कौसीखेतीले बढाउँछ खुसी

काठमाडाैं | बैशाख २४, २०७९

कौसीखेतीले बढाउँछ खुसी

विष्णु थकाली

कामले काम सिकाउँछ भनेझैँ घरको तला थपेपछि करेसाबारीमा घाम लागेन । घाम नलागेपछि करेसाबारीमा लगाएको तरकारी फल्न सकेन । छतमा पहिलेदेखि नै केही गमलामा धनियाँ, प्याज, छ्यापी रोप्थेँ । पछि फूलको सट्टा तरकारी रोप्न सुरु गरेँ । राम्रो भएपछि बढाउँदै लगेँ । ५० प्रतिशतभन्दा बढी स्वच्छ तरकारी आफ्नै कौसीखेतीबाट प्राप्त भयो । यो अनुभव पाठकलाई पनि बाँड्न चाहन्छु । केवल मन र समय दिए, उन्नत जातका बीउ र मल जोहो गर्न सके कौसी वा छतमा पनि तरकारी फलाउन सकिन्छ । समय पनि रमाइलोसँग बित्छ । 

 

प्रायःजसो घरमा चार/पाँच जनासम्मको परिवार हुन्छ । ५० देखि ६० वटा गमलामा १० किसिमका तरकारी लगाउने हो भने पाँच जनाको परिवारका लागि ५० प्रतिशत ताजा तरकारी प्राप्त गर्न सकिन्छ । अझ ध्यान दिएर घुम्तीबाली लगाउने हो भने पूरै माग पनि आपूर्ति हुन सक्छ । वसन्त ऋतुको समयमा वर्षे तरकारीको बीउबिजन राखिन्छ । तसर्थ कौसीखेतीका लागि गर्नुपर्ने केही चरणबारे उल्लेख गर्छु ।

 

ठाउँको छनोट– तरकारी लगाउनुअघि ठाउँको छनोट गर्न आवश्यक छ । हामी छत, कौसी, आँगन कहाँ तरकारी खेती गर्दै छौँ, त्यसअनुसार तरकारी लगाउने भाँडा र तरकारीको छनोट गर्नुपर्छ । छतमा गर्नु हुन्छ भने पानीट्याङ्कीको विपरीत दिशा रोजेर घाम लाग्ने र हावा चल्ने ठाउँ हुनु आवश्यक छ । गमला वा भाँडा राख्दा घरको पर्खालमा पर्ने गरी राख्नु पर्छ, जसले घरको सन्तुलन बनाई राख्छ ।

 

भाँडाको छनोट– बिरुवा र ठाउँअनुसार भाँडाको छनोट गर्नुपर्छ । बोटबिरुवाको जराको गहिराइअनुसार भाँडा ठूलो वा सानो छनोट गर्नुपर्छ । छत वा कौसीमा खेती गर्दा हल्का खालको भाँडा तयार गर्नुपर्छ । छत वा कौसीमा अनावश्यक भार पार्नु हुँदैन । माटोको शुद्धीकरण– सर्वप्रथम माटोमा भएका अनावश्यक झारपात र रोगलाई नष्ट पार्नका लागि माटोको शुद्धीकरण गर्दा राम्रो हुन्छ । यसका लागि माटोमा भएका डल्ला राम्रोसँग फोरेर अलिअलि पानी छर्केर पारदर्शी प्लास्टिकले हावा नछिर्ने गरी छोपेर कम्तीमा २४ घण्टा पारिलो घाममा पातलो गरी सुकाउनु पर्छ । 

 

बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन । 

 

माटोको तयारी– नेपाल भूकम्पको उच्च जोखिम क्षेत्रभित्र पर्छ । तसर्थ कौसी वा छतलाई अनावश्यक भार दिनु हुँदैन । हलुका बनाउनका लागि माटोमा राम्रोसँग सुकेका पातपतिङ्गर, भुस वा कोकोपिट आदि मिसाउनु पर्छ । यसरी मिश्रण गर्दा दुई भाग माटो, एक भाग मल, एक भाग कोकोपिट राखी राम्रोसँग मिश्रण गरी खेती गर्न राम्रो हुन्छ । 

