अर्गली मगरको परम्परागत ‘भुस पोल्ने पर्व’ सुरु

बाग्लुङ | कात्तिक २३, २०७९

अर्गली मगरको परम्परागत ‘भुस पोल्ने पर्व’ सुरु तस्बिर फाइल

बागलुङ : अर्गली मगरको पुस्तैनी ‘भुस पोल्ने पर्व’ बुधबारदेखि सुरु भएको छ । ताराखोला गाउँपालिका-२ मा बर्सेनि यो पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको सम्झनामा सो पर्व मनाउने प्रचलन छ । 

 

पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेको मानिन्छ । अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ । मञ्च परम्परागत भुस पोल्ने पर्वको संरक्षण र प्रवद्र्धनमा क्रियाशील छ । मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले हरेक वर्ष कात्तिक २४ देखि २६ गतेसम्म मुख्यरूपमा पर्व मनाउने चलन रहेको बताउनुभयो । मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो ।   

 

मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भुस पोल्ने पर्वलाई प्रकृति पूजाका रुपमा लिनुभयो । उहाँका अनुसार कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ ।

 

शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु ९मुल० घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ । 

 

पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी ९दुःख० उम्काउने चलन छ । २४ गते अघि जहिले मृत्यु भएको भएपनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।

 

मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घर्तीमगरले बताउनुभयो । 

 

पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्ने चलन छ ।  प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिक स्वरुप मुल घर र बारीलाईसमेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । 

 

युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् ।

 

छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मीएका घरमा पुत्र बढाइँ सुरु हुन्छ । पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । पर्वका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको मञ्चले जनाएको छ । महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषवाण, रस्साकस्सीलगायत प्रतियोगितात्मक खेल पनि आयोजना गरिएको छ । सांस्कृतिक नाच र झाँकी पनि प्रदर्शन गरिनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।   प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना ग...

थप पढ्नुहोस्

विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गु...

थप पढ्नुहोस्

काठमाडौँ, चैत २८ गते । विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइत...

थप पढ्नुहोस्