउन मद्दत पुग्दछ । शक्तिकृत होमियोप्याथिक औषधि कुशल चिकित्साको निर्देशनमा प्रयोग गर्दा यसबाट कुनै प्रतिकूल असर गर्दैन । होमियोप्याथिक पद्धतिमा लामो समयको अनुसन्धान र पूर्ण स्वस्थ मानिसमा प्रयोग गरी स्थापित भएको चिकित्सा हो । होमियोप्याथिक चिकित्सा प्रणाली सरल, सुरक्षित तथा प्राकृतिक र सस्तो भएकोले नेपालजस्तो देशका लागि अत्यावश्यक रहेको छ । होमियोप्याथिक चिकित्सा प्रणालीलाई विकास गर्न छुट्टै काउन्सिलको आवश्यकता छ । यस्तै होमियोप्याथिक स्वास्थ्य नीति पनि बनाइनुपर्छ र होमियोप्याथिक सरकारी शिक्षण अस्पतालको स्थापना गर्नु जरुरी देखिन्छ ।

साभारः गाेरखापत्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।   प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना ग...

थप पढ्नुहोस्

विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गु...

थप पढ्नुहोस्

काठमाडौँ, चैत २८ गते । विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइत...

थप पढ्नुहोस्