 

माटो भर्ने तरिका– गमला वा प्लास्टिकको भाँडामा माटो भर्नुअघि बढी भएको पानी निकास दिनका लागि माटोमा एक वा दुईवटा प्वाल बनाउन जरुरी छ । माटो बगेर जान नपाओस् भनी प्वाल बनाइसकेपछि प्वालको वरिपरि ढुङ्गा राख्नुपर्छ । तीन इन्च वा गमलाको उचाइ हेरी आधाजति सादा माटो राख्ने । त्यसपछि मल, कोकोपिट मिश्रण गरेको माटो नभरिने गरी राख्ने वा दुई इन्चजति खाली हुने गरी माटो भर्नुपर्छ ।बालीको छनोट– कौसीखेती गर्दा हामीले तरकारी बालीको छनोटमा विशेष ध्यान पु¥याउनु पर्छ । बाली छनोट गर्दा लामो समयसम्म टिपेर खान मिल्ने, छिटो फल्ने बाली रोप्नुपर्छ । जस्तै– साग, गोलभेँडा, भन्टा, बोडी, रामतोरिया, सिमी, प्याज, धनियाँ आदि । 

 

बिरुवा रोप्ने तरिका– हामीले बिरुवा रोप्दा त्यति ध्यान दिँदैनौँ । दुई÷तीन दिनमै मरेर जान सक्छ । माटो भरिसकेपछि बिरुवा रोप्दा पूरा जरा गाड्नु हुँदैन । बिरुवा पहिले माटोमा गाडिएको जति नै गाडेर रोप्नुपर्छ । त्योभन्दा बढी गाडेमा माथिको डाँठ कलिलो हुने हुँदा कुहेर मर्ने डर हुन्छ । पानी दिने तरिका– बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन । 

 

फल टिप्ने तरिका– ठूलो फल्छ भनी धेरै समय राख्ने र जथाभावी निमोठ्दा बाली बिग्रने सम्भावना बढी हुन्छ । त्यसैले फल फल्न सुरु गरेपछि दुई वा तीन दिनको फरकमा वा आवश्यकता हेरी कैँचीको माध्यमबाट टिप्दा राम्रो हुन्छ ।

 

यसरी सानो प्रयास, समय र विधि मिलाएर तरकारी बाली लागाउन सके कौसीखेतीले आवश्यक तरकारी उत्पादन गरी स्वस्थ जीवनयापन गर्न सहयोग पुग्छ । हरियाली बढेर सहरी वातावरणमा समेत सुधार हुन्छ । हरियो खुर्सानी, हरियो प्याजसमेत हाम्रो देशमा आयात हुने गरेको छ । सबै तरकारीको आयात घटाउन नसके पनि कम्तीमा खुर्सानी र प्याजमा आत्मनिर्भर हुन कौसीखेती गर्न सकिन्छ । यसका लागि सबै मिली खुर्सानी र प्याज मात्र रोप्न सुरु गरौँ ।

 

आत्मनिर्भर बनौँ । स्वच्छ तरकारी खाऔँ । स्वस्थ रहौँ ।  कोरोना सङ्क्रमण नियन्त्रण गर्न बन्दाबन्दी भयो । यो बेला समय बिताउने माध्यमका रूपमा पनि कौसीखेती गर्ने चलन बढ्यो । यो ज्यादै सराहनीय पक्ष हो तर कौसीखेतीलाई व्यवस्थित गर्न सम्बन्धित निकायले प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ तथा कौसीखेती गर्ने होडमा दुर्घटना हुनबाट बचाउन पनि ध्यान दिनुपर्छ । 

गाेरखापत्रबाट साभार

पर्वत:   सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपाल...

थप पढ्नुहोस्

ताप्लेजुङः  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।      आयोज...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रशस्त मात्रामा ल...

थप पढ्नुहोस्