प्रदेश सरकार : अब त्यस्तो नहोस्

काठमाडाैं | पुस २५, २०७९

प्रदेश सरकार : अब त्यस्तो नहोस्

रामजी दाहाल

 

‘सङ्घीयता अनिच्छित शिशुजस्तो भएको छ, मार्न/फाल्न पनि नसक्ने र हुर्काउन पनि नचाहने ।’ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा आयोजित एक कार्यक्रममा सङ्घीयताका बारेमा गरेको टिप्पणी हो यो । सङ्घीय सरकारले विगत पाँच वर्षमा सङ्घीयताप्रति कुन हदको बेवास्ता गरेको छ भन्ने मुख्यमन्त्री राउतको यो भनाइबाट पनि प्रस्ट हुन्छ । 

 

संविधान सभाबाट संविधान जारी भएर सङ्घीयता कार्यान्वयनमा आएसँगै सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै तहको दोस्रो निर्वाचन भएको छ । सातवटा प्रदेशमध्ये प्रदेश १ बाहेकका अरू सबैको नामकरण गरिएको छ । राजधानी पनि तोकिइसकेको छ । ४ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि  सातवटै प्रदेश सभाको पहिलो बैठक बसेको छ । बैठकपछि प्रदेशमा सभामुख, उपसभामुख र मुख्यमन्त्री चयनको बाटो खुलेको छ । सातवटै प्रदेश सभाको पहिलो बैठकले आर्थिक समृद्धिको नारालाई प्रमुख रूपमा अघि सारेका छन् । प्रदेश सभा पहिलो बैठकमा सदस्यले आफ्नो प्रदेशलाई नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । त्यसो त प्रदेश सभा सदस्यको यो कागजी प्रतिबद्धता नौलो भने होइन । अघिल्लो प्रदेश सभामा पनि उनीहरूले त्यस्तै प्रतिबद्धता जनाएका थिए । आफूले व्यक्त गरेका ती प्रतिबद्धता पूरा गर्ने सबालमा पाँच वर्षको बीचमा एक पटक पनि उनीहरूले स्मरण गर्नु जरुरी नै ठानेनन् । 

 

पहिलो प्रदेश सभा सदस्यको अनुभवले भन्छ, ‘प्रदेश सभाको पहिलो कार्यकाल त्यति उत्साहजनक रहेन । हुन पनि राजनीतिक स्थायित्वलाई प्रमुख एजेन्डा बनाएका दलहरूकै कारण केन्द्रजस्तै प्रदेश सरकार पनि अस्थिर भइरहे । यसबीचमा  सातवटा प्रदेशमा १४ जना मुख्यमन्त्री र २३० जना मन्त्री भए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाहेक कसैले पनि पहिलो पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनु भएन । सरकार फेरिएसँगै प्रदेश प्रमुख पनि फेरिँदा सात प्रदेशमा २४ जना प्रदेश प्रमुख नियुक्त भए । 

नेपालको संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेश सभाको कुल सदस्य सङ्ख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ । जबकि प्रदेश मन्त्रिपरिषद् अन्य देशको तुलनामा यो नै ठूलो हो । मुख्यमन्त्रीले संविधानमा उल्लिखित यो व्यवस्थाविपरीत कुर्सी जोगाउन मनपरी ढङ्गबाट मन्त्री नियुक्त गरे । कतिसम्म भने सत्ता टिकाउनकै लागि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशका आठवटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउनुभयो । मन्त्रालय फुटाउने कामको थालनी पाण्डे अघिका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नै गर्नुभएको थियो । 

ठूलो सङ्ख्याको मन्त्रिपरिषद् धान्न प्रशासनिक खर्च पनि सोही अनुपातमा वृद्धि हुन्छ नै । संविधानविपरीत मुख्यमन्त्रीले गठन गरेको जम्बो मन्त्रिपरिषद्ले सङ्घीयता महँगो भयो, यसलाई धान्न कठिन हुन्छ भनेर परिवर्तनको विपक्षमा वकालत गर्दै आएको सङ्घीयताविरोधी जनमतलाई थप बल मिल्न जान्छ । त्यसकारण खासगरी सङ्घीयताका पक्षधर दल र तिनको नेतृत्वले यस्ता विषयमा गम्भीर भएर सोच्नुपर्छ । 

 

सङ्घीयता भनेको खाली प्रदेश र नाम मात्र होइन । सङ्घीयताको मर्म र भावनाअनुसार अधिकारको स्थानीयकरण हुनुपर्छ । नेपालको सन्दर्भमा हेर्दा प्रदेश सरकारको कमजोरीका कारण अधिकारको नभई बेथितिको स्थानीयकरण भएको भनेर आलोचना हुने गरेको छ । प्रदेश सरकारको बेथिति प्रत्यक्ष भोगेका र देखेका नागरिकको बुझाइमा प्रदेशको शासन शैली सिंहदरबारको भन्दा खासै भिन्न छैन । जबकि सङ्घीय व्यवस्थामा संविधानले प्रदेश सरकारको अधिकार सुनिश्चितता गरेको छ । संविधानमै सुनिश्चित गरिएको व्यवस्थाअनुसार प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्छ । अर्थात् सङ्घीयताको मर्म र भावनाअनुसार काम गर्नुपर्ने हुन्छ । सङ्घीयताको मूल मर्म भनेकै अधिकारको विकेन्द्रीकरण हो । राजनीतिक नेतृत्वमा केन्द्रिकृत सोच हाबी छ । त्यसैले सिंहदरबारमा रहेको अधिकार तल्लो तहको सरकारलाई हस्तान्तरण गर्न राजनीतिक नेतृत्वले कन्जुस्याइँ गर्दै आएको छ । यो मामिलामा घटी, बढी होलान् तर कांग्रेस, एमाले, माओवादी सबै यही सोचाइबाट निर्देशित छन् ।

 

त्यसैले संविधान सभाबाट संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि सङ्घीय सरकार तल्लो तहलाई अधिकार हस्तान्तरण गर्न तयार नभएको हो । यसबाट प्रस्ट हुन्छ, राजनीतिक नेतृत्वले प्रदेशलाई सहजभन्दा पनि बाध्यात्मक उपज ठानेको छ । जबकि प्रदेश सरकारलाई जनताको घरदैलोको सरकार भन्ने गरिन्छ । त्यस हिसाबले सानातिना कामका लागि नागरिकले सिंहदरबार धाउनु नपर्ने हो । सिंहदरबारको राजनीतिक नेतृत्वले प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार पाएको अधिकारलाई दयाका रूपमा हेर्ने गरेको छ । सिंहदरबारको राजनीतिक नेतृत्वले बुझ्नुपर्छ कि कसैको दयाबाट प्रदेशले त्यो अधिकार पाएको नभई ऐतिहासिक राजनीतिक परिवर्तनको उपलब्धि हो । 

 

प्रदेश सरकारले अधिकार नपाएको समस्या त छँदैछ, साथै प्रदेश सभा नीति, योजना बनाउन मात्र होइन, बनाइएका नीति र योजनाको प्रभावकारी समन्वयमा पनि चुकेका छन् । उदाहरणका लागि प्रदेश सभाले सङ्घीय संसद्को भद्दा नक्कल गरेका छन् । सांसद विकास कोषको रकम वितरणमुखी कार्यक्रममा खर्च गर्ने प्रतिस्पर्धा प्रदेश सभा सदस्यमा पनि देखिएको छ । 

नमिठो विगत

आफ्नो नामकरणसमेत गर्न नसकेको प्रदेश १ मा पाँच वर्षमा तीन जना मुख्यमन्त्री फेरिए । फागुन ०७४ मा मुख्यमन्त्री भएका एमालेका शेरधन राईलाई एमालेकै भीम आचार्यले भदौ २०७८ मा विस्थापित गर्नुभयो । आचार्यलाई एकीकृत समाजवादीका राजेन्द्र राईले तीन महिना नबित्दै कात्तिक २०७८ मा विस्थापित गर्नुभयो । यसबीचमा प्रदेश १ मा ३५ जना मन्त्री भए । मधेश प्रदेशमा जनता समाजवादी पार्टीका लालबाबु राउतले पाँच वर्षे कार्यकाल पूरा गरे पनि सत्ता टिकाउनकै लागि पटक पटक मन्त्रिपरिषद् हेरफेर गर्नुभयो । जसले गर्दा मधेश प्रदेशमा पाँच वर्षमा ५२ जना सांसद मन्त्री भए । 

 

बागमती प्रदेशमा पाँच वर्षमा तीन जना मुख्यमन्त्री र ३९ जना मन्त्री भए । माघ ०७४ मा मुख्यमन्त्री भएका एमालेले डोरमणि पौडेलले साढे तीन वर्षमा चार पटक मन्त्रिपरिषद् हेरफेर गर्नुभयो । भदौ २०७८ मा उहाँलाई आफ्नै पार्टीकी अष्टलक्ष्मी शाक्यले विस्थापित त गर्नुभयो तर पार्टी विभाजनका कारण उहाँ साढे दुई महिना मात्रै मुख्यमन्त्री हुनुभयो । शाक्यलाई एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले कात्तिक २०७८ विस्थापित गर्नुभयो । 

 

गण्डकी प्रदेशमा फागुन २०७४ मा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार पनि नेकपा विभाजित भएपछि टिक्न सक्नुभएन । संसद्मा अल्पमतमा परेपछि वैशाख ०७८ मा गुरुङले राजीनामा दिएपछि कांग्रेसका कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । पाँच वर्षमा गण्डकी प्रदेशमा २३ जना मन्त्री बने । 

 

फागुन २०७४ मा मुख्यमन्त्री बनेका शङ्कर पोखरेलले लुम्बिनी प्रदेशमा सरकार टिकाउनकै लागि चार पटक मन्त्रिपरिषद् हेरफेर गर्नुभयो । नेकपा विभाजनपछि दुई पटकसम्म अविश्वासको प्रस्ताव आयो । अल्पमतमा परेपछि पोखरेल सत्ताच्युत हुनुभयो । साउन २०७८ मा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री हुनुभयो । पाँच वर्षको अवधिमा लुम्बिनी प्रदेशमा ३४ जना मन्त्री भए । 

 

कर्णाली प्रदेशमा फागुन २०७४ मा महेन्द्रबहादुर शाहीको नेतृत्वमा बनेको सरकारमा संसद्मा रहेका माओवादीका ११ जना सांसद मन्त्री भए । नेकपा विभाजनपछि कांग्रेससँगको सहमतिअनुसार कात्तिक २०७८ मा जीवनबहादुर शाही मुख्यमन्त्री हुनुभयो । नेकपा विभाजनपछि कांग्रेससँगको सहमतिका आधारमा उहाँको सरकार निरन्तर भयो । गठबन्धनमा भएको सहमितअनुसार नै २०७८ कात्तिकमा शाहीले सरकार छाडेर कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुनुभयो । यस बीचमा कर्णाली प्रदेशमा २२ जना मन्त्री भए । पाँच वर्षे कार्यकाल पूरा गरेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पद जोगाउनका लागि छ पटक मन्त्रिपरिषद् हेरफेर गर्नुभयो । सुदूरपश्चिम प्रदेशमा २५ जना सांसदले मन्त्री बन्ने सौभाग्य पाए । 

 

संविधानमा सरकारको तीन तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने भनिएको छ । त्यो भनेको एक तहले अर्को तहको अस्तित्व स्वीकार्नुपर्छ । केन्द्रीकृत राजनीतिक सोचका कारण प्रदेशको अस्तित्व स्वीकार्न उनीहरू तयार छैनन् । राजनीतिक नेतृत्वमा यस किसिमको केन्द्रीकृत सोच भए पनि राष्ट्रिय सभाका ५९ मध्ये ५६ जना प्रदेश सभाबाटै चुनिन्छन् भन्ने वास्तविकता कसैले बिर्सनु हँुदैन । राष्ट्रिय सभाका सदस्य चयनमा त भूमिका छ नै साथै, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पनि प्रदेश सदस्यको अहम् भूमिका हुन्छ । प्रदेश सभाको महìव कति छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ ।

 

राजनीतिक स्थायित्व, विकास र समृद्धिको नारालाई चुनावमा जोडतोडका साथ उठाएका दलहरू प्रदेश सभाबाट प्रदेश सरकार गठनको तयारीमा छन् । निर्वाचन परिणामले भन्छ,  सातवटै प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन । त्यसकारण सरकार गठन गर्न सबै प्रदेशमा दुई वा दुईभन्दा बढी दलको समर्थन चाहिन्छ । सङ्घीय सरकारको छाया प्रदेशमा पनि प्रतिविम्बित हुने भएकाले भोलिका दिनमा प्रदेश सरकार थप अस्थिर हुने आशङ्का छ ।   

गाेरखापत्र

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्